Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षासम्बन्धी मौलिक हक कागजमा सीमित

शिक्षासम्बन्धी मौलिक हक कागजमा सीमित
बाबुकाजी कार्की
५ घण्टा अगाडी

सङ्घीय सरकारले यस वर्षको शैक्षिक सत्र तीन हप्ता पर धकेलेको छ । यस वर्ष विद्यालयमा विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि खोलेर २१ गतेबाट पठनपाठन सुरू गरेको छ । तथापि कतिपय स्थानीयनसरकारले सोभन्दा अगाडी नै विद्यालय खोल्ने निर्णय गरेर भर्ना अभियान र पठनपाठन अगाडि बढाइसकेका छन् ।

नेपालको संविधान २०७२ ले विद्यालय तहको शिक्षाको व्यवस्थापन र नियमन गर्ने सम्पूर्णरूपमा स्थानीय तहलाई सुम्पिएको छ । सङ्घीय संविधानअनुसार शिक्षासम्बन्धी मौलिक हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा सहज पहुँचको सुनिश्चितता गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिकतह सम्मको शिक्षा निःशुल्कका साथै अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने हकको व्यवस्था गरेको छ । त्यस्तै दृष्टिबिहीन तथा बहिरा र स्वर वा बोलाईसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने मात्र नभएर मातृभाषामा शिक्षा आर्जन गर्ने व्यवस्थासमेत संविधानमा उल्लेख छ । विद्यालय शिक्षा निःशुल्क भनिए पनि सामुदायिक विद्यालयमा समेत विभिन्न बहानामा शुल्क लिने प्रपञ्च रचिएको हुन्छ ।

नयाँ शैक्षिक सत्र सुरू हुने भएसँगै बालबालिका विद्यालय भर्ना गर्न अभिभावकलाई चिन्ता र चिन्तनको विषय बन्नु स्वभाविकै हो । अभिभाकले बालबालिका पढाउनका लागि विद्यालय छनोट गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । विद्यालय छनोट गर्दा बालबालिकाको साथी कहाँ पढ्छन् ? आफ्नो भाषा, संस्कार संस्कृति मिल्दो साथीको वातावरण छ कि छैन ? विद्यालयमा अनुशासनको नाममा गरिने व्यवहार कस्तो छ ? बालबालिकालाई आवश्यकतानुसार परामर्श दिने व्यवस्था छकि छैन ? विद्यालयप्रति पुराना अभिभावक र विद्यार्थीको धारणा र सल्लाहले पनि उपयुक्त विद्यालय चयनमा अहम भूमिका खेल्छ । विद्यालयमा औपचारिकरूपमा नियमित गरिने पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित शिक्षण सिकाईको अतिरिक्त अनौपचारिक र अदृश्य रूपमा शिक्षक विद्यार्थीलगायतका सरोकार पक्षले देखाउने बानीव्यहोरा संस्कारबाट पनि बालबालिकाले अप्रत्यक्षरूपमा आफ्नो जीवनशैलीमा उतार्ने भएकोले त्यसतर्फ पनि भर्ना गर्दा अभिभावकले हेक्का राख्न बिर्सनुहुँदैन ।

विद्यालयको पहुँच बाहिर रहेका बालबालिका कहाँ छन् ? उनीहरू किन विद्यालय भित्रिन सकेनन् ? शिक्षा प्रति उनीहरूका अभिभावकको धारणा के छ ? यसरी बालबालिका विद्यालय पहुँच बाहिर रहनुमा राज्यको नीति कति हदसम्म जिम्मेवार छ ? विद्यार्थी भर्ना अभियानलाई सहज बनाउन अब कसरी जानुपर्ला ? भन्ने बारेमा रौंचिरा विश्लेषण गरेर समस्याको जरो खुट्याउन र समाधानको उपया पहिल्याउन विशेष विज्ञता देखाउनु बुद्धिमानी ठहर्छ । विद्यार्थी भर्नालाई प्रभावकारी बनाउने हेतु सञ्चालित विविध अध्ययन अनुसन्धानले समेत विद्यालय नगएका बालबालिकाको बाहुल्यता विपन्न, सीमान्तकृत तथा विभिन्न कारणले पिछडीएका विशेष जातजातिमा भएको तथ्याङ्कले देखाउँछ । विद्यालयमा बालबालिका ल्याउनु, विद्यालयभित्र आएका बालबालिकालाई टिकाई राख्नु, रोचक बालमैत्री शिक्षण सिकाईको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्नु सार्वजनिक विद्यालय शिक्षामा देखिएका र भोगिएका सदाबहार चुनौती हुन् । चरम राजनीतिक हस्तक्षेप, गैरजवाफदेही व्यवस्थापन, सरकार र समुदायको उदासिनताका कारण सामुदायिक विद्यालय बेरोजगार उत्पादन गर्ने कारखनाको रूपमा परिचित हुँदै गएको जगजाहेर छ । सामुदायिक विद्यालय हुँदा खाने र संस्थागत विद्यालय हुनेखानेको लागि सञ्चालन भएको आक्षेप सत्यताको नजिक देखिन्छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने राम्रो विद्यालयमा आफ्नो छोराछोरी पढाउने रहर अभिभावकमा हुनु स्वाभाविकै हो । खासगरी संस्थागत विद्यालयले अनेक सुविधाको विज्ञापन गरेर अभिभावक र बालबालिकालाई आकर्षण गर्ने गरेको पाइन्छ । पछिल्ला समयमा कतिपय सामुदायिक विद्यालयले शिक्षण सिकाईको गुणस्तरमा उल्लेख्य सुधार गरी संस्थागत विद्यालय भन्दा अब्बल साबित हँुदै आएका छन् । तर विद्यार्थी सङ्ंख्या कम भएको कारणबाट सामुदायिक विद्यालय बन्द हुनेमात्र नभएर शिक्षक दरबन्दी कटौती, प्रधानाध्यापलाई कारबाही आदिको डरले गर्दा भर्ना वृद्धिका लागि घरदैलोलगायतका कार्यक्रम आयोजना गरेको पाइन्छ । संस्थागत विद्यालयको विज्ञापनीय प्रतिस्पर्धाले गर्दा राम्रो विद्यालय छनोट गर्न अभिभावकलाई चुनौती बनेको छ । कुन विद्यालयमा आफ्ना छोराछोरी पढाउने भन्नेबारे अभिभावकले धैर्यता र बुद्धिमत्तापूर्वक निर्णयमा पुग्न केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

मानवीय र भौतिक स्रोतसाधानको उचित व्यवस्थापन भएका विद्यालय नै गुणस्तरीय शिक्षाका लागि प्रभावकारी मानिन्छन् । भवन कक्षाकोठा, फर्निचरको पर्याप्तता, शैक्षिक सामग्रीको उपलब्धता र शिक्षण सिकाईमा प्रयोग, सुरक्षित र स्वस्थकर विद्यालय परिसर र खेल मैदान, स्वस्थकर खानेपानी र छात्र, छात्राको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था, पर्याप्त खेलकुदका सामग्री र प्रयोगको, अतिरिक्त क्रियाकलापको आयोजना र प्रतिस्पर्धामा उपलब्धीको अवस्था, विषयगत प्रयोगशाला र पुस्तकालयको अवस्था आदि भौतिक सुविधाअन्तर्गत पर्दछन् । मानवीय पक्षमा विषयगत शिक्षक दरबन्दी, प्रधानाध्यापकको योग्यता र क्षमता, व्यवस्थापन समितिको सफलता र सहभागिता, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, प्रधानाध्यापकबीचको सहकार्य र समन्वयले विद्यार्थीको उपलब्धीस्तर उन्नत बनाउने कुरामा दुई मत हुन सक्दैन् । विद्यालयको विगतका सवल र दुर्वल पक्षको सुक्ष्म अध्ययन विश्लेषणको निष्कर्षले पनि सही विद्यालय छनोट गर्न टेवा पुग्छ । त्यस्तै, अध्यापन गरिने विषय र विधि, बालबालिका रमाउने रोचक बालमैत्री वातावरण सफल विद्यालयको पूर्व शर्त हो । विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चतताको लागि कुशल शैक्षिक नेतृत्व, पेशाप्रति समर्पित जाँगरिलो शिक्षक, अनुशासित विद्यार्थी, भविष्यदर्शी निस्वार्थ व्यवस्थापन समिति, सचेत र सहयोगी अभिमावक, जागरूक समुदाय, समसामयिक पाठ्यक्रम र शिक्षा नीत तथा निरन्तर अनुगमन, निरीक्षण र नियमन गर्ने सरकारी निकाय गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि आधारभूत शर्त हुन् ।

विपन्न वर्गको लागि शिक्षासम्बन्धी मौलिक हक कागजमा नै सीमित रहेको गुनासो सत्यताको नजिक छ । शिक्षासम्बन्धी मौलिक हक नयाँ कानुन बनाएपछि मात्र पूर्णरूपमा कार्यान्वयन हुने देखिन्छ । तर अहिलेसम्म पनि संविधानअनुकूल नयाँ कानुन तत्काल बन्ने बनाउने छाँट देखिंदैन् । निर्देशन र परिपत्रको आधारमा टाँलटुले नीतिबाट शिक्षा क्षेत्र चलेको कारण अन्यौलता, द्विविदा, गैर जवाफदेहिता र गैर जिम्मेवारिता सर्वत्र झाँगिएको अवस्था छ । जसको कारण सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता चुनौतीपूर्ण भएको जगजाहेर छ ।
विगत वर्षका जस्तो केन्द्रिकृत भर्ना अभियानले भन्दा पनि निर्वाचित स्थानीय सरकारबाट जवाफदेहीपूर्वक सञ्चालन गरिने कार्यक्रम प्रभावकारी हुन्छन् । स्थानीय तह शिक्षासम्बन्धी सूचना र साधनस्रोतबाट सक्षम भई नसकेको यस वर्षको भर्ना अभियान जिल्ला शिक्षा समन्वय एकाईको सहकार्यमा सञ्चालन हुनु व्यवहारिक हुन्छ । गत वर्ष बारा, पर्सा, रौतहट सर्लाही र महोत्तरीमा घरधुरी सर्वेक्षणबाट सङ्कलन गरिएको तथ्याङ्कलाई आधार मानेर आ–आफ्नो सेवा क्षेत्र भित्रका बालबालिकालाई अनिवार्य भर्ना गर्न विद्यालयलाई बाध्य बनाउने वातावरणले पनि भर्ना अभियानलाई सार्थक बनाउन टेवा पुग्ने छ । भर्ना अभियानका लागि सबै जिल्लामा समानुपातिक बजेट वितरण गर्नुको सट्टा विद्यालय बाहिर रहेका बालबालिकाको बाहुल्यता भएका जिल्ला, नगरपालिका, गाउँपालिकामा केन्द्रित लगानी गर्नु व्यवहारिक हुन्छ । विपन्न, सीमान्तकृत, पिछडिएका समुदाय तथा रोजीरोटीका लागि अवसर खोज्दै विभिन्न ठाउँमा घुम्दै हिंड्ने परिवारको पहिचान गरी आवश्यकता र औचित्यको आधारमा तिनीहरूका लागि होस्टेलमा नै बसेर कम्तीमा आधारभूत शिक्षा हासिल गर्ने व्यवस्था गर्नु दिगो समाधानको बाटो हुन सक्छ । साथै, आधारभूत शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक मौलिक हकको सुनिश्चितता राज्यले गरेको ठहर्छ । अन्यथा भर्ना अभियान हिंड्दैछ पाइला मेट्दै छ भने जस्तै निरन्तर वर्षौं नचल्ला भन्न सकिन्न । भर्ना अभियान काम हो बखान होइन । (लेखक नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

बाबुकाजी कार्की