Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

धादिङका ११ र नुवाकोटका ३ विद्यालयलाई विद्यार्थीको खडेरी

धादिङका ११ र नुवाकोटका ३ विद्यालयलाई विद्यार्थीको खडेरी
लक्ष्मी थोकर
१ घण्टा अगाडी

विदुर । शैक्षिक सत्र सुरू भएको एक महिना हुन लागेको छ । यो अवधिमा देशभरका दुई सय ९३ सामुदायिक विद्यालयमा पाँचजना भन्दा कम विद्यार्थी भएपछि सङ्घीय सरकार मर्ज गर्ने कि खारेज गर्ने निर्णय लिन सकिरहेको छैन ।

यसै शैक्षिक सत्रमा सहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी सङ्ख्या थेग्नै कठिन भइरहेको छ । भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनुपर्ने अवस्थामा ति विद्यालय रहेका छन् । तर, ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ । पहाडी क्षेत्रबाट सहर तथा तराईतिर बसाइँसराइ सरेसँगै पहाडका विद्यालयमा विद्यार्थीको सङ्कट देखिएको हो । विद्यार्थी अतिकम हुँदा अधिकांश विद्यालयले कक्षा मिलान गरेरसमेत पढाउने गरेका छन् । यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार ती विद्यालयमा शिक्षक र कर्मचारी सङ्ख्या चारदेखि ६ जनासम्म रहेको छ ।

विद्यार्थीको खडेरी नुवाकोटको तिन र धादिङको ११ वटा आधारभूत विद्यालयमा पनि परेको छ । दुवै जिल्लाको १४ वटा विद्यालयमा पाँच जना भन्दा बढी विद्यार्थी नभएपछि मर्ज गर्ने तयारी भइरहेको छ । नुवाकोटको भैरवकुण्ड आवि बेलकोटगढी-७ मा तिन, मानेडाँडा आवि दुप्चेश्वर-२ मा तिन र सूर्यमती आवि दुप्चेश्वर-१ मा पाँच जना विद्यार्थी रहेका छन् । पाँच जना मात्र विद्यार्थी रहेका धादिङको ११ आविमध्ये पाँचवटा निलकण्ठ नगरपालिकाका विद्यालय रहेका छन् । धादिङको बसन्त आवि बेनीघाट रोराङ-५ मा चार, बालविकास आवि नीलकण्ठ-१४ मा पाँच, जमुने आवि नीलकण्ठ-१ मा पाँच, देउराली आवि नीलकण्ठ-९ मा पाँच, बटुवा आवि नीलकण्ठ-१३ मा पाँच, पण्डितचौर आवि नीलकण्ठ-१२ मा पाँच, नमुना आवि नेत्रवती-दवजोङ-५ मा दुई, जनभावना आवि नेत्रवती-दवजोङ-१ मा पाँच, पञ्चकन्या आवि रूबीभ्याली–६ मा पाँच, कञ्चन आवि रूबीभ्याली-५ मा तिन र सरस्वती आवि थाक्रे-९ मा तिन जना मात्र विद्यार्थी यस शैक्षिक सत्रमा भर्ना भएका छन् ।

प्राथमिक, आधारभूत र माध्यमिक सबै तहका विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि मर्जको प्रक्रिया अघि बढेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार २० भन्दा कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या तीन हजार चार सय २४ छन् । ३० जना भन्दा कम विद्यार्थी हुने सामुदायिक विद्यालय पाँच हजार पाँच सय ५२ छन् । कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने विकल्पमा शिक्षा मन्त्रालय पुगेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले कतिपय विद्यालय ‘मर्ज’ नगरी नहुने अवस्थामा रहेको बताउनुभयो । ‘‘कतिपय विद्यालयमा फालाफाल विद्यार्थी छन्, कतिपयको अस्तित्व नै जोगाउन कठिन छ, भौतिक संरचना भए पनि विद्यार्थी छैनन्,’’ उहाँले भन्नुभयो, ‘‘कतिपय पालिकाले विद्यार्थी नभएका विद्यालयका शिक्षकलाई अन्य स्कुलमा खटाएर पनि व्यवस्थापन गरिरहेका छन् ।

अतिकम विद्यार्थी भएका विद्यालयका लागि अब मन्त्रालयले नयाँ व्यवस्था ल्याउँछ ।’’ पहाडी क्षेत्रबाट सहर तथा तराईतिर बसाइँसराइ सरेसँगै पहाडका विद्यालयमा विद्यार्थीको सङ्कट देखिएको हो । विद्यार्थी अतिकम हुँदा अधिकांश विद्यालयले कक्षा मिलान गरेरसमेत पढाउने गरेका छन् । शिक्षा प्रवक्ता सापकोटा विद्यालयबीचको भौगोलिक अवस्था, दूरीलगायतलाई विचार गरेर मर्ज गरिने बताउँछन् । ‘‘एकजना विद्यार्थीका लागि मात्रै पनि विद्यालय चलाउन सक्ने कुरा हुँदैन । तर, हामीले मर्ज गर्दा त्यहाँको भौगोलिक अवस्था, दूरीलगायत कुरालाई हेर्नुपर्छ । विद्यार्थी अर्को विद्यालयमा जान सम्भव छ भने त्यो विद्यालय मर्ज गर्दा फरक पर्दैन,’’ उहाँले भन्नुभयो, ‘‘मर्जमा जाँदा कतिपय विद्यालयको संरचनालाई कसरी सदुपयोग गर्ने भन्नेबारे छलफल गर्छौँ ।’’ देशभर २७ हजार २० सामुदायिक विद्यालय छन् । शिक्षा मन्त्रालयले ५० भन्दा कम विद्यार्थी भएका विद्यालय गाभ्ने गरी गृहकार्य गरिरहेको छ । शिक्षाविद् विद्यानाथ कोइराला पनि कम विद्यार्थी भएका विद्यालय गाभ्नुको विकल्प नरहेको बताउँछन् । तर, मर्जका नाममा माथिबाट लाद्नु गलत हुने उहाँको सुझाव छ । विद्यार्थी सङ्ख्या निकै कम भएको अवस्थामा विद्यालय गाभ्नु नै ठिक हो, तर यसमा माथिबाट निर्णय लाद्ने होइन सरकारले स्थानीय सरकार र त्यहाँका राजनीतिक दलसित संवाद गर्ने हो भने उपाय निस्कन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मी थोकर