बट्टार । रसुवा, नुवाकोट र धादिङकै पुरानो ऐतिहासिक, अब्बल र गौरवमय उच्च शैक्षिक धरोहर नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट तीन दशकमा करिब सात हजार विद्यार्थी दीक्षित भइसकेका छन् । मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तथा कक्षा ११ र १२ स्नातक, स्नातकोत्तर तहमा गरी करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत क्याम्पसमा करिब सात हजार विद्यार्थी ग्य्राजुएट हासिल गरी देश तथा विदेशका रोजगारीमा रहेको क्याम्पस प्रमुख गोविन्द लिम्बूले जानकारी दिनुभयो ।


यसैबिच, विसं २०४२ मा स्थापित क्याम्पसको नयाँ शैक्षिक भवनको शिलान्यास तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । क्याम्पस स्थापनाकालमा अतुलनीय योगदान पुर्याउने संस्थापक तथा पूर्वाध्यक्ष विष्णुबहादुर आचार्यको स्मृतिमा छात्रवृत्ति वितरण र क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि सातकोठे नयाँ भवनको शिलान्यास भएको छ । दुवै कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले शिक्षाको गुणस्तर सुधार र समृद्ध समाज निर्माणको मार्गप्रशस्त गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्याम्पसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर देशका विभिन्न उच्च ओहोदामा पुर्याएको छ । आज हामी जुन स्थानमा छौँ, यो उपलब्धि हाम्रा अग्रजको पसिना, त्याग, लगनशीलता र दूरदर्शिताले मात्र सम्भव भएको हो ।’
कार्यक्रममा संस्थापक शिवप्रसाद गजुरेल, क्याम्पस प्रमुख लिम्बू, सञ्चालक समितिका सदस्य ध्रुुव ढकाल, रामहरि घिमिरे, प्रकाशचन्द्र ढुङ्गाना, विन्दा अर्याल, छत्रराज डङ्गोल, पूर्वक्याम्पस प्रमुख नारायणमान डङ्गोललगायतले आचार्यको योगदानको चर्चा गर्दै क्याम्पस स्थापनाकालदेखि हालसम्म भएका आरोह-अवरोह स्मरण गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले विषय, नयाँ कार्यक्रम तथा अनुदान थप वृद्धिका लागि समेत गुणवत्ता सुनिश्चितता प्रत्यायन अन्तिम चरणमा रहेकाले सोका लागि आवश्यक कार्य निकट भविष्यमा नै सम्पन्न गर्ने गरी अघि बढिने बताउनुभयो । कार्यक्रममा २७ विद्यार्थीलाई रु.दुई लाख १३ हजार सात सय छात्रवृत्ति वितरण गरिएको थियो । क्याम्पसले कक्षा ११ मा यसै शैक्षिक सत्रदेखि होटेल म्यानेजमेन्ट विषय सञ्चालनको तयारी गरिरहेको छ । स्नातक तहमा बिएड आइसिटी, बिबिएलगायत नयाँ विषय थप गर्ने प्रक्रिया चल्दै छ ।






प्रतिक्रिया