Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

जनसरोकारका विषयमा प्रभावकारी आवाज उठाउँछु :

जनसरोकारका विषयमा प्रभावकारी आवाज उठाउँछु :
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

गंगादेवी श्रेष्ठ
प्रतिनिधिसभा सदस्य (समानुपातिक), धादिङ

यसपटकको संसद्मा धादिङबाट समानुपातिक कोटामा महिला सांसदको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्लाका सातजनाले यसपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । दुईवटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको धादिङबाट प्रत्यक्षतर्फ दुईजना र समानुपातिक निर्वाचनतर्फबाट पाँचजना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सातजनामध्ये पाँचजना महिला हुनुहुन्छ । धादिङकै एकजना काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको छ । उहाँ अहिले सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । उहाँसहित गणना गर्दा धादिङबाट यसपटक आठजना प्रतिनिधि संसद्मा पुग्नुभएको छ ।

जेन-जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन गरी बनेको सरकारले गरेको निर्वाचनबाट धादिङको इतिहासमा सर्वाधिक सांसद संसद्मा पुगेका हुन् । विगतको राष्ट्रिय पञ्चायत र प्रजातन्त्र एवम् गणतन्त्रकालमा भन्दा बढी सदस्य धादिङबाट यसपटक संसद्मा पुगेका छन् । प्रत्यक्षतर्फ धादिङ १ बाट आशिका तामाङ गजुरी–२, चेपाङटारीकी हुनुहुन्छ भने धादिङ–२ बाट बोधनारायण श्रेष्ठ ज्वालामुखी–२, पोखरीथोक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहनुभएका काठमाडौँ–९ बाट निर्वाचित डोलप्रसाद अर्याल धादिङ ज्वालामुखी–२, चिलाउने चौताराका हुनुहुन्छ । उहाँ अहिले सभामुख हुनुहुन्छ । यसैगरी, समानुपातिक सूचीबाट निर्वाचित रास्वपाका केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङ ज्वालामखी–४ ढोला, नेपाली काङ्ग्रेसकी उर्मिला थपलिया सिद्धलेक–१, नलाङकी हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेल बेनीघाट–रोराङ–३, रिचोकटारका हुनुहुन्छ भने गंगादेवी श्रेष्ठ नीलकण्ठ नगरपालिका– ७, तारुखर्ककी हुनुहुन्छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा रुबिभ्याली–४, बोराङकी हुुनुहुन्छ । यसपटक धादिङमा जन्मे–हुर्केका आठजना प्रतिनिधिसभा सदस्य पाउँदा १३ गाउँपालिका रहेको धादिङको ज्यालामुखीले मात्र तीनजना सांसद पाएको छ । महिलाको प्रतिनिधित्व न्यून रहेको यथार्थलाई उल्टाउँदै धादिङले नयाँ रेकर्ड कायम गरेको छ । धादिङबाट सङ्घीय संसद्मा पुरुष दुई र महिला पाँचजनाको प्रतिनिधित्व भएको छ । प्रतिनिधित्वको दृष्टिले यो उत्साहप्रद हो ।

लामो समयदेखि सामाजिक तथा महिला अधिकारका क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी गंगादेवी श्रेष्ठ अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट समानुपातिक कोटाबाट निर्वाचित श्रेष्ठ नीलकण्ठ नगरपालिका–७ धादिङ निवासी हुनुहुन्छ । विसं २०३३ साउन २९ गते जन्मनुभएकी श्रेष्ठले एसएलसीसम्मको अध्ययन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मेरो प्राथमिकता महिला अधिकार सुनिश्चित गराउने हो । पितृसत्ता समाजमा घरदेखि राज्यका निकायसम्म महिलाले पुरुषसरह अधिकार पाउन सकेका छैनन् । मैले पहिलेदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका कारण अब संसद्मा महिला अधिकार सुदृढीकरणका लागि विशेष पहल गर्नेछु ।’ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकता दिनुपर्ने अर्को विषय छ । उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य सेवा सर्वसुलभ बनाएर गरिबले पनि उपचार पाउने अवस्था सिर्जना गर्नुपर्छ ।’ आमनागरिकको कमाइको ठुलो हिस्सा स्वास्थ्य र शिक्षामा खर्च भइरहेको अहिलेको समयमा मानिस स्वस्थ नभएपछि परिवारको आर्थिक अवस्था कमजोर हुने उहाँको बुझाइ छ । यातायातका कारण हुने प्रदूषणले स्वास्थ्यमा असर पारेको विषयमा समेत ध्यान दिनुपर्ने उहाँको धारणा छ । सांसद श्रेष्ठले भन्नुभयो, ‘नेपालको शिक्षा प्रणालीमा व्यावहारिक र व्यावसायिक पक्ष कमजोर हुँदा गाउँघर खाली हुँदै जाने समस्या देखिएको छ । शिक्षामा नीतिगत सुधार आवश्यक छ । जसले युवालाई आफ्नै ठाउँमा अवसर सिर्जना गर्न सकोस् । आफ्नै गाउँघरमा रोजगारी पाउने अवस्था बनाउनु अहिलेको आवश्यकता हो ।’ राजनीतिक यात्राको सुरुवात विद्यार्थी सङ्गठनबाट गर्नुभएकी श्रेष्ठले विसं २०४५ मा अनेरास्ववियु (पाँचौँ) मार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि पार्टीका विभिन्न तहमा जिम्मेवारी समाल्दै उहाँ अहिले बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश कार्यालय सचिवको जिम्मेवारीमा रहनुभएको छ । संसदीय अनुभवतर्फ हेर्दा उहाँ विसं २०५४ मा साबिक सुनौलाबजार गाविस सदस्य रहनुभएको थियो । विसं २०७४ मा नीलकण्ठ नगरपालिकाको उपप्रमुख र २०७९ मा प्रमुख पदमा उम्मेदवार भई उपविजेता बन्नुभएको थियो । सामाजिक कार्यलाई आफ्नो मूल आधार मान्दै आउनुभएकी श्रेष्ठले अब संसद्मार्फत जनसरोकारका विषयमा प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह