गेर्खुटार । नेपाली सेनाको शीघ्र प्रभावी आयोजनाअन्तर्गत नुवाकोटमा तैनाथ शेर गणको जिम्मेवारी क्षेत्र विदुर-१० स्थित शुभघाट-गेर्खुटारसम्मको एकीकरण पदमार्ग स्तरोन्नति तथा तिन सय मिटर गोरेटो बाटामा सिँढी निर्माण भएको छ । स्तरोन्नति भएको सिँढीको मङ्गलबार श्री नं ६ बाहिनी अड्डा धादिङ बैरेनीका बाहिनीपति उज्ज्वल राणा तथा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपश्चात् बाहिनीपति राणाले नगर प्रमुख श्रेष्ठलाई सिँढी निर्मित गोरेटोबाटो हस्तान्तरण गर्नुभएको थियो । एकीकरण पदमार्गको विदुर क्षेत्रमा पर्ने गोरेटो बाटाको स्तरोन्नति, सञ्चालन, प्रवद्र्धन र संरक्षणमा नगरपालिका लागिरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले हस्तान्तरण भएको गोरेटोबाटालाई स्थानीयवासीका सहयोगमा थप व्यवस्थित गरी चहलपहल बढाइने योजना सुनाउनुभयो । शुभघाट-गेर्खुटारसम्मको पदमार्ग स्तरोन्नति गत फागुन १३ गते सुरू भई यही जेठ मसान्तसम्म सम्पन्न गरिने छ । कुल लागत रू आठ लाख ९५ हजार चार सय ११ रहेको शेर गणका प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो । नेपाल एकीकरण अभियानसँग प्रत्यक्ष रूपमा सम्बन्धित तथा ऐतिहासिक महत्त्व बोकेको गोर्खा-काठमाडौँ एकीकरण पदमार्गअन्तर्गत नुवाकोट जिल्लामा भ¥याङ्गभुरूङ्गदेखि शुभघाट, साततले दरबार हुँदै ककनी रानीपौवासम्म ४३ किलोमिटर जोडिएको छ ।

उक्त पदमार्गअन्तर्गत पर्ने शुभघाट-गेर्खुटार खण्ड नेपाल एकीकरण अभियानको महत्त्वपूर्ण घटनासँग जोडिएको हुनाले यसको विशेष ऐतिहासिक महत्त्व छ । स्थानीयवासी, इतिहासविद् एवं पूर्वप्रशासक रेशमबहादुर पाण्डेका अनुसार नुवाकोट विजय अभियानका क्रममा पृथ्वीनारायण शाह आफ्ना सैनिक दलसहित शुभघाट क्षेत्रमा आई एकत्रित हुनुभएको थियो । त्यसपश्चात् स्थानीय जलुवा माझीका सहयोगमा डुङ्गाद्वारा त्रिशूली नदी पार गरी गोर्खाली सेना योजनाबद्ध रूपमा तिन दिशाबाट नुवाकोटमाथि आक्रमण गर्न सफल भई विजयी भएको थियो । उक्त अभियान नेपाल एकीकरण यात्राको एक महत्त्वपूर्ण तथा निर्णायक अध्यायका रूपमा स्मरण गरिन्छ ।

सहायकरथी राणाले यस्ता शीघ्र प्रभावी आयोजनाले नेपाल एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा तथा पदमार्गको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउनाका साथै राष्ट्र निर्माणको गौरवपूर्ण इतिहासको जगेर्ना, पर्यटन विकास तथा नागरिक-सैनिक सम्बन्ध सुदृढीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा नुवाकोटका प्रमख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख कमलप्रसाद भट्टराई, विदुर-१० का वडाध्यक्ष गणेश नेपाल, स्थानीय इतिहासविद्, समाजसेवी, बुद्धिजीवी र बासिन्दाको उपस्थिति थियो ।






प्रतिक्रिया