+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासङ्घ नुवाकोट अध्यक्षमा गजुरेल

पत्रकार महासङ्घ नुवाकोट अध्यक्षमा गजुरेल
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नेपाल पत्रकार महासङ्घ नुवाकोटको नेतृत्व पत्रकार रामहरि गजुरेलले गत आइतबारदेखि गर्नुभएको छ । विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील गजुरेलले आगामी डेढ वर्षका लागि महासङ्घ जिल्ला शाखालाई हाँक्ने गरी सोमबार विदुरस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभयो ।

Utsuk Books & Stationery

तीनवर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासङ्घको निर्वाचनमा दुई समूहबिच चुनावी प्रतिस्पर्धा भएकामा अध्यक्षमा दुवै उम्मेदवारको बराबर मत आएपछि विधानमा व्यवस्था भएअनुसार आधा-आधा कार्यकाल नेतृत्व गर्ने गरी बाँडफाँटको सहमति गरिएको थियो । सोअनुसार प्रतिस्पर्धी उम्मेदवार नमराज सुवेदीको डेढवर्र्षे नेतृत्व अवधि समाप्ति भएसँगै गजुरेलले आफ्नो बाँकी समयको कार्यकालका लागि नेतृत्व सम्हाल्नुभएको छ । बाह्र वर्षअघि महासङ्घ नुवाकोटमा पदाधिकारीमा निर्वाचित उहाँ महासङ्घको बागमती प्रदेशका संस्थापकमध्येका एक हुनुहुन्छ । दुई कार्यकाल प्रदेश समितिको जिम्मेवारीको अनुभव समेट्नुभएका गजुरेलले प्रेस सेन्टर नेपालको तीन कार्यकाल झन्डै ११ वर्ष नुवाकोटको नेतृत्व गर्नुभएको थियो । पदभार ग्रहण गर्दै उहाँले लोकतन्त्र र नागरिक स्वतन्त्रताका निम्ति लड्दै आएका श्रमजीवी पत्रकार र सञ्चारमाध्यमको हकहित, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै जनताको सुसूचित हुन पाउने मौलिक अधिकारका लागि सङ्घर्ष गरिराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घका पूर्वकेन्द्रीय सदस्य सुनील खड्का, प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष ध्रुवराज अधिकारी र कोषाध्यक्ष राजेन्द्र गजुरेल, पत्रकार महासङ्घ बागमतीका सदस्य सुनील विष्ट, संस्थापक सदस्य शर्मिला उप्रेतीलगायतले पछिल्लो समय राज्य तहबाटै प्रेस र अभिव्यक्ति स्वतन्त्रता मासिने खतरा बढ्दै गएकाले यसको रक्षार्थ महासङ्घको भूमिका अझ बढेर गएको धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह