धुन्चे । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा जेठ १० देखि १७ गतेसम्म तेस्रोपटक त्रिपिटक (कङग्युर) वाचन सम्पन्न भएको छ ।
टुल्कु छोलिङ गुम्बा धुन्चेको आयोजनामा हरेक पाँच वर्षमा गरिने यो पूजा ‘त्रिपिटक’ वाचन गर्नाले सम्पूर्ण प्राणी जगत्को रक्षा हुने जनविश्वास रहेको छ । हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान् बुद्धको वचनलाई उहाँको परिनिर्वाणपछि तत्कालीन भिक्षुहरूद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरिएको थियो । त्रिपिटकमा ८४ हजार धर्मस्कन्ध छन् भनी अट्ठकथामा वर्णन छ । तिनै सङ्ग्रहको एकमुस्ट समूहलाई नै बुद्धधर्मको अमूल्य र पवित्र धर्मग्रन्थ त्रिपिटक भनिएको छ । कुशल कार्य र मन परिशुद्धि कार्य गर्नका लागि त्रिपिटकको ज्ञान र अध्ययन गर्नु अति आवश्यक भएको लामागुरु पाल्देन लामाले बताउनुभयो । विशेषतः त्रिपिटक पाली भाषामा लेखिएको छ । त्रिपिटकमा ‘त्रि’ को अर्थ तीनवटा र ‘पिटक’ को अर्थ हो टोकरी (डालो) धर्म साहित्यको । तीनवटा पिटकमा (१) सूत्रपिटक (२) विनयपिटक (३) अभिधम्मपिटक पर्छन् ।

रसुवाको विभिन्न ठाउँ र सिन्धुपाल्चोक, काठमाडौँको बौद्धका सयौँ लामा भेला भई ‘त्रिपिटक’ पाठ गरिएको थियो । यो पाठ माछा, मासु, अन्डा नखाई शुद्ध भएर गरिन्छ । पाठ गर्दा वर्षभरि नै गाउँ, समाजलाई सुखशान्ति मिल्ने सामाजिक अभियन्ता बाबुलाल तामाङले बताउनुभयो ।






प्रतिक्रिया