Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

घाँटु नाच जीवन्त राख्दै गुरूङ समुदाय

घाँटु नाच जीवन्त राख्दै गुरूङ समुदाय
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्ला, उत्तरगया-३ ठूलोगाउँ र नुवाकोटको किस्पाङको अर्चले क्षेत्रमा मनाइने सतिघाटु नाँच आजसम्म पनि गुरूङ समुदायले जीवन्त राखेका छन् । गुरूङ समुदायको बाहुल्यता रहेको ठूलोगाउँका गुरूङ वस्तीमा अहिले घाटु संरक्षणमा स्थानीय बुढापाका, युवायुवती लागिपरेका छन् । परम्परागत सतिघाटु गुरूङको संस्कृति हो र संस्कृतिको रूपमा रहेको ल्होसार, सोरठी र सतिघाटु नाँच मुख्य आकर्षण रहेको स्थानीय धर्म गुरूङले बताउनुभयो ।

किंवदन्ती
घाटुको ऐतिहासिक किम्वदन्ती भने फरकफरक पाउने गरिएको छ । स्थानीय गुरूङकानुसार १६औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र यम्फावती रानीको कथावस्तु रहेको हुन्छ ।

परम्परा
घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाँच्ने कन्याको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरू गरिन्छ । घाटु नाचको सुरूवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ । घाटु नृत्यमा वाद्य र साज श्रृँगार भन्दा पनि कारूणिक कथाको व्याख्या गरिएको हुन्छ । कारूणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार, दर्शक समेत धुरूधुरू रोएको पाइन्छ । सति घाटुमा गुरूवाले गितबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, श्रृँगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन् ।

प्रकार
सती घाटु : प्रचलित सति घाटु बेमौसम नाँचीदैन । सतिघाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरूवात बसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीदेखि विधिवत घाटुको थालनी हुन्छ । सतिघाटु नाँच मातातिर्थ औशीदेखि वैंशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अघिल्लो दिनदेखि मध्य जेठसम्म नाच्ने गरिन्छ । सतिघाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाँच शास्त्रीय नाँच हो । सतिघाटुमा नाँच्ने कन्यामा देवी चढ्ने भएकाले उनीहरू नाँच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्या बेहोस भइरहने विश्वास गरिन्छ । घाटु नाचिसकेपछि गुरूङ समुदायमा झोरा नाँच र चुड्का नाँच नाच्ने चलन छ अझै चुड्का नाँच विशेष गरेर घाटुनाँच सकिएको केही दिनपछि घाटु खोई/चुड्का खोई कार्यक्रम गरेर तनहुँ कास्की लमजुङ गोर्खा चितवन र नवलपुर नवलपरासी तिर गुरूङ गाउँमा मज्जाले चुड्का गाउने नाँच्ने गरिन्छ ।

बाह्रमासे घाटु : बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी गुरूङ समुदायको गाउँ बस्ती जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह