विदुर । नुवाकोट जिल्लाको विदुर-२ स्थित अशोकबाटिकामा रहेको लिच्छविकालीन स्वयम्भू चैत्य क्षेत्रको सम्पदा सङ्कटमा पर्न सक्ने चिन्ता पुरातत्त्व विभागले गरेको छ । शनिबार विभागको आयोजनामा नुवाकोट दरबारपरिसरमा नुवाकोट तथा देशका महत्त्वपूर्ण सम्पदाको फोटो प्रदर्शनीमा महानिर्देशक सौभाग्य प्रधानाङ्गले जथाभावी मूर्ति राख्ने र नवनिर्माण गर्ने कार्यले त्यस क्षेत्रको सम्पदा सङ्कटमा पर्न सक्ने बताउनुभयो ।


स्वयम्भू चैत्यको नाममा विदुर-२, अशोकबाटिकामा २६ रोपनी जग्गा रहेको छ । उक्त जग्गामा स्थानीयवासीको सल्लाहमा विदुर नगरपालिकाको सहयोगमा गुरुयोजना बनाएर बुद्धसँग सम्बन्धित मूर्ति स्थापना भइरहेको छ । दुई हजार तीन सय वर्षभन्दा अगाडिको पुरातात्त्विक ऐतिहासिक दुर्लभ स्वयम्भू चैत्य रहेको उक्त क्षेत्रमा विभागको सहमति नलिई संरक्षणको नाममा जथाभावी मूर्ति राख्ने र नवनिर्माण गर्ने कार्यले भविष्यमा सम्पदा क्षेत्र सङ्कटमा पर्न सक्ने भन्दै विभागले स्थानीयवासीको ध्यानाकर्षण गराएको छ । सम्राट् अशोकले नुवाकोटको महामण्डल (अशोकबारी) क्षेत्रमा अशोक चैत्य बनाएको शिलालेखमा उल्लेख छ । यो ठाउँको महत्त्वलाई बुझेर स्थानीयवासीले नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्था दर्ता गरेर नवनिर्माण अभियान सुरु गरिरहेका छन् । संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठले विभाग र नगरपालिकाको समन्वयमा स्वयम्भू महाचैत्य संरक्षण र पुनर्निर्माण अभियान सञ्चालन गरेको बताउनुभयो । समितिले उक्त क्षेत्रमा फरक–फरक देवीदेवताको मूर्ति राख्ने ठाउँ उपलब्ध गराएको र मूर्ति राख्नेले तोकिएको साइज र गुणस्तरीय ढुङ्गाको प्रयोग हुनुपर्ने अध्यक्ष श्रेष्ठले ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँग कुराकानीको क्रममा बताउनुभयो । विभागले उक्त चैत्य क्षेत्रको वेलावेलामा अनुगमन गरेर समितिलाई ऐतिहासिक कलात्मक, वैज्ञानिक र वास्तुशास्त्रअनुसार मूर्ति राख्न सचेत गराइरहेको छ । पुरातत्त्व विभागले विदुरदेखि नुवाकोट दरबारसम्मको सडकछेउका विभिन्न स्थानमा बुद्धको मूर्ति राखेकोमा समेत आपत्ति जनाएको छ । महानिर्देशक प्रधानाङ्गसहितको टोलीले सडक क्षेत्रको स्थलगत अवलोकन गरी जथाभावी मूर्ति राख्ने कार्यले दुर्घटना निम्त्याउनेतर्पm सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

सरकारले विदुरदेखि नुवाकोटसम्मको सडकलाई सहायक राजमार्गमा राखेर मापदण्ड तोकेको छ । मापदण्डभित्र सडकको जोखिमपूर्ण मोडमा मूर्ति राख्दा सडक साँघुरो हुने र दुर्घटना बढ्न सक्ने भएकाले सरोकार निकायको ध्यानाकर्षणसमेत विभागले गराएको छ । सरकारले सहायक राजमार्गको मापदण्ड तोकेपछि सामुदायिक वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयले मूर्ति राख्न मौन सहमति दिएर मुकदर्शक बनेकोमा स्थानीयवासीले विरोध गर्दै आइरहेका छन् । वन क्षेत्रमा जथाभावी मूर्ति राख्ने कार्य रोक्न जिल्लाका सरकारी निकायले बेवास्ता गरेपछि राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी दिने तयारी गरिरहेको विदुरवासीले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका छन् ।






प्रतिक्रिया