Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो ‘लाङटाङ ट्रेल रन’ जेठ २३ मा

तेस्रो ‘लाङटाङ ट्रेल रन’ जेठ २३ मा
ज्ञानेन्द्र न्यौपाने र गगनराज न्यौपाने
२ घण्टा अगाडी

धुन्चे । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रसुवा जिल्लाको लाङटाङ क्याङजेनदेखि स्याफ्रुबेँसीसम्म ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिताको दोस्रो संस्करण जेठ २३ गते हुने भएको छ । ‘लाङटाङ ट्रेल रन’ रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा हुन लागेको हो ।
लाङटाङमा केही वर्षअगाडि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लाङटाङ म्याराथन गरेको थियो । समाजको आयोजनामा पहिलो ‘लाङटाङ ट्रेल रन’ गत वर्ष जेठ २४ गते भएको थियो । गत वर्ष बागमती प्रदेशका पर्यटनमन्त्री विमल ठकुरी र पर्यटनसचिव दीपेन्द्र सुवेदीले ‘लाङटाङ ट्रेल रन’को शुभारम्भ गर्नुभएको थियो । यसपटकको ‘लाङटाङ ट्रेल रन’को उद्घाटन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने जानकारी रसुवाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ ।

हिमाली भू–भाग केवल पदयात्राका लागि मात्र नभई साहसिक खेलकुद पर्यटनको नयाँ गन्तव्यका रूपमा समेत स्थापित गराउने उद्देश्यका साथ आवश्यक तयारी गरिएको छ । सहासिक खेलकुद पर्यटन सम्भावनालाई व्यवहारमा उतार्दै अन्तर्राष्ट्रियस्तरसम्म जागरण ल्याउने उद्देश्यसहित विगत वर्षदेखि गरिँदै आएको ‘लाङटाङ ट्रेल रन’ यस वर्ष पनि जेठ २३ गते आयोजना हुने रसुवा–नुवाकोट पर्यटन समाजले जानकारी दिएको छ । हिमाल, हिमनदी, हरियाली जङ्गल, उकाली–ओराली र तामाङ संस्कृतिको जीवन्त संगम रहेको लाङटाङ क्षेत्रमा हुने प्रतियोगिताले खेलकुद र पर्यटनलाई एकसाथ जोड्ने अपेक्षा गरिएको छ । समाजको आयोजनामा यस वर्ष सञ्चालन हुने प्रतियोगिताको मिति सार्वजनिक गरिएको छ । प्रतियोगितालाई बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश खेलकुद विकास परिषद् तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग रहनेछ भने गोसार्इँकुण्ड गाउँपालिका रसुवाले स्थानीयस्तरमा स्थानीयस्तरमा सहयोग गर्ने बताइएको छ । प्रतियोगितालाई सफल पार्न बागमती प्रदेश खेलकुद तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, रसुवा जिल्ला खेलकुद विकास समिति, कालिका, नौकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका तथा जिल्लामा सञ्चालित र निर्माणाधीन जलविद्युत् आयोजना, नेपाली सेना श्रीनाथ गण, जिल्ला प्रशासन, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला समन्वय समिति, जिल्ला अस्पताललगायत स्थानीय सङ्घसंस्थाको सहयोग रहने आयोजकले जानकारी दिएको छ । उक्त मार्गमा पर्ने गोसाईँकुण्ड-३, ४, ५ का वडाध्यक्ष, गाउँपालिका उपाध्यक्षसमेतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

रसुवाको साथै नुवाकोटको सूर्यगढी, शिवपुरी, म्यागङ, लिखु, तादी, दुप्चेश्वर, किस्पाङ, तार्केश्वर, ककनी, पञ्चकन्या गाउँपालिका, विदुर र बेलकोटगढी नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार प्रतियोगिताको सम्पूर्ण स्थलगत तयारी अन्तिम चरणमा पुगेको छ । लाङटाङको क्याङजेनबाट सुरु हुने दौड घोडातबेला, लामाहोटल, रिम्चे, बम्बु र दोमेन हुँदै स्याफ्रुबेँसीसम्म पुग्नेछ । करिब ३२ किलोमिटर दूरीको यो मार्ग समुद्र सतहबाट तीन हजार आठ सय ७० मिटरको उचाइबाट ओरालो हुँदै लाङटाङ खोलाको तटीय क्षेत्रसम्म फैलिएको छ । हिमाली क्षेत्रको विकट भूगोलमा आयोजना गरिने ट्रेल रन नेपालमा पछिल्ला वर्षमा लोकप्रिय बन्दै गएको खेल हो । विश्वका विभिन्न हिमाली मुलुकमा साहसिक खेलकुद पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्र चलायमान बनाइएझैँ नेपालले पनि हिमाली खेल पर्यटनलाई नयाँ सम्भावनाका रूपमा अघि बढाइरहेको छ । लाङटाङ क्षेत्र आफैँमा नेपालको प्रमुख पदयात्रा गन्तव्य भएकाले यहाँ ट्रेल रन आयोजना हुनु स्थानीयका लागि गौरवको विषय मानिएको छ । दौडमा सहभागी बन्न चाहने इच्छुक व्यक्तिले जेठ ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । खेलमा भाग लिनका लागि गोसाईँकुण्ड गाउँपालिकावासीले निःशुल्क र अन्य पालिकावासीलाई प्रतिव्यक्ति रु. एक हजार, रसुवाबाहिरका नेपाली खेलाडीका लागि रु. पाँच हजार, सार्क राष्ट्रका नागरिकका लागि रु. सात हजार पाँच सय र अरू सबै विदेशी खेलाडीका लागि एक सय अमेरिकी डलर प्रवेश शुल्क तोकिएको छ । जिल्ला तथा विदेशी नागरिकको हकमा तोकिएबमोजिम हुने बताइएको छ ।

नेपालमा ट्रेल रनको सुरुवात केही दशकअघि सीमितस्तरबाट भए पनि अहिले अन्तर्राष्ट्रिय खेलाडी आकर्षित गर्ने तहसम्म विस्तार भइसकेको छ । अन्नपूर्ण, एभरेस्ट, मनास्लु र हेलम्बु क्षेत्रमा हुँदै आएका साहसिक दौड प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेका वेला लाङटाङ ट्रेल रनले पनि हिमाली पर्यटनलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब एक सय खेलाडी सहभागी गराइने समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले जानकारी दिनुभयो । प्रतियोगितामा १८ देखि ४५ वर्षसम्मका नागरिक सहभागी हुन पाउने व्यवस्था गरिएको छ । महिला र पुरुष गरी दुई समूहमा प्रतिस्पर्धा गराइने र प्रत्येक समूहका प्रथमदेखि पाँचौँ स्थानसम्म आउने खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नाम दर्ता गरिसकेपछि स्वास्थ्य वा अन्य कारणले सहभागी हुन नसके बुझाएको शुल्क फिर्ता नहुने बताइएको छ । साथै, दौडमा खेलाडीले आफ्नो स्वास्थ्यको ख्याल राखी अगाडि बढ्नुपर्नेछ । आयोजक संस्थाका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा लाङटाङमै प्रतियोगिताको उद्घाटन गराउने तयारी गरिएको छ ।

लाङटाङ क्षेत्र वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । भूकम्पपछि विस्थापित स्थानीयको पुनस्र्थापना र पर्यटन पुनर्जीवनका लागि समाजले महत्त्वपूर्ण भूमिका खेलेको थियो । संस्थाले स्मरण गरेअनुसार अध्यक्ष बलराम न्यौपानेको अगुवाइमा पहिलो राहत टोली भूकम्पपछि लाङटाङ पुगेको थियो । अहिले त्यही क्षेत्रलाई पुनः अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गर्न खेलकुदलाई माध्यम बनाइएको छ । सो समाजका सचिव दिनेश तामाङका अनुसार पदयात्रा मात्र नभई खेलकुदमार्फत पनि लाङटाङलाई विश्वसामु चिनाउने लक्ष्य लिइएको छ । ‘लाङटाङ क्षेत्रमा देखिने हिमाल, हिमनदी, भञ्ज्याङ, चौतारी, स्थानीय वेशभूषा र जैविक विविधताको प्रचार–प्रसार गर्दै विदेशी पर्यटक भित्र्याउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो । हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र साहसिक खेलकुदलाई एउटै सूत्रमा बाँधेर आयोजना गर्न लागिएको ‘लाङटाङ ट्रेल रन’ अब केवल खेल प्रतियोगिता मात्र नभई हिमाली क्षेत्रको पहिचान, पुनर्जागरण र पर्यटन प्रवद्र्धनको अभियानका रूपमा स्थापित हुँदै गएको छ । दौड प्रतियोगिता सम्पन्न गर्ने कार्यमा सम्पूर्ण रसुवावासीले अपनत्व लिइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने र गगनराज न्यौपाने