सुइरेचौर । सम्पादक समाज नेपालको आयोजनामा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो जर्नालिस्टका लागि प्राथमिक उपचारसम्बन्धी दुईदिने तालिम शिवपुरी–७, सुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा गत आइतबार सम्पन्न भएको छ । तालिममा १० जनाको सहभागिता रहेको थियो ।
तालिममा आन्दोलन, दुर्घटना तथा प्राकृतिक विपत्का घटनास्थलमा तस्बिर खिच्ने क्रममा घाइते हुन सक्ने तस्बिर पत्रकार र उनीहरूका सहकर्मीलाई आवश्यक प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । समाजका महासचिव श्याम डोटेलले आन्दोलन तथा दङ्गाका वेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मी घाइते हुने अनुभवका आधारमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फिल्डमा सँगै खटिएका फोटो जर्नालिस्टले सहकर्मीलाई आकस्मिक चोटपटक लागेमा तत्काल प्राथमिक उपचार प्रदान गर्न सकून् र अस्पताल पुग्दासम्म घाइतेको अवस्था थप जटिल हुन नपाओस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । फोटो पत्रकार शम्भु दंगालले फोटो पत्रकार सधैँ फ्रन्टलाइनमा खटिनुपर्ने भएकाले यस्तो तालिम अत्यन्त उपयोगी रहेको बताउनुभयो ।

समापन कार्यक्रममा उपस्थित शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले देख्दा सामान्य, तर जीवनका लागि प्राथमिक उपचार तालिम अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले विश्वमै जोखिमपूर्ण पेसामध्येमा फोटो पत्रकारिता अग्रपङ्क्तिमा आउने चर्चा गर्दै जीवनको सुरक्षा नभई पेसालाई समृद्ध बनाउन नसकिने बताउनुभयो । तालिममा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो । शिवपुरी गाउँपालिकाका प्रवक्ता चन्द्र गुरुङ, सम्पादक समाजका संरक्षक किरण वैद्य, रेडक्रस काठमाडौँ शाखा सदस्य नवराज काफ्लेलगायतको उपस्थिति थियो । रेडक्रसका प्रशिक्षक अमृता रिजाल र कृष्णप्रसाद अधिकारीले तालिमको सहजीकरण गर्नुभएको थियो ।






प्रतिक्रिया