विदुर । रसुवा र नुवाकोटको सिमाना भएर बग्ने फँलाखु खोलामा निर्माण हुन लागेको फँलाखु खोला जलविद्युत् आयोजनामा एनआइसी एसिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा जलविद्युत् क्षेत्रमा लगानी विस्तार बढाएकोे छ । गत हप्ता बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबिच रसुवा, नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको फँलाखु खोला आयोजनामा रु. ९५ करोड २० लाख लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गर्नुभएको छ । नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पु¥याउँदै दिगो ऊर्जा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको सो आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ जिडब्लुएच विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको आयोजना निर्माण सम्पन्नपश्चात् मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने बैंकले विश्वास लिएको छ । रसुवाको नौकुण्ड र नुवाकोटको सूर्यगढी गाउँपालिकामा निर्माण हुने आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माणसँगै मुलुकमा स्वच्छ ऊर्जाको पहुँच बढ्ने, आर्थिक वृद्धिमा योगदान पुग्ने र वातावरणीय पक्षमा समेत सकारात्मक टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।







प्रतिक्रिया