+
Search

ताजा अपडेट +

पपुलर +

लोकसंस्कृति संरक्षण, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा योगदान

लोकसंस्कृति संरक्षण, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा योगदान
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगिताले लोकसंस्कृति संरक्षण, विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा सङ्गीत कलाको प्रवद्धनमा महत्त्वपूर्ण योगदान पुग्ने वरिष्ठ सङ्गीतकार राजु सिंहले बताउनुभएको छ । उहाँले नुवाकोट जिल्लाबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा शुभेनियर बोर्डिङ स्कुलको सहआयोजनामा विदुर-४ बट्टारमा आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगिताको अघिल्लो शनिबार आयोजित समापन कार्यक्रममा सञ्चारमाध्यम र विद्यालयबिचको सहकार्यमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु प्रशंसनीय उपलब्धि भएको जनाउनुभयोे ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रतियोगितामा समूहगततर्फ अर्किड एकेडेमी बट्टार र एकलतर्फ ओममाने पब्लिक स्कुल प्रथम भएका छन् । प्रतियोगितामा उत्कृष्ट लोकनृत्य प्रस्तुत गर्दै अर्किड एकेडेमीका विद्यार्थीले समूहगततर्फ पहिलो स्थान हासिल गरेका हुन् । आयोजक सुन्दरादेवीका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार प्रथम भएको अर्किड एकेडेमीले प्रशंसापत्रसहित रू.१५ हजार पुरस्कार प्राप्त गरेको छ । समूहगत प्रतियोगितामा त्रिशूली सामुदायिक बोर्डिङ स्कुल दोस्रो हुँदै रू.१० हजार प्राप्त गर्न सफल भयो भने दिव्यरत्न बोर्डिङ स्कुल तेस्रो भई रू.पाँच हजार पुरस्कार प्राप्त ग¥यो । यस्तै, इपिक किड्सले सान्त्वना स्थान हासिल गर्दै रु.दुई हजार पाँच सयसहित प्रशंसापत्र प्राप्त गरेको थियो । एकल लोकनृत्य प्रतियोगितामा ओममाने पब्लिक स्कुलकी पूर्णिका लामिछाने प्रथम हुनुभयो । उहाँले रु.११ हजार एक सय ११ सहित प्रशंसापत्र प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । त्यसैगरी ज्योतिकुञ्ज एकेडेमीकी रियाना डङ्गोल दोस्रो हुँदै रु.६ हजार ६ सय ६६, गुडविल एकेडेमीकी सोफिया सुनार तेस्रो भई रु. तीन हजार तीन सय ३३ र ज्योतिकुञ्ज एकेडेमीकै शुभेच्छा धितालले सान्त्वना स्थान हासिल गर्दै रु.एक हजार पाँच सयसहित प्रशंसापत्र प्राप्त गर्नुभयो ।

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा नुवाकोट जिल्लाबाट सहभागी भई चार जिपिए ल्याउन सफल ११ विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरी जिल्लाको गौरव बढाएको भन्दै उहाँहरूलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्यसैगरी शिक्षा, सञ्चार, स्वास्थ्य, व्यवसायलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक दर्जन व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार शरण उत्सुक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार उज्ज्वलजंग ठकुरी र रामचन्द्र कोइराला, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की र गीता अमात्य, पत्रकार तथा कलाकार सन्तोषी केसी, सन्तोष अधिकारी, पवित्रा आचार्य, रमेश पाठक, गीता अधिकारी, स्वस्तिका पन्थी, नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठ, औषधि व्यवसायी प्रेमकुमार सापकोटा, व्यवसायी हरि अधिकारी, तेजबहादुर प्याकुरेल र सुशील श्रेष्ठ हुनुहुन्थ्यो ।

आयोजकले लोककला र संस्कृतिको संरक्षणसँगै विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । प्रतियोगिताभर विभिन्न विद्यालयका विद्यार्थीले नेपाली लोकसंस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सम्मानितकातर्फबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार ठकुरीले भन्नुभयो, ‘कार्यक्रमले नुवाकोटमा लोककला संरक्षण र विद्यालयस्तरीय सांस्कृतिक गतिविधिको विकासमा थप ऊर्जा प्रदान गर्नेछ ।’ प्रतियोगितामा समूहतर्फ १९ विद्यालय र एकलमा ११ विद्यालयले भाग लिएको प्रतियोगितामा मुख्य संरक्षकमा विदुर नगरपालिका रहेको थियो । आगामी विसं २०८३ को बडादसैँमा अन्तरविद्यालय प्रि-प्राइमरी नृत्य प्रतियोगिता गरिने घोषणा आयोजकले गरेको छ । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता थियो ।

गत वर्ष वैशाख २६ गते सुन्दरादेवी साप्ताहिक र स्पार्कल इन्टरनेसनल स्कुल, कोलनी, नुवाकोटको संयुक्त आयोजनामा ‘सातौँ खुला लोकनृत्य प्रतियोगिता’ सम्पन्न भएको थियो । सो प्रतियोगितामा समूहतर्फ निर्मल तामाङ डान्स एन्ड फिटनेस सेन्टर (जुनियर) प्रथम, सोही सेन्टरको (सिनियर) समूहले द्वितीय स्थान प्राप्त गरेको छ । सेई बोर्डिङ स्कुल छहरेको समूहले तृतीय स्थान जितेको थियो । प्रतियोगिताको एकल विधातर्फ निर्मल तामाङ डान्स एन्ड फिटनेस सेन्टरकी आर्या कार्कीले प्रथम, द्वितीय भएकी गुडविल एकेडेमी पिपलटारकी छात्रा विनु विक र तृतीय ओममाने पब्लिक स्कुल गेर्खुटारकी छात्रा स्मारिका विकले नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह