+
Search

ताजा अपडेट +

पपुलर +

देविका जिल्लाकै पहिलो दलित अधिवक्ता

देविका जिल्लाकै पहिलो दलित अधिवक्ता
त्रिशूली प्रवाह
१२ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्ला, साबिक तुप्चे-८ भैरमकोट, हाल विदुर-९ बोडथोक जन्मघर भई लिखु-३, भलाद्मीडाँडा कर्मथलो बनाएकी देविका मिजारले अधिवक्ता परीक्षा पास गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गबाट कानुनमा स्नातक उपाधि हासिल गर्नुभएकी मिजारले नेपाल बार काउन्सिलको ३४औँ अधिवक्ता तहको परीक्षा पास गरेसँगै सम्भवतः दलित समुदायको नुवाकोट जिल्लाकै पहिलो अधिवक्ता हुनुभएको छ ।

Utsuk Books & Stationery

नुवाकोटबाट यसअघि दलित समुदायका पुरुष र महिलाले अधिवक्ता परीक्षा पास गरेका छैनन् । तर, कानुनमा स्नातक अध्ययन भने जिल्लाका तीन-चारजना दलितले गरिरहेको स्रोतको दाबी छ । विदुर-९ का शमशेर सुर्खेती (मिजार) र आमा पार्वती मिजारकी एक्ली सुपुत्री देविका मिजार विवाहपछि लिखु-३ लाई स्थायी कर्मथलो बनाएर ललितपुरमा बसोबास गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर उपाधि लिइसक्नुभएको छ । अधिवक्ता मिजारका बाबु शमशेर मिजार नेपाल विद्युत् प्राधिकरणका स्थायी जागिरे हुनुहुन्छ भने आमा गृहिणी हुनुहुन्छ । उहाँका भाइहरू भीमसेन मिजार र दिनेशराज मिजार रहेकामा जेठो र कान्छोले क्रमशः व्यवस्थापनमा स्नातक र होटेल म्यानेजमेन्टमा १२ कक्षा पास गरी वैदेशिक रोजगारीमा हुनुहुन्छ ।

‘मैले मेरो बाबुआमा र श्रीमान्ले देखाएको सपनालाई पछ्याएँ र पछ्याइरहेकी छु, अधिवक्ता हुनु ठुलै कुरा रहेछ, ज्यादै मिहिनेत गरेर मात्र प्राप्त हुनेरहेछ भन्ने कुरा पनि थाहा भयो,’ अधिवक्ता मिजारले भन्नुभयो, ‘अब भविष्यमा स्नातकोत्तर र विद्यावारिधि पनि गरेर देशमा विधिको शासन र कानुनी राज स्थापना गर्न र न्याय क्षेत्रको सबलीकरण एवम् त्यसमा पनि उत्पीडित दलित तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा थप योगदान गर्ने गरी सक्षमता हासिल गर्न लाग्ने सोचेकी छु ।’ उहाँले भन्नुभयो, ‘यस उपलब्धिको श्रेय मेरा बाबुआमा र मेरा श्रीमान्लाई दिन चाहन्छु ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह