विदुर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीगौँडा शाखा कार्यालयले वित्तीय संस्थामा आबद्ध केन्द्र प्रमुख तथा अभिभावकको उपस्थितिमा एकदिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।
नुवाकोटको विदुर-८, हात्तीगौँडामा रहेको शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रममा विशेषगरी कर्जा र बचतसम्बन्धी व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार विस्तार, महिला सचेतना, महिला सशक्तीकरण, लघुवित्तले समाजमा पारेको सकारात्मक भूमिका र बैंकिङसम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अनुगमन अधिकृत विष्णुदेव चौधरीले लघुवित्तको हालको अवस्थाबारे जानकारी गराउँदै कर्जाको सदुपयोग कसरी गर्ने, धेरै संस्थाबाट कर्जा कारोबार गर्दा पर्ने नकारात्मक असरबारे प्रशिक्षण दिनुका साथै बचत गर्दा हुने फाइदाबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा हात्तीगौँडाका शाखा प्रमुख शिवहरि भट्टराईले माहुली लघुवित्तले सदस्यको आर्थिक सशक्तीकरणका लागि निरन्तर सचेतना र साक्षरतामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सदस्यले रु.२५ हजारसम्मको ऋण लिँदा केन्द्रबाटै पाउनुपर्ने माग गरेका थिए । व्यावसायिक कर्जा लिनेका लागि संस्थाले ब्याजमा सहुलियत दिनुपर्ने, सानो कर्जा केन्द्रमा नै लगानी हुनुपर्ने तथा बिमा रकम सदस्यको मात्रै काट्नुपर्ने नियम लागू गर्न सहभागीले सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका विभिन्न केन्द्रका ४७ जनाभन्दा बढी केन्द्र प्रमुखको उपस्थिति रहेको थियो । सप्तरी जिल्ला कार्यालयले हालसम्म रु.६ अर्ब ऋण लगानी गरी रु.दुई अर्ब निक्षेप सङ्कलन गरेको छ । लघुवित्तले अहिले ३४ जिल्लाको ६४ शाखा कार्यालयमार्फत ८२ हजार मानिसलाई सेवा दिइरहेको छ ।







प्रतिक्रिया