धुन्चे । स्याफ्रुबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ज ४८०७ नम्बरको भाडाको सुमो चेकजाँच गर्ने क्रममा हुन्डी कारोबारको आरोपमा रु. साढे १९ लाखसहित रसुवाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईँकुण्ड-३ का ३५ वर्षीय मिङमारछिरिङ गुरुङ रहेका छन् ।
धुन्चेस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले पासाङल्हामु राजमार्ग सडकखण्डमा चल्ने सवारीसाधन तथा मानिसलाई रोकी चेकजाँच गर्ने क्रममा धुन्चेबजारबाट गुरुङ पक्राउ परेका हुन् । उहाँले बोकेको झोलाभित्र रु.एक हजार दरका नोट एक हजार आठ सय ४५ थान (रु.१८ लाख ४५ हजार), रु.पाँच सय दरका नोट दुई सय १३ थान (रु.एक लाख ६ हजार पाँच सय) र रु. एक सय दरका नोट ६ थान (६ सय) गरी जम्मा रु.१९ लाख ५२ हजार एक सय फेला परेको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । प्रहरीले गुरुङमाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।







प्रतिक्रिया