Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बजेटमा टोखा-छहरे सुरूङमार्गको सम्भाव्यता अध्ययन

गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति

बजेटमा टोखा-छहरे सुरूङमार्गको सम्भाव्यता अध्ययन
शरण उत्सुक
३ घण्टा अगाडी

विदुर । प्रतिनिधिसभामा सुविधाजनक बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले शुक्रबार आगामी आव २०८३/०८४ का लागि रु.२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ । सो बजेटमा ११ वर्षअघि सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनालाई यसै वर्ष सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । रुग्णावस्थामा रहेको सो सडक आगामी आवमा सम्पन्न गर्न रु.एक अर्ब २५ करोड विनियोजन गरिएको छ । त्यसैगरी विगत तीन वर्षदेखि सरकारले हरेक बजेटमा नाम लिने, तर काम अगाडि नबढी चर्चामा मात्र आइरहेको टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।

विसं २०७७ मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले सो सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको थियो । काठमाडौंको टोखाबाट नुवाकोटको लिखु गाउँपालिकाको थानसिंस्थित छहरेफाँट जोड्ने सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष बजेटमा छुटेको छैन । यसअघि विसं २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा चीनले अनुदानमा सो सुरुङमार्ग निर्माणको सम्झौता भएको थियो । सो समयमा सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीनबिच सम्झौताअनुसार चीनले प्रारम्भिक चरणको अध्ययन विसं २०७७ मा सम्पन्न गरिसकेको छ ।

सो अध्ययन चाइना कम्युनिकेसनका प्रमुखसहित भूगर्भ, सुरुङ र राजमार्ग इन्जिनियरलगायत नौजनाको प्राविधिक टोलीले गरेको थियो । चिनियाँ टोलीलाई प्रारम्भिक अध्ययन गर्न करिब एक महिना लागेको थियो । प्रारम्भिक अध्ययनअनुसार सुरुङको लम्बाइ चार किलोमिटर र चौडाइ दुई किलोमिटर हुनेछ । एकातिर ‘सर्भिस ट्रयाक’ हुनेछ भने लागत रु.३० अर्ब लाग्ने अनुमान गरिएको छ । यद्यपि, आयोजनाको वास्तविक लागत भने विस्तृत आयोजना प्रतिवेदन तयारपछि मात्रै यकिन हुनेछ । डिपिआर तयारी क्रममा छ । रसुवागढी सडकको दूरी छोट्याउन सो खण्डमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको थियो । सुरुङ निर्माणपछि करिब १२ किलोमिटर दूरी घट्ने सडक विभागले जनाएको छ ।

यसैगरी चीनले राजधानी काठमाडौंदेखि सीमानाका रसुवागढीसम्म सडक बनाइदिने प्रतिबद्धता जनाएको छ । चिनियाँ राष्ट्रपति सीका भ्रमणका क्रममा काठमाडौँ टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेँसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिन चीन सहमत भएको सर्भे विभागले बताउने गरेको छ । पहिलो चरणमा टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङसहितको ३२ किलोमिटर सडकमार्ग चीनले अनुदानमा निर्माण गरिदिने प्रस्ताव भएको थियो । काठमाडौँबाट गल्छी–स्याफ्रुबेँसी–रसुवागढीको दूरी एक सय २८ किलोमिटर छ । काठमाडौँको बालालु बाइपास, नुवाकोटको विदुर तथा रसुवाका धुन्चे र स्याफ्रुबेँसी हुँदै रसुवागढीको दूरी एक सय ५२ किलोमिटर छ । टोखा–छहरे गँगटे ४४ किलोमिटर छ । गँगटे–बेत्रावती १७, बेत्रावती–मैलुङ १०, मैलुङ–स्याफ्रुबेँसी १९, स्याफ्रुबेँसी–रसुवागढी १६ किलोमिटर छ ।

अहिले सो खण्डसहित धादिङको गल्छीदेखि रसुवागढीसम्म सडक निर्माणाधीन अवस्थामा छ । सुरुङमार्ग निर्माणपछि काठमाडौँ एवम् उत्तरी भेगका स्थानीयवासीको दैनिकी पनि निकै सहज हुनेछ । हाल सो सडकमार्गको यात्रा निकै जोखिमपूर्ण छ । शिवपुरी भन्ज्याङको उकालामा दुवैतर्फका सवारीसाधनलाई यात्रा गर्दा निकै सास्ती हुने गरेको छ । सुरुङमार्ग निर्माणपछि काठमाडौँको जनघनत्व घटाउन मद्दत पुग्नेछ भने नुवाकोटको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको छ । नुवाकोटमा जल, जमिन, विद्युत् पर्याप्त र सहज भएकाले सुरुङमार्ग निर्माणपछि नुवाकोटको आर्थिक कायापलट हुनेसमेत उहाँले बताउनुभएको छ ।

सरकारले आगामी वर्षको बजेटबाट रु. एक अर्ब २५ करोड गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका लागि विनियोजन गरेको छ । निर्माण सुरु भएको ११ वर्षमा बल्ल ४८ प्रतिशत निर्माण पूरा भएको छ । निर्माणलाई तीन खण्डमा विभाजन गरी सुरु भएको योजनाको काम पहिलो खण्डको मात्र लगभग ८२ प्रतिशत सम्पन्न भएको छ । पहिलो खण्ड गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर, तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढी १७ किलोमिटर गरी जम्मा ८२ किलोमिटर छ । आव २०७२/०७३ मा निर्माण सुरु गरिएको सडक निर्माणमा पटकपटकको अवरोधले काम अगाडि बढ्न सकेन । सो खण्डमा ठेकेदारले ४६ किलोमिटर निर्माण गर्नुपर्ने सम्झौता भएकामा ३८ किलोमिटर सम्पन्न गरेर विगत एक वर्षदेखि काम गर्ने क्षेत्र नहुँदा कार्यक्षेत्रमै यन्त्र उपकरण र कामदारसहित कुरिरहेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले राष्ट्रिय गौरवको योजनामा समावेश गरेर सुरु गरेको सो सडकका तीन खण्डमध्येको स्याफ्रुबेँसी–रसुवागढी खण्डको निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी गत कात्तिकदेखि कार्यक्षेत्रमा फर्किएको छ । दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी सडकमा निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएपछि अघिल्लो वर्ष प्रक्रिया पु¥याएर सम्झौता तोडी नयाँ ठेक्का लगाउने तयारी अगाडि बढाइए पनि बजेट सुनिश्चित नहुँदा बोलपत्र हुन सकिरहेको थिएन । आगामी वर्षको बजेटमा सो खण्डको टेन्डर हुने कार्यालयले जनाएको छ । तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढीको निर्माणको जिम्मा लिएको चिनियाँ चाइना तिब्बेत टिएनल कम्पनी लिमिटेडले विसं २०७६ असोजमा काम गर्ने भनेर शिलान्याससमेत गरे पनि चार महिना अगाडिदेखि मात्र कार्यक्षेत्र फर्किएर काम सुरु गरेको छ । सो खण्ड चीन सरकारले आफ्नै खर्चमा निर्माण गर्ने सम्झौता भएको छ । नेपाल सरकारले सडक क्षेत्र खाली गराउनुपर्ने तथा काम गर्नका लागि आवश्यक सहयोग तथा समन्वय गर्नुपर्ने सम्झौतामा उल्लेख भएको कार्यालयले बताएको छ ।

तत्कालीन भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबिच रसुवागढी केरुङबाट हुने आर्थिक गतिविधि तथा व्यापारिक कारोबारलाई छिटो, छरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर सडक विसं २०७३ कात्तिक ७ देखि निर्माण थालिएको थियो । आव २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने कुल ८२ किलोमिटर सडक १० वर्ष बितिसक्दा पनि लगभग ३८ किलोमिटर मात्र सम्पन्न भएको जानकारी कार्यालयले दिएको छ । यी सबै पहिलो खण्डको मात्र निर्माण सम्पन्न भएको हो । अरू दुई खण्डमध्ये दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसीको १९ किलोमिटरमा केही काम गरेर ठेकेदार बेपत्ता भएपछि निर्माण बन्द छ । त्यस्तै तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढीको १७ किलोमिटरको काम भर्खर सुरु भएको छ । पहिलो खण्ड विदुर नगरपालिकाको गँगटे–ढुङ्गेमा काम सुरु हुन लागेको छ । अदालतबाट यस क्षेत्रका घर–टहरा र उचित मुआब्जा दिनू भनी आदेश भए पनि चार सय ८० घरटहरा हटाउनुपर्नेमा अझै २० प्रतिशतको मुआब्जाको काम सुरु भएको छैन । गँगटे–ढुङ्गे खण्डमा विद्युत् तथा टेलिकमका खम्बा हटाउन, रूख काट्न, खानेपानीको पाइप व्यवस्थापन गर्न र ढलको काम सुरु नहुँदा सडक विस्तार अनिश्चित बनेको सडक सरोकार नागरिक समितिका इन्द्रबहादुर पण्डितले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

शरण उत्सुक