+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारी समाजको निःशुल्क स्वास्थ्य शिविरमा चार सयलाई सेवा

कर्मचारी समाजको निःशुल्क स्वास्थ्य शिविरमा चार सयलाई सेवा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काहुले । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले किस्पाङ गाउँपालिका नुवाकोटका सहकार्यमा शनिबार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा चार सय ६ जनाले सेवा पाएका छन् । किस्पाङ–३, काहुले स्वास्थ्यचौकीमा सम्पन्न शिविरमा शल्यचिकित्सा, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा दिइएको थियो । त्यसमध्ये एक सय ५२ जनाको भिडियो एक्सरे गरिएको जानकारी किस्पाङ–५ का वडाध्यक्ष प्रकाश डिमडुङले दिनुभयो ।

Star Nuwakot Hospital

प्रयोगशाला, इसिजी, माइनर ओटी, मोतियाविन्दुलगायत जटिल रोगको निःशुल्क उपचार तथा औषधि र चस्मा वितरण गरिएको शिविरमा ६६ जनाको दृष्टि तीक्ष्णता जाँच गर्दा तीनजनामा आँखाको अर्बुदरोगको खतरा देखिएकाले थप उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरिएको शिविरका संयोजक एवम् समाजका सहसचिव विनोद न्यौपानेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । समाजका संस्थापक अध्यक्ष डा.केदारनरसिंह केसीले एक सय एक वर्षीय नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । समाजका अध्यक्ष उदयबहादुर राना मगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकले सक्दो भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । शिविरका लागि आवश्यक औषधि अध्यक्ष मगरका पहलमा लोमस फर्मास्युटिकल लाजिम्पाट र संस्थाका उपाध्यक्ष सन्तु श्रेष्ठको पहलमा काठमाडौँ महानगरपालिकाले सहयोग गरेका थिए । त्यसैगरी सचिव राजु प्याकुरेल, स्वास्थ्य सेवा विभाग, जिल्ला औषधि व्यवसाय सङ्घका अध्यक्ष टलकमान श्रेष्ठ, त्रिशूली अस्पताल, किस्पाङ गाउँपालिका र संस्था कोषाध्यक्ष कृष्णराज खतिवडाको पहलमा औषधि सङ्कलन तथा नपुग औषधि संस्थाले खरिद गरेको थियो ।

शिविरका लागि किस्पाङ गाउँपालिका कार्यालयको स्वास्थ्य शाखा, स्वयम्सेवीका रूपमा त्रिशूली अस्पतालका प्रमुख डा.राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा.आशिष दाहाललगायतले सहयोग गरेको आयोजकले जनाएको छ । शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह