हेटौँडा । बागमती प्रदेश सरकारले चालू आवको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ भने गत आव २०८१/०८२ को बेरुजु अघिल्लो वर्षको तुलनामा घटाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सरकारले चालू आव २०८२/०८३ को वैशाख मसान्तसम्म कुल लक्ष्यको ४६.४४ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।
प्रदेश सरकारले यो आवमा रू.६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो, तर आव समाप्त हुन दुई महिना बाँकी रहँदासम्म रू.३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार मात्रै सङ्कलन गरेको मन्त्रालयका अधिकृत इन्द्रराज सन्ज्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन दस्तुर, बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँट भई प्राप्त हुने अन्तःशुल्क, सवारीसाधन कर, मनोरञ्जन कर र दहत्तर-बहत्तरको बिक्रीबाट प्राप्त हुने आयमार्फत राजस्व सङ्कलन गरेको हो । प्रदेश सरकारको सबैभन्दा धेरै आम्दानीको स्रोत मूल्य अभिवृद्धि कर, सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापतको राजस्व देखिन्छ । प्रदेश सरकारले समीक्षा अवधिमा करिब रू.२३ अर्ब खर्च गरेको छ, जुन कुल बजेटको ३४ दशमलव शुन्य ६ प्रतिशत हो । प्रदेश सरकारले चालू आवका लागि रू.६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्ममा रू.२२ अर्ब ९८ करोड २५ लाख ५२ हजार मात्रै खर्च भएको छ । जसमध्ये चालूतर्फ रू.११ अर्ब १० करोड ५१ लाख ९२ हजार र पुँजीगततर्फ रू.११ अर्ब ८७ करोड ७३ लाख ६० हजार खर्च भएको छ ।
बागमतीको आव २०८१/०८२ को बेरुजु अघिल्लो वर्षको तुलनामा घटेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको बागमतीको प्रदेश मन्त्रालय तथा निकायको लेखा परीक्षणअनुसार आव २०८०/०८१ को बेरुजु रकम रू.८५ करोड १७ लाख ८२ हजार रहेकामा आव २०८१/०८२ को बेरूजु रकम रू.६९ करोड ३७ लाख ९४ हजारमा झरेको छ । बजेटको प्रभावकारी कार्यान्वयनको अभाव, प्रदेश आफँैले बनाएको कानुन र सार्वजनिक खरिद ऐनविपरीत तथा रित नपुर्याई खर्च गर्ने प्रदेशका मन्त्रालय र निकायको प्रवृत्तिले निरन्तरता पाउँदा यस प्रदेशको कुल बेरुजु रकम भने बर्सेनि बढ्दो छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणबाट हालसम्म कुल बेरुजु बढ्दै गएको तथ्याङ्क छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा आव २०८१/०८२ सम्ममा कुल बेरुजु रकम रू.पाँच अर्ब २८ करोड ६ लाख ९४ हजार पुगेको उल्लेख छ ।







प्रतिक्रिया