Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सम्बन्धबिच्छेदले समाजमा असर

सम्बन्धबिच्छेदले समाजमा असर
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

नेपाली समाज समयक्रमसँगै बदलिएको छ । राजनीतिक परिवर्तनसँगै मानिस अहिले व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत खुशी तथा आत्मसन्तुष्टिलाई बढी महत्त्व दिन थालेका छन् । आधुनिक सोच, सहरीकरण तथा खुला सामाजिक वातावरणले दाम्पत्य सम्बन्धलाई प्रत्यक्ष असर गरिरहेको छ । अहिले धेरै मानिस सम्बन्ध टिकाउनुभन्दा व्यक्तिगत सहजता र स्वतन्त्रतालाई प्राथमिकता दिन थालेका छन् । जसले गर्दा स-साना घटना र सामान्य विषयवस्तुलाई लिएर पति-पत्नीको सम्बन्धबिच्छेद हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

विगतका तथ्याङ्क केलाउँदा नेपालमा विसं २०५० पछि सम्बन्धबिच्छेदका घटना बढेको देखिन्छ । विसं २०७२ को संविधानपछि तथा कोभिड-१९ पछि सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या तीव्ररूपमा बढेको छ । सम्बन्धबिच्छेद केवल पति-पत्नी नमिल्ने विषय मात्र नभई सामाजिक, आर्थिक, मनोवैज्ञानिक तथा साँस्कृतिक परिवर्तनको मिश्रित परिणाम बनेको छ । सम्बन्धबिच्छेद नेपाली समाजमा राम्रो कुरा होइन, तर बस्नै नसक्ने अवस्थालाई सामान्य रूपमा लिन पनि हुँदैन । मन नै नमिली बस्नुभन्दा अलग हुनु ठीक हो, तर सामान्य विषयवस्तुलाई लिएर घर भत्किनु पक्कै राम्रो सङ्केत मानिँदैन ।

धर्म र परम्पराअनुसार पहिले नेपाली समाजमा सम्बन्धबिच्छेदलाई नराम्रो मानिन्थ्यो । असह्य पीडा सहेर पनि श्रीमान् र श्रीमतीलाई छोड्नु भनेको अघोर पापको रूपमा लिइन्थ्यो । पछिल्लो समयसम्म पनि माइतीघर, परिवार, समाज, आफन्त र आफ्नै इज्जतको डरले गर्दा धेरै दम्पती समस्या भए पनि सम्बन्धबिच्छेदसम्म पुग्ने गर्दैनथे र जस्तो समस्या भए पनि सँगै बस्ने गर्थे । विशेषगरी नेपाली महिलाका लागि सम्बन्धबिच्छेद गर्ने भन्ने सोच नै आउँदैनथ्यो । विवाह गरेर ल्याएकी बुहारी वा सिन्दूर हालेकी श्रीमती र सातफेरा लगाएर गरेको विवाहलाई छुट्याउने कल्पना नै गर्दैनथ्यो । दान गरेर दिएकी छोरीलाई छुट्याउनु माइती पक्षले पनि स्वीकार गर्दैनथ्यो, त्यसैले यसलाई निकै कठिन विषय मानिन्थ्यो । हाल एक गैर सरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सम्बन्धबिच्छेदका घटना उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ ।

समय परिवर्तनसँगै देखासिकी, भोगाई, बाहिरी समाज, सोचाईमा परिवर्तन, कामकाजी जीवनशैली, आर्थिक अवस्थामा सुधार, नयाँ प्रविधि तथा सहरी जीवनमा आएको व्यक्तिगत स्वतन्त्रताको परिवर्तनले वैवाहिक सम्बन्धमा असर तथा सम्बन्धबिच्छेद गर्न सहजता र वृद्धि भएको पाइन्छ । नेपालमा सम्बन्धबिच्छेद बढ्नुका अन्य कारणमा आर्थिक, सामाजिक, व्यवहारिक तथा कानुनी पक्ष पनि जोडिएका छन् । कतिपय अवस्थामा केटी पक्ष आर्थिक रूपमा धेरै सम्पन्न हुनु, माइती पक्ष अत्यन्त धनी हुनु तथा केटा आर्थिक रूपमा कमजोर हुनुका कारण पनि दाम्पत्य सम्बन्धमा असन्तुलन आएको छ । सम्बन्धमा समान सम्मान, समझदारी र परिपक्वता भएन भने आर्थिक हैसियतकै कारण हेपाहा प्रवृत्ति, घमण्ड, नियन्त्रण गर्ने प्रयास वा हामी ठूलो भन्ने मानसिकता विकसित हुन सक्छ । यसले पति-पत्नीबीच आत्मसम्मानको टकराव निम्त्याएर सम्बन्ध कमजोर बनाएको छ । धनी वा गरिब हुनु मात्र सम्बन्धबिच्छेदको कारण होइन, तर आर्थिक असन्तुलनलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ । अहिले धेरै विवाह छोटो चिनजान, सामाजिक सञ्जाल, भावनात्मक आवेग वा बाहिरी प्रभावमा हुने गरेको छ । एकअर्काको वास्तविक बानीव्यहोरा, सोच, स्वभाव, जिम्मेवारीप्रतिको दृष्टिकोण तथा पारिवारिक संस्कार राम्रोसँग नबुझी विवाह हुँदा पछि व्यवहारिक जीवनमा ठूलो फरक देखिन सक्छ । विवाहअघि देखिएको व्यवहार र विवाहपछिको वास्तविकता फरक पर्दा निराशा, विवाद तथा अन्ततः सम्बन्धबिच्छेदको अवस्था आउन सक्छ । कानुनी सहजताले पनि केही प्रभाव पारेको देखिन्छ । पहिले सम्बन्धबिच्छेद कानुनी, सामाजिक तथा पारिवारिक रूपमा निकै कठिन मानिन्थ्यो । अहिले कानुनी प्रक्रिया तुलनात्मक रूपमा सहज बनेको छ । यसले वास्तविक पीडितलाई न्याय र सुरक्षित विकल्प दिएको सकारात्मक पक्ष त छ, तर कतिपय अवस्थामा सानो असमझदारीमा पनि सम्बन्ध जोगाउने प्रयास नगरी तुरून्त सम्बन्धबिच्छेदतर्फ जाने प्रवृत्ति बढेको छ । विशेष गरी रिसको आवेग, क्षणिक असन्तुष्टि वा बाहिरी उक्साहटका कारण हतारमा निर्णय लिँदा पछि पछुतो हुने अवस्थासमेत देखिन्छ । एकअर्काको जीवनशैली, व्यवहार, सङ्गत तथा चरित्रप्रतिको दृष्टिकोण धेरै फरक हुँदा पति-पत्नीबीच मन नमिल्ने अवस्था आएको छ । विवाह केवल प्रेमको सम्बन्धमात्र नभई जिम्मेवारी, अनुशासन, सम्मान र विश्वासको सम्बन्ध पनि भएकाले अत्याधिक लापरबाही वा गैरजिम्मेवारी व्यवहारले सम्बन्धमा गहिरो असर पार्न सक्छ ।

सम्बन्ध टिकाउन प्रेम अनि सम्मान, आपसी साथ, विश्वास, निरन्तर संवाद, धैर्यता, यथार्थ बुझ्ने क्षमता, जिम्मेवारी लिन र दिन सक्ने, भावना तथा एकअर्काप्रति समझदारी अत्यन्त आवश्यक हुन्छ । त्यसकासाथै पेशागत मर्यादा पनि एकअर्काले बुझ्नु उत्तिकै जरूरी छ । सम्बन्धबिच्छेदलाई न त पूर्णरूपमा गलत भन्न मिल्छ, न त सामान्य कुरा मानेर सहज रूपमा लिन सकिन्छ । सानो असमझदारी, देखासिकी वा क्षणिक आवेगका कारण सम्बन्ध तोड्नु भनेको परिवार, बालबालिका र समाजमा दीर्घकालीन रूपमा नकरात्मक असर पार्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह