+
Search

ताजा अपडेट +

पपुलर +

पाण्डेहरू संयुक्त ‘वायुदृष्टि’ राष्ट्र सङ्घको नवप्रवर्तन सूचीमा

पाण्डेहरू संयुक्त ‘वायुदृष्टि’ राष्ट्र सङ्घको नवप्रवर्तन सूचीमा
त्रिशूली प्रवाह
४ दिन अगाडी

काठमाडौँ । नुवाकोट जिल्लाका दुई युवा प्रविधि उद्यमी शिवपुरी-७ का सक्रिय पाण्डे र श्रीषा पाण्डेले संयुक्त रूपमा विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्र सङ्घको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ । जलवायु प्रविधि क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक मामिला विभाग (युएन डेसा) ले प्रकाशन गरेको ‘एसटिआई सोलुसन्स बुक २०२६’ मा समावेश गरिएको हो ।

Utsuk Books & Stationery

विश्वभरबाट प्राप्त नौ सयभन्दा बढी डिजिटल तथा प्रविधिमूलक नवप्रवर्तनबिच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा नुवाकोट पर्न सफल भएको हो । दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न योगदान पुर्याउने, व्यावहारिक तथा विश्वव्यापी रूपमा विस्तार गर्न सकिने समाधानका रूपमा यसलाई छनोट गरिएको बताइएको छ । ‘वायुदृष्टि’ नेपालमै विकास गरिएको एआई-आधारित वातावरणीय सूचना प्लाटफर्म हो । यसले वायु प्रदूषणलाई सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने गरी वास्तविक समयको वायु गुणस्तर जानकारी उपलब्ध गराउँछ । कम लागतका वायु गुणस्तर मापन उपकरण, भू-उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडित सेन्सर तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत यसले प्रदूषणसम्बन्धी विश्लेषण र सूचना प्रदान गर्दै आएको छ । यो प्लाटफर्म बोट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडअन्तर्गत विकास गरिएको हो । यसका संस्थापकमा सक्रिय र सहसंस्थापक श्रीषा रहेका छन् ।

सहसंस्थापक श्रीषा यही जुन ११ र १२ मा अमेरिकाको वासिङ्टन डिसीस्थित विश्व बैंकको मुख्यालयमा आयोजना हुने ‘वल्र्ड बैंक ग्रुप युथ समिट २०२६’ मा नेपालका तर्फबाट सहभागी हुने बताइएको छ । सम्मेलनमा उहाँले नेपाली युवाको नवप्रवर्तन, डिजिटल अवसर तथा दिगो विकासका क्षेत्रमा नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ । विश्व बैंक समूहद्वारा आयोजना हुने उक्त सम्मेलन विश्वभरका एक सय ७० भन्दा बढी देशका युवालाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय युवा मञ्चमध्ये एक मानिन्छ । श्रीषाको सहभागितालाई नेपाली युवाको बढ्दो अन्तर्राष्ट्रिय उपस्थिति र प्रविधि क्षेत्रमा देखिएको क्षमताको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विश्वभर वायु प्रदूषण, जलवायु परिवर्तन तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी चुनौती बढिरहेका वेला ‘वायुदृष्टि’ले समुदाय, विद्यालय, अनुसन्धानकर्ता, उद्योग तथा सरकारी निकायलाई भरपर्दो वातावरणीय तथ्याङ्क उपलब्ध गराउने लक्ष्य राखेको छ ।

युएनको यस वर्षको प्रतिवेदनले सन् २०३० सम्मको दिगो विकास एजेन्डालाई सहयोग गर्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा आधारित समाधानलाई प्राथमिकतामा राखेको छ । विशेषगरी सफा पानी, स्वच्छ ऊर्जा, दिगो सहर, पूर्वाधार तथा साझेदारीसँग सम्बन्धित क्षेत्रमा प्रभावकारी योगदान दिने नवप्रवर्तनलाई सूचीमा समावेश गरिएको हो । ‘वायुदृष्टि’ टोलीले यस उपलब्धिलाई नेपालका लागि गौरवको विषय भएको जनाएको छ । टोलीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अदृश्य रहेको वायु प्रदूषणलाई देखिने र मापनयोग्य बनाउने उद्देश्यसहित हामीले यो यात्रा सुरु गरेका थियौँ । राष्ट्र सङ्घबाट प्राप्त यो मान्यताले नेपालबाटै विश्वस्तरीय प्रविधि निर्माण गर्न सकिन्छ भन्ने विश्वास अझ बलियो बनाएको छ ।’ यो उपलब्धिले नेपालजस्ता विकासोन्मुख मुलुकबाट पनि युवाको नेतृत्वमा विश्वस्तरीय प्रविधि विकास हुन सक्ने सम्भावना उजागर गरेको छ । नवीन सोच, निरन्तर अनुसन्धान र प्रतिबद्धतामार्फत नेपाली युवाले विश्वमञ्चमा प्रभावकारी उपस्थिति जनाउन सक्छन् भन्ने उदाहरणका रूपमा ‘वायुदृष्टि’ लाई हेरिएको छ । टोलीले आगामी दिनमा नेपालभित्र तथा बाहिर वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै सफा हावा, स्वस्थ समुदाय र दिगो भविष्य निर्माणमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह