+
Search

ताजा अपडेट +

पपुलर +

निर्कु भूमेथानमा जुठो फालेमा भलो नहुने मान्यता

निर्कु भूमेथानमा जुठो फालेमा भलो नहुने मान्यता
सुमन शिरीष
२ घण्टा अगाडी

कालिकास्थान । सरमथली गाउँबाट करिब ३० मिनेट पैदल उकालो लागेपछि निर्कु महादेवथान पुग्न सकिन्छ । उनै निर्कु महादेवले आफ्नो गाउँघरको रक्षा गरिरहेको जनविश्वास स्थानीयवासीमा छ । किंवदन्तीअनुसार गाउँमा हुने भोजभतेर पकाउने तामाका ठुला भाँडाकुँडा निर्कु महादेवले दिन्थे । यसरी ल्याइएका भाँडाकुँडा कसैले जुठै लगेर थानमा फिर्ता गरेपछि महादेव रिसाएर भाँडा दिन बन्द गरेको रमाइलो कथन स्थानीयवासीबाट सुन्न पाइन्छ । अहिले पनि रसुवा जिल्लाका उक्त क्षेत्रवरपर र डाँडामाथिका कुनै पनि स्थानमा जुठो खानेकुरा फालेमा देवताले भलो नगर्ने जनविश्वास छ । केही वर्षदेखि उक्त स्थानमा वनभोज र घुमफिरका लागि जानेको सङ्ख्या बढिरहेको नेपाल पत्रकार महासङ्घ रसुवा शाखाका पूर्वअध्यक्ष एवम् स्थानीय हेमनाथ खतिवडाले बताउनुभयो ।

Utsuk Books & Stationery

नौकुण्ड-४, सरमथलीमा पर्ने निर्कुभूमे महादेवथानले नुवाकोट जिल्ला सूर्यगढी-१ को सिमानालाई लगभग छोएको छ । चट्टानी पहाडको मध्यभागमा अवस्थित उक्त महादेवथानलाई स्थानीयले आफ्नो शिरको देवताका रूपमा मान्दछन् । भक्तालु तथा तीर्थालु जुनसुकै समयमा गएर दर्शन गर्न सहज यस धार्मिक स्थलमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा विशेष पूजा, आराधना र मेला लाग्ने गरेको छ । निर्कु महादेवथानभन्दा केही माथि सानो निलो दह रहेको केही प्रत्यक्षदर्शी पाका स्थानीयको दाबी छ । महादेवथानभन्दा माथिको पहाड सिधै उक्लिन असम्भव भएकाले उक्त दह कहाँ छ भनेर ठम्याउन जोकोहीले सक्दैन । अझ अर्को रोचक कुरा उक्त दहमा पातपतिङ्गर झरेमा चराचुरुङ्गीले टिपेर फाल्ने गर्छन् भन्ने भनाइसमेत स्थानीयले रोचक तरिकाले सुनाउँछन् । यद्यपि, महादेवथाननजिकै पहराको भित्रभित्रैबाट आएको पानीको मूलले माथि कतै न कतै पानीको स्रोत हुनुपर्छ भनेर अड्कल गर्न सकिन्छ । स्थानीयले ‘निर्कुथान’ भन्ने यस महादेवको थानमा शिवलिङ्गका रूपमा लाम्चो शिलालाई गाडेर धेरै पहिलेदेखि पूजाआजा गर्दै आएको देखिन्छ । कतैपट्टिबाट पनि पर्खाल बनाएर नछेकिएको हुनाले नजिक पुग्नेबित्तिकै थानमा राखिएका र चढाइएका सबै वस्तुको सजिलै दृश्यावलोकन गर्न सकिन्छ । महादेवथानमा विभिन्न आकारका गाडिएका शिलासहित घन्ट र त्रिशूल देख्न सकिन्छ । थानसँगै पूर्वपट्टि पहराबाट आएको पानीको मूलबाट सानो दुईवटा धारा बनाइएको छ । त्यहाँबाट बगेर जाने पानी सङ्कलन गर्न सानो पोखरी बनाइएको छ ।

निर्कुमुनिमा तामाङ र नेवार बाहुल्य रमाइलो बस्ती छ । सो स्थानमा निर्कुभूमे माध्यमिक विद्यालय रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण निर्कुथानलाई पर्यटकीय गन्तव्य बनाउन महादेवथानको जीर्णोद्धार गरी बिजुली पनि पु¥याइएको छ । थाननजिकै ठुलो त्रिशूल पनि गाडिएको छ । तीर्थयात्रीको सहजताका लागि तल बस्तीदेखि नै ढुङ्गेसिँढीको बाटो बनाइएको छ । नुवाकोटबाट आउने भक्तजनका लागि पनि राम्रो पदमार्गको व्यवस्था गरिएको छ । काठमाडौँबाट टोखा, छहरे, बाहुनबेँसी, लच्याङ हुँदै करिब तीन घण्टाको बसयात्राबाट निर्कु पुग्न सकिन्छ । काठमाडौँबाट नजिकै प्राकृतिक र आध्यात्मिक यात्रामा रमाउन चाहनेका लागि निर्कुयात्रा एउटा रोमाञ्चक र अविस्मरणीय बन्न सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सुमन शिरीष