विदुर । माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजाअनुसार विदुर-१ स्थित त्रिभुवन त्रिशूली माविले विगत दुई वर्षको तथ्याङ्कमा आमूल सुधार गरेको छ ।
यसरी विसं २००७ मा स्थापित विद्यालयले आफ्नो प्राज्ञिक गरिमालाई निरन्तर उचाइ दिँदै समाजमा गुम्दै गएको सामुदायिक विद्यालयप्रतिको भरोसालाई शैक्षिक योजना बनाएर फर्काउँदै छ । शैक्षिक सत्र २०८० मा कुल ५७ विद्यार्थी परीक्षामा सामेल भएकामा ग्रेडेड प्रतिशत केवल ४०.३५ प्रतिशत मात्र थियो । उक्त सत्रमा ३४ विद्यार्थी ननग्रेडेड भए । सो नतिजा विद्यालयका लागि एउटा गम्भीर आत्मसमीक्षाको मोड बन्यो ।
धेरै वर्षसम्म नुवाकोट, धादिङ र रसुवाको एक मात्र माध्यमिक विद्यालय रहेको सो विद्यालयले आफ्नो शिक्षण पद्धतिमा व्यापक सुधार गरी विसं २०७८ देखि लागु गरिएको पूर्ण निःशुल्क अङ्ग्रेजी माध्यमलाई तल्लो कक्षासम्मै सुदृढ बनाएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो । यसरी शैक्षिक सत्र २०८१ मा भने कुल सहभागी ८९ मध्ये ८८.७६ प्रतिशत विद्यार्थी ग्रेडेड भए र एनजी १० मा झार्यो । शैक्षिक सत्र २०८२ को एसइईमा ९२ विद्यार्थी सम्मिलित भएकामा ९३.४८ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भई विद्यालयले जिल्लाभरिकै सामुदायिक विद्यालयको शिर ठाडो हुने गरेर ऐतिहासिक नतिजा हासिल गरेको छ । उच्च जिपिए ३.६ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या एकबाट बढेर लगातार पाँचमा कायम रहनु र ३.२ देखि ३.६ जिपिए ल्याउने तीनबाट बढेर २७ सम्म पुग्नाले विद्यालयको शैक्षिक गुणस्तरको दिगो वृद्धिलाई प्रमाणित गरेको प्रधानाध्यापक दवाडीले जिकिर गर्नुभयो ।







प्रतिक्रिया