Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टको विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

शिवम् सिमेन्टको विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
त्रिशूली प्रवाह
४ घण्टा अगाडी

काठमाडौँ । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका-१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

‘नेपाल बन्दको दिनचर्या’मा प्रकाशित पत्रकार सुरेश तिमल्सिनाद्वारा लेखिएको समाचारका आधारमा, शारीरिक रूपमा अशक्त भई दुवै हात नचल्ने सन्देश बुढा मगरलाई शिवम् सिमेन्टले सहयोग गर्ने भएको हो । जन्मजात नै दुवै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन् । उहाँले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा पाँच उत्तीर्ण गरेका छन् । तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उहाँको थप अध्ययनमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । यसै सन्दर्भमा, शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौँको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ । साथै, उहाँको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ । उक्त व्यवस्थाअन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिने छ । सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोगस्वरूप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ ।

कम्पनीले भनेको छ, ‘समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्यअनुरूप, विशेष क्षमता र आवश्यकता भएका बालबालिकालाई उनीहरूको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौँ । शिक्षा नै सशक्त भविष्यको आधार हो । त्यसैले यस्ता बालबालिकाले पनि प्रोत्साहनसहित गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’ सन्देश बुढा मगरको सङ्घर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उहाँको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । शिवम्ले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह