विदुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नुवाकोट जिल्ला, विदुर-१ सिमुटारमा सञ्चालित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत होटेल व्यवस्थापन सङ्कायमा अध्ययनरत प्रशिक्षार्थीले पाँचतारे होटेलमा इन्टर्नसिप गर्ने भएका छन् ।
नुवाकोट र रसुवाको एक मात्र आङ्गिक शिक्षालय, डिप्लोमा इन होटेल व्यवस्थापनअन्तर्गत तेस्रो वर्ष दोस्रो खण्डमा अध्ययनरत प्रशिक्षार्थीले ६ महिनाको अनिवार्य इन्टर्नसिपका लागि काठमाडौँस्थित सोल्टी होटेलसँग द्विपक्षीय लिखित सम्झौता गरेको छ ।
सम्झौतामा शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख कपिल पाण्डेले तथा होटेलका तर्फबाट मानव संसाधन निर्देशक खेमबहादुर पौडेल, सिकाइ तथा विकास निर्देशक रूपेश श्रेष्ठ र महाप्रबन्धक अभिनाश देशमुखले हस्ताक्षर गरेको शिक्षालय, होटेल व्यवस्थापन विभागका प्रमुख प्रकाश रैलाले बताउनुभयो । सम्झौताअनुसार अब प्रत्येक वर्ष प्रशिक्षार्थीले सोल्टी होटेलमा काम गर्दै सिक्ने अवसर पाउनेछन् । यसका साथै शिक्षालयले र्याडिसन, यलफ्ट र मेरियटलगायत पाँचतारे होटेलसँग समेत समन्वय गरी प्रशिक्षार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाएको बताइएको छ ।
विभागीय प्रमुख रैलाका अनुसार पाँचतारे होटेलमा हुने तालिमले प्रशिक्षार्थीको सिप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनेछ । नुवाकोटमा आतिथ्य क्षेत्र विस्तारका क्रममा रहेकाले जिल्लाबाट आवश्यक सहयोग प्राप्त भए शिक्षालय यस क्षेत्रमा रोजगार प्रदायक साबित हुने विश्वास लिइएको छ ।







प्रतिक्रिया