Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक प्रहरी सक्रिय : कारबाहीबाट रू.१५ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरी सक्रिय : कारबाहीबाट रू.१५ लाख राजस्व सङ्कलन
सरस्वती न्यौपाने
१९ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले पछिल्लो समय कामलाई तीव्रता दिइरहेको छ । विशेषगरी चीनको केरुङ हुँदै रसुवागढी नाकामा सामान आयात तथा निर्यातका लागि आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गर्दै ट्राफिकले निगरानी र कारबाही तीव्र बनाइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज जलन्धर राय यादवका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार एक सय ९८ सवारीसाधनमाथि कारबाही गरिएको छ । नियमविपरीत सञ्चालन भएका सवारीसाधनलाई कसुरका आधारमा तत्काल जरिवाना तोकी चालकबाटै राजस्व खातामा रकम दाखिला गराउने व्यवस्था लागू गरिएको छ । यो अवधिमा कारबाहीमार्फत रु.१४ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यस अवधिमा जिल्लाभित्र ७६ वटा सवारी दुर्घटना हुँदा तीन बालबालिकासहित ४५ जना घाइते र तीनजनाको ज्यान गएको ट्राफिक प्रहरीका अभिलेखकर्ता विकास तामाङले जानकारी दिनुभयो । दुर्घटनामा परेका सवारीसाधनमध्ये सामान बोकेका पाँच सय ८४ ट्रक तथा कन्टेनर, ५३ वटा बस र केही जिप, कार एवम् मोटरसाइकलसमेत रहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय दुर्घटनाको प्रमुख कारण चालकले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा भएको पाइएको छ । मापसे (मादक पदार्थ सेवन) र लापसे (लागुपदार्थ सेवन) परीक्षण गर्ने आधुनिक उपकरण प्राप्त भएपछि परीक्षण कार्यलाई अझ प्रभावकारी बनाइएको छ । हालसम्मको परीक्षणमा लागू पदार्थ सेवन गर्ने ११ जना र मादक पदार्थ सेवन गर्ने दुईजनालाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको छ । सडक सुरक्षालाई केवल कारबाही मात्र नभई, जनचेतनामार्फत पनि सुदृढ बनाउन ट्राफिक प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको छ । विद्यालयका विद्यार्थी, सवारीचालक तथा सहचालकलाई लक्षित गरी हालसम्म दुई सय ४९ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १४ हजार सात सय २८ जनाको सहभागिता रहेको जनाइएको छ ।

ट्राफिक सेवाको इतिहास र विकास
रसुवागढी नाका सञ्चालनसँगै अन्तर्राष्ट्रिय व्यापार विस्तार भएपछि जिल्लामा सवारी चाप उल्लेखनीय रूपमा बढ्न थालेको थियो । यही आवश्यकता महसुस गर्दै सीमित जनशक्ति र न्यून स्रोतसाधनबिच रसुवामा ट्राफिक प्रहरी सेवाको स्थापना गरिएको थियो । प्रारम्भिक चरणमा केही प्रहरी कर्मचारीबाट सुरु गरिएको ट्राफिक व्यवस्थापन अहिले व्यवस्थित संरचना, नियमित अनुगमन, प्रविधिमैत्री परीक्षण प्रणाली तथा जनचेतनामूलक कार्यक्रममार्फत सशक्त बन्दै गएको छ । पहाडी भौगोलिक अवस्था, साँघुरा सडक, मौसमजन्य जोखिम र बढ्दो व्यापारिक यातायातका चुनौतीबिच ट्राफिक प्रहरीले निरन्तर सेवा दिँदै आएको छ । सीमित साधनस्रोत हुँदाहुँदै पनि दुर्घटना नियन्त्रण, सुरक्षित यात्रा प्रवद्र्धन र नियमपालनमा ट्राफिक प्रहरीको सक्रियता प्रशंसनीय रहेको स्थानीय नागरिक बताउँछन् ।

नागरिकमा चिन्ता, ट्राफिकको सक्रियता
सवारीचालकले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्न थालेपछि आमनागरिक तथा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । यद्यपि, ट्राफिक प्रहरीले कारबाहीसँगै सचेतनामूलक अभियानलाई निरन्तरता दिएकाले सडक सुरक्षा सुधार हुने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ‘सुरक्षित यात्रा, अनुशासित चालक र जिम्मेवार नागरिक’ निर्माण गर्नु नै मुख्य लक्ष्य रहेको छ । बढ्दो जिम्मेवारीबिच ट्राफिक प्रहरीको मनोबल उच्च राख्दै आधुनिक प्रविधि, जनशक्ति र पूर्वाधार थप सुदृढ गर्न सके रसुवामा सडक दुर्घटना उल्लेखनीय रूपमा घट्ने नागरिक समाजले विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने