+
Search

ताजा अपडेट +

पपुलर +

कैलाश–मानसरोवर तीर्थयात्रीको घुइँचो

रसुवागढीमा प्रवेशाज्ञा शुल्कबाट ६३ लाख राजस्व सङ्कलन

कैलाश–मानसरोवर तीर्थयात्रीको घुइँचो
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । नेपाल-चीन सीमा रसुवागढी नाका हुँदै तिब्बतको मानसरोवर-कैलाश जाने तीर्थयात्रीको भिडले सीमाक्षेत्रमा आजभोलि ट्राफिक जाम भइरहेको छ । मानसरोवर यात्राका लागि छोटो, सहज र सुविधाजनक मार्गका रूपमा स्थापित हुँदै गएको रसुवागढी नाका प्रयोग गर्ने विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ ।

Utsuk Books & Stationery

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार दुई सय ४१ यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन् । प्रस्थान गर्ने यात्रुमा नेपालसहित भारत, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य, मलेसिया तथा जर्मनीका छन् । कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलाश पुग्ने गरेका छन् । गत मार्च महिनासम्म आठ सय १२ यात्रु रसुवागढी पुगेका थिए भने अप्रिल १४ तारेखसम्म बढेर १४ हजार दुई सय ४० पुगेका छन् । यस वर्ष जनवरीदेखि हालसम्म १७ हजार दुई सय ४१ यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन् । यो विवरण जनवरीदेखि जुन १४ सम्मको रहेको अध्यागमन कार्यालयले जनाएको छ । काठमाडौँ त्रिभुवन विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलाशका यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनामवाङ्दी तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

काठमाडौँबाट बसमार्फत लगभग १० घण्टा तथा हेलिकोप्टरमार्फत आधा घण्टामै रसुवागढी पुग्न सकिने भएकाले यात्रुले यस मार्गलाई प्राथमिकता दिन थालेका छन् । यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा चुनौतीसमेत देखिएको छ । प्रवेशाज्ञा अभिलेख तथा दर्ताका लागि कर्मचारी अभाव हुँदा यात्रुले लामो समय लाममा बस्नुपर्ने अवस्था रहेको गुनासो बढ्दै गएको छ । हाल कार्यालयमा दुई सेवा कक्षबाट मात्र सेवा प्रवाह भइरहेकाले समस्या देखिएको हो । कार्यालय प्रमुख भण्डारीले हालको संरचनामा सेवा विस्तार गर्न भाडाको घरका भौतिक संरचनाबाट कठिन रहेको बताउँदै रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा थप व्यवस्थित र प्रभावकारी बन्ने बताउनुभयो ।

अध्यागमन कार्यालयनजिकै यात्रु भिसा दर्ताका लागि लाममा बस्ने स्थानस्थित सडक किनारामा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन लामो समय पार्किङ गर्ने गरिएकाले स्थानीय बासिन्दाले सडकको पार्किङ हटाउन ट्राफिक प्रहरीसँग आग्रह गरेका छन् । जनवरीदेखि जुन १४ तारिखसम्म भिसा दर्ता तथा सम्बन्धित सेवा शुल्कबाट रु.६२ लाख ८० हजार चार सय २० पैसा ८६ राजस्वसमेत सङ्कलन भएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । मानसरोवर-कैलाश हिन्दु, बौद्ध धर्मावलम्बीका अलावा अन्य साहसिक हिमाली यात्रा गर्न चाहने यात्रुको समेत रोजाइमा छ । यात्रुको सङ्ख्या बढेसँगै स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटेल, यातायात तथा अन्य व्यापार–व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी तेम्बासिङ्गी तामाङले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने