विदुर । विदुर नगरपालिकाको स्वास्थ्योपचारमा सहजता ल्याउने उद्देश्यले त्रिशूली अस्पताललाई रेबिजविरुद्धको खोप हस्तान्तरण गरिएको छ । अत्यावश्यक रहेको सो रोगविरुद्धको ‘एन्टी-रेबिज भ्याक्सिन’ नगरपालिकाले अस्पताललाई प्रदान गरेको हो ।
नगरप्रमुख राजनलाल श्रेष्ठले तत्कालका लागि २० भाइल खोप अस्पतालका निर्देशक डा.राजेन्द्र लामालाई हस्तान्तरण गर्दै मानव स्वास्थ्य सेवामा भ्याक्सिन महत्त्वपूर्ण रहेका कारण एउटा चरणस्वरूप खोप हस्तान्तरण गरिएको बताउनुभयो । चालू आवमा नगरपालिकाले यससहित ६ सय भाइल खोप अस्पतालका लागि उपलब्ध गराइसकेको छ । नगरपालिकाले उपलब्ध गराएको खोपसँगै अस्पतालबाट खोप सेवा नियमित सञ्चालनमा सहयोग पुगेको अस्पतालका निर्देशक डा. लामाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । जनावरले टोकेपछि समयमै खोप लगाइएमा रेबिजबाट ज्यान जोगाउन सकिने र आकस्मिक अवस्थामा तुरुन्त उपचार सम्भव हुने बताइएको छ ।

समुदायमा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ उक्त भ्याक्सिन हस्तान्तरण गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । रेबिज सङ्क्रमण भइसकेपछि उपचार सम्भव नहुने भएकाले समयमै खोप नै जीवनरक्षक उपाय भएकाले उक्त कार्यले आपत्कालीन स्वास्थ्य सेवामा थप सहजता, प्रभावकारिता र जनस्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा अस्पताल रहेको विदुर-९ का वडाध्यक्ष हरिराम भण्डारी, नगरपालिका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी, अस्पतालका लेखा अधिकृत खडानन्द घिमिरेलगायतको सहभागिता थियो ।






प्रतिक्रिया