विदुर । विगत तीन वर्षको एसइईको तथ्याङ्कमा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले आफ्नो प्राज्ञिक गरिमालाई निरन्तर उचाइ दिइरहेको छ र समाजमा गुम्दै गएको सामुदायिक विद्यालयप्रतिको भरोसालाई कसरी फर्काउँदै छ भन्ने स्पष्ट हुन्छ । शैक्षिक सत्र २०८० मा कुल ५७ विद्यार्थी परीक्षामा सामेल भएकामा ग्रेडेड केवल ४०.३५ प्रतिशत मात्र थियो, जहाँ ३४ विद्यार्थीले ननग्रेडेड नतिजा व्यहोर्नुपरेको थियो । सो नतिजा विद्यालयका लागि एउटा गम्भीर आत्मसमीक्षाको मोड बन्यो । विद्यालयले आफ्नो शिक्षण पद्धतिमा व्यापक सुधार गर्यो । विसं २०७८ देखि लागू गरिएको पूर्ण निःशुल्क अङ्ग्रेजी माध्यमलाई तल्लो कक्षासम्मै सुदृढ बनाइयो । यसको सुखद परिणाम शैक्षिक सत्र २०८१ मा देखियो जहाँ कुल सहभागी ८९ मध्ये ८८.७६ प्रतिशत विद्यार्थी ग्रेडेड भए र एनजी सङ्ख्या १० मा झर्यो । सुधारको यो यात्रा यतिमा मात्र रोकिएन; शैक्षिक सत्र २०८२ को एसइईमा ९२ विद्यार्थी सम्मिलित भएकामा ९३.४८ प्रतिशत ग्रेडेड हुन सफल भई विद्यालयले जिल्लाभरिकै सामुदायिक विद्यालयको शिर ठाडो हुने गरी ऐतिहासिक नतिजा हासिल ग¥यो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउने विद्यार्थी एकबाट बढेर लगातार पाँचमा कायम रहनु र ३.२ देखि ३.६ जिपिए ल्याउनेको सङ्ख्या तीनबाट बढेर २७ सम्म पुग्नाले विद्यालयको शैक्षिक गुणस्तरको दिगो वृद्धिलाई प्रमाणित गर्छ ।
प्रधानाध्यापक राजेन्द्र दवाडीले आफूहरूले केवल भौतिक पूर्वाधार मात्र नबदली प्रत्येक विद्यार्थीको सिकाइस्तरलाई डिजिटल प्रविधि र नवीन शिक्षण विधिका माध्यमबाट ट्रयाक गरेर सामुदायिक शिक्षाको एउटा नयाँ राष्ट्रिय मानक स्थापित गर्न सफल भएको जिकिर गर्नुभयो । वि.सं. २००७ को राजनीतिक क्रान्ति र देशमा प्रजातन्त्रको उदयसँगै नुवाकोट र वरपरका क्षेत्र गहिरो शैक्षिक अन्धकारमा रुमल्लिरहेका वेला सोही वर्ष चैत ९ गते शिक्षासेवी चक्रमान शाक्यको अनवरत र अथक प्रयासमा विद्यालय स्थापना भएको हो । सुरुवाती दिनमा विद्यालयको आफ्नै भवन नभएकाले त्रिशूलीको किनार तथा स्थानीय बजारमा रहेका ६ पुराना पौवामा कक्षा सञ्चालन हुँदै आएको थियो । घाम लाग्दा तातिने र पानी पर्दा चुहिने तिनै पौवा देखेर स्थानीय मनकारी दाता तुलसीदास अमात्यले प्रदान गरेको जग्गामा ५३ फिट लामो बाँसको टहरा निर्माण गरी पठनपाठनलाई व्यवस्थित बनाइयो । वि.सं. २०१५ पुस ११ गते तत्कालीन राजा महेन्द्रबाट विद्यालय भवनको शिलान्यास भयो । विसं २०२२ मा सोही पक्की भवनको उद्घाटनपछि मात्र विद्यालयको भौतिक संरचनाको जग बलियो बनेको थियो । वि.सं. २०१७ असोज ९ गते तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीले ‘त्रिभुवन त्रिशूली मिडिल स्कुल’लाई ‘त्रिभुवन त्रिशूली हाइस्कुल’मा परिणत गर्नुभएको थियो ।
विसं २०२० मा कामकाजी प्रौढ तथा न्यून वैतनिक कर्मचारीको शैक्षिक योग्यता अभिवृद्धि र वृत्तिविकासमा सहयोग पु¥याउने उद्देश्यले रात्रिकालीन कक्षासमेत सञ्चालन गरियो । त्रिभुवन त्रिशूली व्यावसायिक माध्यमिक विद्यालयमा रूपान्तरण गरिएपछि यसले व्यावसायिक शिक्षाको जगलाई अझ फराकिलो र बलियो बनायो । शिक्षा क्षेत्रमा आएको नयाँ आयामलाई आत्मसात् गर्दै वि.सं. २०५० साउन २५ गते विद्यालयलाई ‘त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालय’मा परिणत गरियो । सोही वर्ष असोज २८ को उमा शिक्षा परिषद्को निर्णयअनुसार वाणिज्य विषय र विसं २०५२ असार २५ को निर्णयअनुसार शिक्षा विषयको कक्षा सञ्चालन गर्न अनुमति प्राप्त भयो । विद्यालयको प्राज्ञिक उचाइ तब अझ थपियो, जब विसं २०५५ असार २८ को उमाशिपको निर्णयअनुसार विज्ञान विषय थप गरियो । सोही सम्बन्धन र निरन्तरताको फलस्वरूप शैक्षिक सत्र २०६३ देखि पूर्ण रूपमा विज्ञान सङ्काय सञ्चालनमा ल्याइयो, जसले जिल्लामै पहिलो र एक मात्र विज्ञान विषय अध्यापन हुने विद्यालयका रूपमा स्थापित गरायो जुन पहिचान आजको दिनसम्म पनि अक्षुण्ण छ । आधुनिक युगको डिजिटल मागलाई सम्बोधन गर्दै शैक्षिक सत्र २०६६/०६७ देखि व्यवस्थापन सङ्कायअन्तर्गत ‘कम्प्युटर विज्ञान’ विषयको अध्यापन प्रारम्भ गरियो ।
विसं २०७३ मा नेपाल सरकार शिक्षा विभागद्वारा विद्यालयलाई ‘नमुना विद्यालय विकास योजना’मा छनोट गरेपछि नयाँ उत्साहका साथ कार्ययोजना अघि बढ्यो । विसं २०७४ देखि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी ६ सेमेस्टर प्रणालीको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ । समयको माग र अभिभावकको चाहनालाई सम्बोधन गर्दै विसं २०७८ देखि कक्षा १० सम्म पूर्ण रूपमा निःशुल्क अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिएको छ । समय बदलिँदै जाँदा र निजी विद्यालयको आकर्षण बढ्दो रूपमा देखिँदा ‘सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन’ भन्ने एक किसिमको सामाजिक भाष्य स्थापित भयो, जसको प्रत्यक्ष असर यस विद्यालयमा पनि प¥यो । त्यसमाथि विसं २०७२ को गोरखा भूकम्पले विद्यालयको ऐतिहासिक भौतिक संरचनालाई क्षतविक्षत बनाइदियो । नेपाल-भारत विकास सहकार्यअन्तर्गत आधुनिक एवम् प्रविधिमैत्री पूर्वाधार र एसियाली विकास बैंकका सहयोगमा नयाँ विद्यालय भवन तथा अत्याधुनिक प्रयोगशाला भवन निर्माण भयो । हाल कक्षा ६ देखि १२ सम्मको पठनपाठन तिनै सुविधायुक्त र सुरक्षित संरचनामा सञ्चालन भइरहेको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्म छुट्टै ब्लकमा कक्षा सञ्चालन भइरहेका छन् । प्रदेश सरकारका सहयोगमा दुईकोठे भवन निर्माण भए पनि विद्यार्थीको अत्यधिक चापलाई मध्यनजर गर्दै यस क्षेत्रमा थप भौतिक सुधार र कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता र चुनौती कायमै छ ।
एसइईको ढोका पार गरेपछि विद्यार्थी कुन बाटो रोज्ने भन्ने दोसाँधमा रहेका विद्यार्थीको फरक-फरक करियर लक्ष्यलाई सम्बोधन गर्न विविध र विशिष्टीकृत विषय समूह सञ्चालनमा ल्याएको छ । विज्ञान समूहअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान र कम्प्युटर विज्ञान पढाइन्छ जसले भविष्यमा मेडिसिन, इन्जिनियरिङ, बिएस्सी नर्सिङ वा आइटी क्षेत्रमा जान चाहने विद्यार्थीलाई आफ्नै जिल्लामा सस्तो र गुणस्तरीय आधार प्रदान गर्छ । व्यवस्थापन समूहमा होटेल व्यवस्थापन, कम्प्युटर विज्ञान र बिजनेस स्टडिजसहितको विधा आधुनिक बैंकिङ, उद्यमशीलता र आतिथ्य क्षेत्रमा भविष्य खोज्नेका लागि उपयुक्त छ । शिक्षा समूह अनिवार्य तथा ऐच्छिक अङ्ग्रेजी, नेपाली र गणित विषयसहित देशको शिक्षा प्रशासन र शिक्षण पेसामा लाग्न चाहनेका लागि केन्द्रित छ भने प्राविधिकधारतर्फ ६ सेमेस्टर प्रणालीको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ, जसले तत्कालै बजारमा बिक्ने जनशक्ति तयार गरिरहेको छ ।
सूचना प्रविधियुक्त कक्षाकोठामा राखिएका ‘स्मार्ट बोर्ड’ तथा शिक्षक र विद्यार्थीका लागि ‘डिजिटल हाजिरी’को व्यवस्थाले विद्यालयलाई आधुनिक बनाएको छ । यहाँ ‘स्मार्ट आइडी कार्ड’मार्फत विद्यार्थी स्कुलभित्र प्रवेश गरेको वा बाहिरिएको जानकारी अभिभावकले घरमै बसेर मोबाइलमा पाउने ‘स्टुडेन्ट ट्रयाकिङ सिस्टम’ र सम्पूर्ण विद्यालय परिसरमा सिसिटिभी क्यामेराको २४सै घण्टा निगरानीको व्यवस्था छ । विज्ञानका विद्यार्थीका लागि अत्याधुनिक फिजिक्स, केमेस्ट्री र बायोलोजी ल्याब मात्र होइन, कम्प्युटर विज्ञानका लागि अलग्गै ल्याब र अनलाइन सामग्रीका लागि सुविधासम्पन्न इ-लाइब्रेरीको व्यवस्था छ । होटेल व्यवस्थापन पढ्नेका लागि व्यावसायिक किचेनसहितको आधुनिक ‘हस्पिटालिटी ल्याब’ र टाढाबाट आउने विद्यार्थीका लागि आफ्नै ‘स्कुल बस’को सुविधा छ । त्यस्तै ‘हरित विद्यालय’को अवधारणाअनुरूप आकर्षक बगैँचा निर्माण गरिएको छ ।
विद्यालयको इतिहासको सबैभन्दा स्वर्णिम र मानवीय पक्ष यसको ‘महिला फिडर छात्रावास’ हो । विसं २०३८ मा स्थापित सो छात्रावासले समग्र ‘पश्चिम १ नम्बर’ क्षेत्रकै महिला शिक्षाको जग बलियो बनाउन ऐतिहासिक भूमिका खेलेको छ । दुर्गम गाउँका छात्रा सहर वा सदरमुकाम बसेर पढ्न सक्ने आर्थिक र सामाजिक अवस्था नभएको त्यस जमानामा यस छात्रावासले तिनलाई सुरक्षा र शिक्षा दुवै दियो । आज पनि सो परम्परा अझ परिष्कृत रूपमा जीवित छ । हाल नुवाकोट, रसुवा र धादिङ जिल्लाबाट छनोट भएका विज्ञान विषय अध्ययन गर्ने विपन्न तथा जेहेनदार छात्राका लागि पूर्ण रूपमा निःशुल्क खाना, खाजा र आवाससहित छात्रावासमा ३० छात्रा अध्ययनरत छन् । यसले लैङ्गिक समता र दुर्गमका प्रतिभालाई विज्ञान शिक्षामा ल्याउन ठुलो गुन लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट ‘विज्ञान प्रवद्र्धन कार्यक्रम’का लागि छनोट भएपश्चात् विद्यालयले वैज्ञानिक र प्रयोगात्मक शैक्षिक गतिविधिलाई तीव्र बनाएको छ । सिभिल इन्जिनियरिङ र होटेल व्यवस्थापनजस्ता व्यावसायिक विधाको सञ्चालनले विद्यालय अब परम्परागत साधारण शिक्षाबाट देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक र सिपयुक्त जनशक्ति उत्पादन गर्नेतर्फ रूपान्तरित हुँदै गइरहेको सङ्केत गर्छ ।
यसै शैक्षिक सत्रदेखि विद्यालयलाई समग्र मुलुककै एक अग्रणी र नमुना शैक्षिक केन्द्र तथा ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउन एउटा महत्त्वाकाङ्क्षी र नवप्रवर्तनात्मक रणनीतिक कार्ययोजना अघि सारिएको छ । यसअन्तर्गत अत्याधुनिक ‘नवाचार प्रयोगशाला’ स्थापना र ‘स्मार्ट क्लास’ सुदृढीकरण गर्दै शिक्षण सिकाइलाई केवल सैद्धान्तिक नबनाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाइनेछ । विद्यार्थीको वैज्ञानिक चेतना र नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘विज्ञान प्रदर्शनी तथा आविष्कार मेला’ आयोजना गरिनेछ । कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न नियमित कक्षाका साथै राष्ट्रियस्तरका प्रवेश परीक्षा तयारी कक्षा विद्यालयकै कार्यतालिकामा एकीकृत गरी सञ्चालन गरिएको छ । स्थायी ‘करिअर काउन्सिलिङ सेल’ स्थापना गरी विद्यार्थीलाई क्षमता पहिचान, वृत्ति विकास र विभिन्न छात्रवृत्तिका अवसरबारे निरन्तर परामर्श दिइएको छ ।
होटेल व्यवस्थापनका विद्यार्थीको प्रयोगात्मक सिप तिखार्न विद्यालयभित्रै ‘मिनी-होटल/क्याफे’का रूपमा नियमित अभ्यास गराइनेछ भने ब्यारिस्टा र बेकरीसम्बन्धी थप सिपमूलक तालिम प्रदान गरिएको छ । कम्प्युटर विज्ञानका विद्यार्थीलाई बजारको मागअनुसार प्रोग्रामिङ, कोडिङ र सफ्टवेयर विकासको व्यावहारिक तालिम प्रदान गरिनेछ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूप दिन विज्ञान, इन्जिनियरिङ र होटेल व्यवस्थापनका विद्यार्थीलाई जलविद्युत् आयोजना, वैज्ञानिक अनुसन्धान केन्द्र र प्रसिद्ध हस्पिटालिटी हबमा अनिवार्य औद्योगिक अवलोकन तथा स्थलगत अध्ययन भ्रमणको व्यवस्था गरिने छ । विद्यालयको सम्पूर्ण प्रशासन, आर्थिक पारदर्शिता, विद्यार्थीको दैनिक हाजिरी र परीक्षाको नतिजा विश्लेषणलाई एकीकृत डिजिटल एपमार्फत अभिभावकको मोबाइलसम्म प्रत्यक्ष पहुँच पुर्याइनेछ । विद्यार्थीको वैयक्तिक सिकाइस्तर पहिचान गरी उपचारात्मक कक्षा, साप्ताहिक परीक्षण र तथ्यमा आधारित नतिजा विश्लेषण पद्धति लागू गरिएको छ । जेहेनदार, पिछडिएका, विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना र ‘मेधावी प्रोत्साहन’ कार्यक्रम लागू गरी शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरिएको छ । देशविदेशमा विभिन्न क्षेत्रमा स्थापित पूर्वविद्यार्थीलाई वर्तमान विद्यार्थीको वृत्ति विकास, मेन्टरसिप र जेहेनदार छात्रवृत्ति कोष स्थापनामा सक्रिय रूपमा आबद्ध गराइने छ ।
विद्यार्थीको संवेगात्मक सुस्वास्थ्यलाई मध्यनजर गर्दै परीक्षाको तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र किशोरकिशोरीका समस्या समाधानका लागि विद्यालयमा नियमित ‘मनोसामाजिक परामर्श सेवा’ व्यवस्था गरेको छ । विद्यालयको ऐतिहासिक विरासतलाई जीवन्त राख्न विगतमा प्रयोग भएका ऐतिहासिक शिक्षण सामग्री र नुवाकोटको रैथाने कला, संस्कृति एवम् परम्परागत कृषि औजार समेटेर विद्यालयपरिसरमा ‘शैक्षिक तथा स्थानीय सम्पदा सङ्ग्रहालय’ स्थापना गर्ने योजना बनाएको छ । पुरानो बगैँचालाई परिमार्जन गरी वैज्ञानिक वर्गीकरणसहितको ‘बोटानिकल गार्डेन’मा रूपान्तरण गरिएको छ जहाँ प्रत्येक वनस्पतिको वैज्ञानिक परिचय र उपयोगिता समेटिएको ‘क्युआर कोड’ प्रविधिसमेत जडान गर्ने योजना विद्यालयको छ । खेलमैदानको आधुनिक स्तरोन्नति गर्दै व्यावसायिक खेल प्रशिक्षकमार्फत नियमित प्रशिक्षणको व्यवस्था गरी विद्यालयभित्रै ‘त्रिशूली स्पोर्टस् लिग’ सुरुआत भइरहेको छ । व्यवस्थापनका विद्यार्थीका लागि बैंकिङ प्रणाली, डिजिटल भुक्तानी र वित्तीय व्यवस्थापनको व्यावहारिक ज्ञान दिन स्थानीय बैंकसँग सहकार्य गरिएको छ । छात्राको आत्मविश्वास र सुरक्षाका लागि ‘आत्मरक्षा तालिम’ सुरुआत गरिएको छ । प्रत्येक विद्यार्थीको शैक्षिक नतिजा, खेलकुद र प्रयोगात्मक परियोजना समेटेर ‘विद्यार्थी पोर्टफोलियो’ तयार गरिन्छ जसले उनीहरूलाई उच्च शिक्षा र रोजगारी प्राप्त गर्न आधुनिक बायोडाटाका रूपमा काम गर्नेछ । ‘हामी विद्यालयलाई केवल परीक्षा पास गराउने संस्थाका रूपमा होइन, जीवनका लागि सक्षम नागरिक तयार गर्ने सिकाइ केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ । पछिल्ला वर्षमा प्राप्त शैक्षिक उपलब्धि हाम्रो गन्तव्य होइन, यात्राको सुरुआत मात्र हो । अब हाम्रो लक्ष्य प्रत्येक विद्यार्थीलाई विज्ञान, प्रविधि, सिप, चरित्र र सामाजिक उत्तरदायित्वसँग जोड्दै त्रिभुवन त्रिशूली माविलाई सामुदायिक शिक्षाको सामुदायिक शिक्षाको राष्ट्रिय गौरव र ‘सेन्टर अफ एक्सेलेन्स’ का रूपमा स्थापित गर्नु हो,’ प्रधानाध्यापक दवाडीले भन्नुभयो ।
प्राथमिक ब्लकमा रहेको विद्यार्थीको अत्यधिक चाप र कक्षाकोठा व्यवस्थापनका लागि थप भौतिक पूर्वाधारको तत्कालै व्यवस्था, प्राविधिक र नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्न शिक्षकको निरन्तर पेसागत विकास र बाह्यविज्ञको दिगो रूपमा व्यवस्थापन तथा सामुदायिक विद्यालयप्रतिको परम्परागत सामाजिक धारणालाई पूर्ण रूपमा बदल्न विद्यालयले आफ्नो डिजिटल र गुणात्मक फड्कोलाई समुदायसम्म निरन्तर बुझाउनुपर्ने चुनौती रहेको पूर्वप्रावि शिक्षक सूर्यकुमार श्रेष्ठले बताउनुभयो । निजी शैक्षिक संस्थाको आक्रामक बजार र ‘सामुदायिक विद्यालयमा गुणस्तर हुन्न’ भन्ने सतही सामाजिक भाष्यलाई गणितीय रूपमै चुनौती दिँदै विद्यालयले विगत तीन वर्षमा आफ्नो एसइई नतिजालाई ४०.३५ प्रतिशतको नाजुक अवस्थाबाट उठाएर ९३.४८ प्रतिशतको उचाइमा पुर्याउनाले यसको आन्तरिक व्यवस्थापन, शिक्षकको पेसागत निष्ठा र विद्यार्थीको अथक मिहिनेतलाई निर्विवाद रूपमा प्रमाणित गरिदिएको छ । यो गणितीय फड्कोले अभिभावकमा आफ्नो सन्तानको भविष्य सामुदायिक विद्यालयको काखमा पनि सुरक्षित र उज्यालो छ भन्ने अकाट्य भरोसा पुनस्र्थापित गराएको विद्यालय रहेको विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताउनुभयो ।
विद्यालयका पूर्वप्रधानाध्यापक दिव्यराज शाक्यले भन्नुभयो, ‘विसं २०३८ देखि निरन्तर सञ्चालित ‘महिला फिडर छात्रावास’ले केवल छात्रालाई आवास मात्र दिएको छैन, बरु दुर्गम र पिछडिएका भूगोलका छोरीहरूलाई विज्ञान, इन्जिनियरिङ र व्यवस्थापनजस्ता आधुनिक विधामा स्थापित गराएर महिला सशक्तीकरणको एउटा ऐतिहासिक कीर्तिमान खडा गरिरहेको छ ।’ शिक्षालाई केवल पाठ्यपुस्तक र प्रमाणपत्रमा मात्र सीमित नराखी ६ सेमेस्टर प्रणालीको सिभिल इन्जिनियरिङ र बजारमुखी होटेल व्यवस्थापनमार्फत सिप, रोजगारी र उद्यमशीलतासँग जोड्ने विद्यालयको यो नीति वर्तमान राज्यकै राष्ट्रिय शैक्षिक शिक्षा नीतिका लागि समेत एउटा जीवन्त र अनुकरणीय बनेको छ ।







प्रतिक्रिया