+
Search

ताजा अपडेट +

पपुलर +

बानियाँको पहलमा एसइई उत्तीर्णलाई निःशुल्क कम्प्युटर डिप्लोमा कोर्स

बानियाँको पहलमा एसइई उत्तीर्णलाई निःशुल्क कम्प्युटर डिप्लोमा कोर्स
त्रिशूली प्रवाह
९ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीले निःशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आइटी’ अध्ययन गर्ने अवसर पाएका छन् । विदुर-२ नुवाकोटनिवासी नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लि.ले उक्त छात्रवृत्ति दिएपछि सो अवसर सुनिश्चित भएको हो ।

Utsuk Books & Stationery

कार्यक्रम कार्यान्वयनका लागि विदुर नगरपालिका, नेपाल युवा परिषद् र दूरशिक्षा एजुकेसन नेटवर्कबिच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा विदुरका प्रमुख राजनलाल श्रेष्ठ, दूरशिक्षा एजुकेसन नेटवर्कका सञ्चालक कृष्ण पाण्डे तथा नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष बानियाँले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार नगरपालिकाका १३ वटै वडाबाट एक–एकजना तथा स्थानीय भैरवी माध्यमिक विद्यालयबाट थप दुईजना गरी कुल १५ जना विद्यार्थीले ६ महिने कम्प्युटर (करिब रु. ९० हजार खर्चबराबर) डिप्लोमा कोर्समा पूर्ण छात्रवृत्ति पाउनेछन् ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई डिजिटल शिक्षासँग जोड्दै सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको भन्दै छात्रवृत्ति कार्यक्रम आगामी वर्षमा समेत निरन्तर रूपमा सञ्चालन गर्ने योजना रहेको परिषद्का अध्यक्ष बानियाँले जानकारी दिनुभयो । सूचना प्रविधि वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा मेधावी विद्यार्थीलाई यस क्षेत्रमा अध्ययन गर्ने अवसर उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । छनोट भएका विद्यार्थीले आगामी साउनदेखि ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आइटी’ अध्ययन गर्न पाउने बताइएको छ । दूरशिक्षा एजुकेसन नेटवर्कले भने ६ महिने डिप्लोमा कोर्स सञ्चालन गर्ने, छनोट भएका विद्यार्थीलाई पूर्ण शुल्क छुट उपलब्ध गराउने, आवश्यक शैक्षिक सामग्री, दक्ष प्रशिक्षक तथा अत्याधुनिक प्रयोगशालाको सुविधा प्रदान गर्ने र कोर्स सम्पन्न भएपछि प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

छात्रवृत्तिका लागि विद्यार्थी आर्थिक रूपमा विपन्न, अध्ययनमा उत्कृष्ट तथा सूचना प्रविधि क्षेत्रमा अध्ययन गर्ने स्पष्ट रुचि र इच्छाशक्ति भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस कार्यक्रमकले ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधि शिक्षासँग जोड्दै उनीहरूको शैक्षिक, व्यावसायिक तथा रोजगारीका अवसर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह