धुन्चे । रसुवा जिल्ला, धुन्चेमा पहिलोपटक कला-संस्कृति जगेर्ना गर्ने उद्देश्यले सञ्चालन भएको गीत तथा माने प्रशिक्षण हालै सम्पन्न भएको छ । वैशाख २१ गतेबाट सुरु भएको प्रशिक्षण असार १ गते समापन भएको हो ।

गोसाईँकुण्ड-६ को कार्यालयको सहयोगमा धुन्चेमा रहेको कला–संस्कृति जगेर्ना गर्न गीत तथा माने गीत गाएर घ्यावा, बिहे, पर्व, तिथिमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने र संस्कृति परम्परालाई जोगाउन मद्दत पुग्ने प्रशिक्षक स्थानीय लामागुरु निमावाङ्जु थोक्राले बताउनुभयो । पुर्खादेखि चलिआएको गीत तथा माने हामी छउन्जेल निरन्तरता पाउँछ होला, तर अहिलेको नवपुस्ताले यसलाई पन्छाउने हो कि होइन भन्ने चिन्ता लागेको लामा गुरु लामा रेन्जेन घलेले बताउनुभयो । स्थानीय सीता तामाङले भन्नुभयो, ‘एक महिनासम्म चलेको प्रशिक्षणले धुन्चेवासीलाई हौसला र युवापुस्तालाई कला–संस्कृतिप्रति रुचि जगाएको पाएँ ।’ हाम्रा परम्परासँग जोडिएको गीत तथा माने प्रशिक्षण दिएर पुण्य काम गरेको र यस्तो प्रशिक्षण पछिल्लो दिनमा भइरहनुपर्ने अर्का स्थानीय जिना घलेले बताउनुभयो । संस्कृति संरक्षण र जगेर्ना गर्न सबैले हातेमालो गरेर अगाडि बढे यो प्रशिक्षण प्रभावकारी हुने विश्वास स्थानीय उर्मिला तामाङले गर्नुभएको छ ।






प्रतिक्रिया