+
Search

ताजा अपडेट +

पपुलर +

लाङ्टाङ र गोसाईँकुण्ड क्षेत्रमा बिजुली र टेलिकम सेवाबाट पर्यटक र व्यवसायी दङ्ग

लाङ्टाङ र गोसाईँकुण्ड क्षेत्रमा बिजुली र टेलिकम सेवाबाट पर्यटक र व्यवसायी दङ्ग
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

धुन्चे । गोसाईँकुण्ड-४ र ५ नम्बर वडास्थित पर्यटकीयस्थल गोसाईँकुण्ड र लाङ्टाङ क्षेत्रमा गत वर्षदेखि बिजुली र टेलिकमको गुणस्तरीय सेवाले पर्यटन प्रवद्र्धन र व्यवसाय सञ्चालन गर्न सहज भइरहेको छ ।

Utsuk Books & Stationery

नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल रहेको रसुवाको लाङ्टाङको क्यान्जिन गुम्बालगायत स्थान र हिन्दुहरूका आराध्यदेव नीलकण्ठ शयन गरेको गोसाईँकुण्ड क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइनको बिजुली गत वर्ष पुगेपछि व्यवसायी, पदयात्री र तीर्थयात्रीलाई सहज भएको छ । लाङ्टाङ र गोसाईँकुण्ड क्षेत्रमा नेपाल टेलिकमको फोर-जी सेवासमेत गत वर्ष नै पुगेको छ । त्यस क्षेत्रमा पुग्ने पदयात्री तथा तीर्थयात्रीले फोटो खिच्ने, फोटो सामाजिक सञ्जाल, घरपरिवारमा पठाउने, लाइभ गर्ने गरेकाले पर्यटक प्रवद्धनमा समेत टेवा पुगेको पर्यटन व्यवसायी गगन न्यौपानेले बताउनुभयो ।

नेपाल विद्य्त् प्राधिकरण रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाईँकुण्ड-४, लाङ्टाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारणलाइन अघिल्लो वर्ष जोडिएसँगै नियमित र गुणस्तरीय बिजुली सेवा स्थानीयवासीले उपभोग गरिरहेका छन् । प्राधिकरणले गोसाईँकुण्ड, लाङ्टाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराउनका लागि रु.नौ करोडभन्दा बढी लगानी गरिसकेकोसमेत केन्द्र प्रमुख तामाङले दाबी गर्नुभयो । केन्द्रीय प्रसारणलाइन जोडिएपछि लाङ्टाङ क्षेत्रका करिब दुई सय घरधुरीमा केन्द्रीय प्रसारणलाइनको बिजुली बलेको छ । केन्द्रीय प्रसारणलाइनको बिजुली जोडिएपछि होटेल व्यवसायी लाभान्वित भएको गोसाईँकुण्ड-४ का अध्यक्ष ढिण्डुप तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली र टेलिफोनको सुविधाले पर्यटक, होटेल व्यवसायी तथा स्थानीयवासीमा खुसियाली छाएको छ ।’ स्थानीय क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेको चिज उद्योग, बेकरी उद्योगलगायत अन्य साना घरेलु उद्योगका साथै ठुला होटेल व्यवसायीलाई व्यवसाय सञ्चालनमा ठुलो टेवा र राहत पुगेको व्यवसायी निमा तामाङले बताउनुभयो । क्यान्जिन गुम्बा लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र रहेको एक प्रसिद्ध हिमाली बस्तीका रूपमा स्थापित छ । समुद्री सतहबाट करिब तीन हजार आठ सय ७० मिटर उचाइमा रहेको यो स्थान नेपालको प्रमुख पदयात्राको गन्तव्यसमेत हो ।

सो स्थानबाट हिमाल, हिमनदी तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राधिकरणले पर्यटकीय क्षेत्र र विद्युत् सेवा नपुगेका स्थानमा नियमित रूपमा बिजुली उपलब्ध गराउने अभियानलाई तीव्र पारेको छ । रसुवाको अर्को मुख्य पर्यटकीयस्थल गोसाईँकुण्ड हिन्दुहरूका आराध्यदेव शिवजीको वासस्थानसमेत रहेको क्षेत्रमा गत वर्ष बिजुली र अघिल्लो वर्ष नेपाल टेलिकमको सेवा पुगेको छ । बिजुली र टेलिफोनको सेवाले धार्मिकस्थलको प्रचार-प्रसार र प्रवद्धनमा टेवा पुगेको गोसाईँकुण्ड मार्गअन्तर्गत चन्दनबारीका होटेल व्यवसायी पासाङ घिर्मी तामाङले बताउनुभयो । गोसाईँकुण्डको वडा नम्बर ५ मा रहेको यो क्षेत्रको भौतिक पूर्वाधार विस्तार र प्रचार-प्रसारमा पालिकाले काम गरिरहेको सोही वडाका अध्यक्ष दावामिङ्मार तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह