धुन्चे । सिँचाइ सुविधाको अभाव झेल्दै आएका रसुवाको दक्षिण भेगका बासिन्दाका लागि सुखद खबर आएको छ । जिल्लामै पहिलोपटक गरिएको डिपबोरिङ सफल भएसँगै कालिका-३, कटुन्जेमा भूमिगत पानी निस्किएको छ । पानी निस्किएपछि धैबुङ क्षेत्रका किसान हर्षित बनेका हुन् ।
भिरालो भू-भागका कारण वर्षौँदेखि सिँचाइ समस्या भोग्दै आएको क्षेत्रमा कृषि उत्पादन वृद्धि गरी स्थानीयस्तरमै खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीय सरकारको मागअनुसार बागमती प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि कमरे क्षेत्रमा डिपबोरिङ परीक्षण गरिएको हो । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले परीक्षण सम्पन्न गरेको गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिनुभयो । परीक्षणका क्रममा ९० मिटर गहिराइसम्म पाइप पु¥याउँदा पानीको बहाव सफल देखिएको उहाँले बताउनुभयो । गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेका अनुसार करिब १० वर्षदेखि स्थानीयवासीले प्रतीक्षा गरेको सिँचाइ सुविधा अब पूरा हुने आशा पलाएको छ । जमिनको सतहबाट ४८.२५ मिटरमै पानी भेटिए पनि एक सय ३५ मिटर गहिराइसम्म पाइप पु¥याई ९० मिटर भागबाट पानी तानिएको प्राविधिक जियोलोटिस्ट पुष्प भट्टराईले बताउनुभयो । २४ घण्टा निरन्तर गरिएको परीक्षणमा पानीको बहाव स्थिर देखिएपछि परियोजना सफल भएको पुष्टि गरिएको पनि डिप ट्युबेलमा कार्यरत प्राविधिक जियोलोटिस्ट भट्टराईले जानकारी दिनुभयो । करिब रु. २७ लाख लागतमा पानी निकाल्ने कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।
डिपबोरिङ सफल भएपछि कटुन्जे, स्वाँरा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले, सुयलडाँडालगायत धैबुङ क्षेत्रका हजारौँ रोपनी जमिन सिँचाइ हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले अब मोटर जडान, पानी वितरण प्रणाली र दीर्घकालीन व्यवस्थापनमा सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने बताएका छन् । पालिका अध्यक्ष देवकोटाका अनुसार डिपबोरिङ सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु.२७ लाख उपलब्ध गराइसकेको छ । गाउँस्तरको छलफलपछि संरचना निर्माण गरी सिँचाइ प्रणाली सञ्चालनमा ल्याइने तयारी भइरहेको उहाँले बताउनुभयो । अन्य चार-पाँच स्थानमा गरिएको परीक्षणमा पानी नआए पनि थप तीन स्थानमा अध्ययन प्रक्रिया अघि बढाइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केदार श्रेष्ठका अनुसार परीक्षण सफल भएकाले अब पूर्वाधार निर्माणको गृहकार्य सुरु गरिएको छ । आगामी वर्षदेखि नियमित सिँचाइ सेवा उपलब्ध गराउने लक्ष्य रहेको र उक्त ट्युबेलबाट करिब १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने प्राविधिक अनुमान गरिएको छ ।
अन्य स्थानमा डिपबोरिङ प्रविधि
नेपालमा भूमिगत पानी प्रयोग गर्ने डिपबोरिङ तथा डिप ट्युबेल प्रविधि विशेषगरी तराई र भित्री मधेश क्षेत्रमा सफल रूपमा प्रयोग हुँदै आएको छ । यी जिल्लाहरूमा रुपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बाँके, बर्दिया र कैलाली रहेका छन् भने पहाडी जिल्ला नुवाकोट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक एवम् सहरी जिल्लाको हकमा काठमाडौँ उपत्यकाअन्तर्गत भक्तपुर, ललितपुरसमेतका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइका लागि डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ । सिँचाइ क्षेत्रमा गरिएको व्यवस्थापनले कृषि उपजको उत्पादनमा महत्त्वपूर्ण सहयोग पुगेको रसुवा डिभिजन सिँचाइ प्रमुख सुभास बानियाँले जानकारी दिनुभयो ।
रसुवाको कालिका इलाका क्षेत्रमा डिपबोरिङबाट पानी निस्केको जानकारीले आफू अत्यन्तै हर्षित भएको बताउँदै सिँचाइविज्ञ कृष्ण पाण्डेले पानी निस्कनु मात्रै ठुलो कुरो नभई त्यसको नियमित मर्मतसम्भार र उपभोगमा दिगो व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । नियमित विद्युत् शुल्कदेखि पानी तान्ने मोटरको मर्मत, पाले-पहराको व्यवस्थापनलगायतका विषयमा किसानले कत्तिको धान्न सक्ने भन्ने कुरामा सञ्चालनको दिगो व्यवस्थापनमा पहिलो ध्यान दिन सुझाव दिनुभयो । तराईको जमिन टेबुल मिलेको हुँदा निरन्तर पानी आइरहने र पहाडको हकमा चट्टानबाट आउने भएका कारण निरन्तर आउँछ भन्ने ग्यारेन्टी गर्नसमेत मुस्किल पर्ने पाण्डेले बताउनुभयो । कृषि उत्पादन वृद्धि कार्यक्रमअन्तर्गत नेपाल सरकार र विभिन्न विकास साझेदारको सहयोगमा तराईका जिल्लामा सौर्य ऊर्जाबाट सञ्चालन हुने डिप ट्युबेलसमेत जडान गरिएका छन् । पछिल्लो समय चितवन, नवलपुर, मकवानपुर, काभ्रे, सिन्धुलीलगायत मध्यपहाडी क्षेत्रमा पनि परीक्षणका रूपमा डिपबोरिङ प्रविधि विस्तार गर्न थालिएको प्राविधिकले बताएका छन् ।
पहाडी भू-भागमा पानीको स्रोत अनिश्चित हुने भएकाले रसुवामा सफल भएको यो डिपबोरिङ प्रविधिलाई हिमाली तथा पहाडी जिल्लाका लागि नमुना परियोजनाका रूपमा प्रमाणित भएको पनि जियोलोजिस्ट भट्टराईले जानकारी दिनुभयो । उहाँ पानी ननिस्किउन्जेल कालिका रसुवाको डिपबोरिङमा अहोरात्र खट्ने पहिलो प्राविधिक रहनुभएको गाउँपालिकाले जनाएको छ । रसुवामा पहिलोपटक सफल भएको यस डिपबोरिङले कृषि उत्पादन वृद्धि, आयआर्जन विस्तार र ग्रामीण जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया