+
Search

ताजा अपडेट +

पपुलर +

सवा २२ करोडको लगानीमा निर्मित जिससको सभाकक्ष प्रयोगविहीन

सवा २२ करोडको लगानीमा निर्मित जिससको सभाकक्ष प्रयोगविहीन
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

विदुर । जिल्लामा सरकारी, गैरसरकारी र उद्योगी-व्यवसायीले सभा, गोष्ठी, सेमिनारलगायतको कार्यक्रम गर्नुपर्दा होटेल तथा पार्टी प्यालेस खोज्नुपर्ने अवस्था नुवाकोटमा रहेको भए पनि करोडौँ रुपैयाँको लागतमा बनेको विदुर सभाहल तीन वर्षदेखि प्रयोगविहीन भइरहेको छ । सभाहल निर्माण भएर जिल्ला समन्वय समिति नुवाकोटलाई सञ्चालन कार्यविधि नै नबनाई सघन सहरी तथा भवन निर्माण आयोजनाले तीन वर्षअगाडि हस्तान्तरण गरेपछि अहिले सभाहल भवन प्रयोगविहीन भएको हो । विदुर-४, तल्लो विदुरमा पुरानो जिल्ला विकास समितिपरिसरमा निर्माण सम्पन्न भएको सभाहल भवन विसं २०७८ मा निर्माण भए पनि एक वर्षपछि जिल्ला समन्वय समितिलाई २०७९ मा हस्तान्तरण गरिएको थियो ।

विसं२०७९ चैतमा जिल्ला समन्वय समिति नुवाकोटको छैटौँ जिल्ला सभामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् तत्कालीन प्रतिनिधिसभा क्षेत्र नं १ नुवाकोटका सङ्घीय सांसद हितबहादुर तामाङको उपस्थितिमा जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलाई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख सुनीलकुमार ठाकुरले सभाहल सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पञ्चायतकालमा बनेको उक्त सभाहल विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण गरिएको हो । सभाहलभित्र तीन सय ५८ सिट रहेको छ । भवनमा एउटा ठुलो र अर्को सानो हल रहेको छ । सभाहलमा साना २६ वटा गाडीका लागि अन्डरग्राउन्ड पार्किङ गर्न पुग्छ भने सभाहलको बाहिरपट्टि गार्डहाउस, स्टोररुम, क्यान्टिन, गेस्टरुम, फायर फाइटिङ रुम र पम्पहाउस रहेका छन् । ठुलो हलको भुइँमा राखिएका सिट एकनासले राखिएकाले मञ्चमा कार्यक्रम हुँदा अगाडि सिटमा बसेकाले पछिल्लो सिटमा बस्नेलाई छेकिने समस्या रहेको छ । सभाहलको बाहिर घेरावाल पर्खालको पूर्वी भागमा तारले घेर्न बाँकी छ । हलको साउन्डसिस्टम भए पनि त्यसलाई सञ्चालन गर्न तालिमप्राप्त टेक्निसियन आवश्यक रहेको जिल्ला समन्वय समिति नुवाकोटले जनाएको छ ।

Star Nuwakot Hospital

यसअघि हल हस्तान्तरण नहुँदै सञ्चालनमा ल्याइएकाले बिजुलीको महसुल धेरै उठेको छ । बिजुलीको बिलको भुक्तानी कसले गर्ने भन्नेमा अन्योल भएपछि जिससले हल जिम्मा लिन मानेको थिएन । उक्त भवन लुम्बिनी/कोशी एन्ड न्यौपाने/बन्दन भगवती जेभी काठमाडौँले निर्माण गरेको हो । भवन विसं २०७४ असार २० गते निर्माण ठेक्का भई कोरोनाका कारण म्याद थपपछि २०७८ साउन १९ गते सभाहल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयलाई बुझाएको थियो । यसको लागत रु.२४ करोड ९५ लाख एक सय ३३ मा भए पनि ठेकेदारले रु.२२ करोड १९ लाख सात हजार आठ सय ८२ मूल्य अभिवृद्धि करबाहेक ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको आयोजनाले जनाएको छ । सभाहल सञ्चालनको कार्यविधि सहरी विकास मन्त्रालयले बनाएर नदिएकाले हल सञ्चालनमा आएको छैन । कार्यविधि नहुँदा बत्ती, पानी, नियमित सरसफाइ तथा मर्मत, सुरक्षा, प्राविधिक व्यवस्थापन नहुँदा बजेट कसरी व्यवस्थापन गर्ने भन्नेमा अन्योल भएको छ । कार्यविधि जिल्ला समन्वयलाई बनाउने अधिकार नभएकाले हलको भाडा तोक्ने, सरसफाइ गराउने र प्राविधिक तथा सुरक्षाका लागि कर्मचारी व्यवस्थापन गर्न नसकेको जिसस प्रमुख ठकुरीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । सभाहल सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । सभाहलको करिब ६ रोपनी जग्गा जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा दर्ता छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह