धुन्चे । रसुवा जिल्ला, कालिका-३, कटुन्जेका एक युवाले व्यक्तिगत खर्चमा उत्पादन गरेका कफीका बिरुवा निःशुल्क रूपमा कृषकलाई वितरण गर्नुभएको छ । कटुन्जेका नवराज आचार्यले गाउँलाई नै कफी उत्पादन केन्द्र बनाउने उद्देश्यले गाउँलेलाई निःशुल्क कफीको बिरुवा वितरण गर्नुभएको हो ।


जोसिला र केही गरौँ भन्ने सोच राख्ने आचार्यले आफ्नै नर्सरीमा उत्पादन गरेको पाँच हजार कफीका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ । उहाँले यसै वर्ष मात्र बेतिनी, कटुन्जे र धारापानीलगायत गाउँमा बिरुवा वितरण गरिसक्नुभएको छ । उहाँको नर्सरीमा अहिले आठ हजार बिरुवा वितरणको तयारीमा रहेको बताइएको छ । गत वर्ष उहाँले १० हजार बिरुवा निःशुल्क वितरण गर्नुभएको थियो । नितान्त व्यक्तिगत पहल र लगानीमा कफीको नर्सरी स्थापना गर्नुभएका उहाँले थप आकर्षण गर्न गत वर्ष एक विदेशी संस्थाको समेत सहयोग पाएर थप नर्सरी स्थापना गर्नुभएको थियो । उहाँको थप गरिएको नर्सरीबाट यस वर्षदेखि व्यावसायिक रूपमा बिरुवा उत्पादन सुरु भएको छ । परम्परागत खेतीलाई आधुनिकतातर्फ उत्मुख गराउन निःशुल्क बिरुवा वितरणसहित प्राविधिक ज्ञान र बजार सुनिश्चित गरिदिनुभएको आचार्यले भन्नुभयो, ‘कटुन्जे गाउँ केही वर्षमै कफी गाउँ हुनेछ ।’ उहाँले बिरुवा वितरणका साथै कृषकलाई कफीखेतीसम्बन्धी तालिम दिई उत्कृष्ट हुने कृषकलाई अवलोकन भ्रमणको व्यवस्थासमेत गरिरहनुभएको छ । कफीखेतीलाई दिगो र प्रभावकारी बनाउन कालिका गाउँपालिकाका प्राविधिक तथा संस्थागत सहयोगको अपेक्षा आचार्यले गर्नुभएको छ ।






प्रतिक्रिया