Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

माध्यमिक शिक्षा परीक्षा नतिजा सुधारोन्मुख

नुवाकोटमा चार जिपिए ल्याउने ११ जनामध्ये पृथ्वीका नौ

माध्यमिक शिक्षा परीक्षा नतिजा सुधारोन्मुख
त्रिशूली प्रवाह
१ घण्टा अगाडी
  • नुवाकोटमा उत्तीर्ण प्रतिशत २०८० मा ४२.७, २०८१ मा ५८.८२ र २०८२ मा ६३.४६ प्रतिशत पुगेको छ ।
  •  नुवाकोटमा गत वर्ष चारजनाले ४ जिपिए ल्याएकामा यस वर्ष ११ जनाले प्राप्त गरेका छन् ।
  •  यस वर्ष नुवाकोटका १२ पालिकामध्ये विदुर नगरपालिकाले मात्र चार जिपिए ल्याएको छ ।
  • थप कक्षा सञ्चालन, सरकारी पूर्वाधार लगानी र विद्यालय, स्थानीय तह तथा अभिभावकको सहयोग नतिजा सुधारका मुख्य कारण हुन् ।

विदुर । माध्यमिक शिक्षा परीक्षाको अघिल्लो हप्ता प्रकाशित विसं २०८२ को नतिजाअनुसार नुवाकोट जिल्लाको उत्तीर्ण प्रतिशतमा सुधार भएको छ । जिल्लाका तीन वर्षको एसइई नतिजा सुधारोन्मुख देखिएको छ । जिल्लाले विसं २०८० भन्दा २०८१ को एसइई नतिजामा १५ प्रतिशत र २०८२ मा पाँच प्रतिशतले वृद्धि गरेको छ ।

विसं २०८० को एसइईमा नुवाकोटबाट ४२.७ प्रतिशत उत्तीर्ण भएकामा २०८१ मा वृद्धि भई ५८.८२ प्रतिशत र २०८२ मा ६३.४६ प्रतिशत पुगेको छ । विसं २०८२ को नतिजाअनुसार नुवाकोटबाट एसइईमा सहभागी कुल विद्यार्थी तीन हजार तीन सय ५६ मध्ये दुई हजार एक सय ३० ग्रेडेड (उत्तीर्ण) र एक हजार दुई सय २६ जना ननग्रेडेड (अनुत्तीर्ण) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका अनुसार विसं २०८२ को एसइईमा ११ जनाले चार जिपिए (ग्रेड प्वाइन्ट एभरेज) प्राप्त गरेका छन् । चार जिपिए ल्याउनेमा यसपटक विदुर नगरपालिकाका विद्यार्थी मात्र छन् । चार जिपिए ल्याउनेमा पृथ्वी मावि विदुर-४, विदुरका नौ, सुभेनियर बोर्डिङ स्कुल विदुर-२, विदुरका एक र सूर्यज्योति इङ्ग्लिस बोर्डिङ स्कुल विदुर-९, कोलनीका एकजना छन् ।

एसइईको नतिजानुसार जिल्लाबाट ११ जनाले चार जिपिए प्राप्त गर्दा सामुदायिक विद्यालय पृथ्वी माविका नौजनाले चार जिपिए प्राप्त गरेका छन् । जिल्लाको पालिकागत एसइई २०८२ को नतिजाअनुसार विदुरबाट नौ सय १३ जनाले परीक्षा दिएकामा सात सय ५० जना ग्रेडेड र एक सय ६३ जना ननग्रेडड भएका छन् । पालिकामध्ये विदुरको उत्तीर्ण प्रतिशत सबैभन्दा बढी छ । विदुरको ८२.१५ उत्तीर्ण प्रतिशत र ११ जनाले चार जिपिए ल्याएका छन् । एसइईको नतिजामा सबैभन्दा कमजोर किस्पाङ गाउँपालिका छ । किस्पाङबाट एक सय ७२ जनाले परीक्षा दिएकामा ५७ जना ग्रेडेड, एक सय १५ जना ननग्रेडेड र ३३.१३ उत्तीर्ण प्रतिशत छ । त्यसैगरी लिखुबाट एक सय ८२ परीक्षार्थी सहभागी भएकामा एक सय ४३ ग्रेडेड, ३९ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ७८.५८, तादीबाट दुई सय तीन परीक्षार्थी सहभागी भएकामा एक सय ३० ग्रेडेड, ७३ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ६४.०४ प्रतिशत, पञ्चकन्याबाट एक सय ७३ परीक्षार्थी सहभागी भएकामा एक सय ११ ग्रेडेड, ६२ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ६४ प्रतिशत, ककनीबाट दुई सय ८६ परीक्षार्थी सहभागी भएकामा एक सय ७९ ग्रेडेड, एक सय सात ननग्रेडेड र उत्तीर्ण प्रतिशत ६२.५८ प्रतिशत, बेलकोटगढीबाट चार सय ४१ परीक्षार्थी सहभागी भएकामा दुई सय ६५ ग्रेडेड, एक सय ७६ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ६०.०९ प्रतिशत, दुप्चेश्वरबाट दुई सय ४९ परीक्षार्थी सहभागी भएकामा एक सय ४२ ग्रेडेड, एक सय सात ननग्रेडेड र उत्तीर्ण प्रतिशत ५७.०२ प्रतिशत, सूर्यगढीबाट एक सय ९३ परीक्षार्थी सहभागी भएकामा एक सय नौ ग्रेडेड, ८५ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ५६.४७ प्रतिशत, शिवपुरीबाट दुई सय १४ परीक्षार्थी सहभागी भएकामा एक सय १२ ग्रेडेड, एक सय दुई ननग्रेडेड र उत्तीर्ण प्रतिशत ५२.३४ प्रतिशत, म्यागङबाट एक सय ५५ परीक्षार्थी सहभागी भएकामा ७२ ग्रेडेड, ८३ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ४६.४५ प्रतिशत र तारकेश्वरबाट एक सय ७५ परीक्षार्थी सहभागी भएकामा ६० ग्रेडेड, एक सय १५ ननग्रेडेड र उत्तीर्ण प्रतिशत ३४.२८ प्रतिशत छ ।

चार जिपिए ल्याउनेमा पृथ्वीका अलिस लामिछाने, दिलाश न्यौपाने, दिलाशा दाहाल, दिलाशा पौडेल, प्रजान प्रधान, रजनी प्याकुरेल, सहारा अर्याल, सम्पदा श्रेष्ठ र सञ्जिता पुडासैनी छन् । त्यसैगरी सुभेनियरका स्टेफेन धमला र सूर्यज्योतिका विनोद साह कानुले चार जिपिए ल्याएका छन् ।

सामुदायिक विद्यालयमा तीन तहका स्थानीय, प्रदेश र सङ्घ सरकारले विगत केही वर्षदेखि भवनसहित सबै पूर्वाधार, स्कुलबस, दरबन्दीअनुसार विषयगत शिक्षक, कक्षा ६ सम्म दिवाखाजा, निःशुल्क पाठ्यपुस्तक, पुस्तकालय, खेलकुदका सामग्री उपलब्ध गराउँदै आएका छन् । सरकारको लगानीअनुसार सामुदायिक विद्यालयले एसइई नतिजामा सुधार गर्न नसकेको गुनासो आइरहेको नागरिक समाजका उपाध्यक्ष वसन्त रिजालले बताउनुभयो । सामुदायिक विद्यालयका शिक्षकले पठनपाठनभन्दा राजनीतिलाई प्राथमिकता दिने गरेको आरोपसमेत उहाँले लगाउनुभयो । विद्यालयमा पठन-संस्कृतिमा ह्रास आइरहेको विद्यार्थी र शिक्षकको सिर्जनशीलता घटिरहेको, पाठ्यपुस्तकमा भन्दा सहयोगी नामका पुस्तक बिक्री गर्नेमा मात्र शिक्षकको ध्यान जाने गरेको नागरिक अगुवाले बताउने गरेका छन् ।

शैक्षिक गुणस्तर परीक्षण तथा स्थानीय तह, विद्यालय र अभिभावकको निरन्तर प्रयासले नतिजा सुधार भएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले बताउनुभयो । नतिजा सुधार गर्न अधिकांश विद्यालयले थप कक्षा सञ्चालनसमेत गरेका थिए । अध्ययन गर्ने हो भने सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुने यस वर्षको नतिजाले प्रमाणित गरेको छ । विद्यार्थी तथा शिक्षकको मिहिनेत, अभिभावकको साथ र सहयोगको परिणामले यस वर्षको एसइईमा नुवाकोटका सामुदायिक विद्यालयको नतिजा राम्रो आएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नुवाकोटका अध्यक्ष एवम् त्रित्रि माविका प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह