धुन्चे । आमाछोदिङ्मो–४, गोल्जुङलाई विश्व वातावरण दिवस २०८३ को अवसरमा आइतबार प्लास्टिकमुक्त घोषणा गरिएको छ । रसुवा जिल्लाका पाँच पालिकाका २७ वडामध्ये आमाछोदिङ्मो–४ जिल्लाकै पहिलो प्लास्टिकमुक्त वडा बनेको छ । ‘प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि’ भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेले वडालाई औपचारिक रूपमा प्लास्टिकमुक्त घोषणा गर्नुभएको थियो । डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा आमाछोदिङ्मा–४, गोलजुङले समन्वय गरेको कार्यक्रममा प्लास्टिकमुक्त घोषणा गरिएको हो ।


प्रदेश सभा सदस्य गोतामेले सो कार्यक्रमलाई सम्बोधन गर्दै प्लास्टिकमुक्त वडा घोषणा मात्र पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समुदायले दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउन सके मात्र यसको वास्तविक सार्थकता पुष्टि हुनेछ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणका लागि व्यावहारिक परिवर्तन आवश्यक रहेको बताउनुभयो । वातावरण संरक्षण तथा वातावरणमैत्री विकासका कार्यक्रमलाई निरन्तरता दिँदै प्लास्टिकको प्रयोग क्रमशः कम गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सभ्य समाज निर्माणका लागि स्वच्छ वातावरण र सरसफाइ अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्लास्टिकमुक्त घोषणा मात्र गरेर नपुग्ने, प्लास्टिकको प्रयोग कम गर्न, फोहोरको उचित व्यवस्थापन गर्न तथा सफा र स्वस्थ वातावरण निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक छ ।’ आमाछोदिङ्मो–४ का अध्यक्ष धर्म तामाङले प्लास्टिकमुक्त वडा घोषणापछि यसको प्रभावकारी कार्यान्वयनमा सबै स्थानीयवासी लाग्नुपर्ने बताउनुभयो । उहाँले समुदायले व्यवहार परिवर्तन गरी प्लास्टिकका झोलाको सट्टा वैकल्पिक झोला प्रयोग गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अवसरमा सरसफाइ व्यवस्थापनका लागि विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको थियो भने प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न स्थानीयलाई वैकल्पिक झोलासमेत वितरण गरिएको थियो ।






प्रतिक्रिया