काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोल प्रतिलिटर रू. २०, डिजेल र मट्टीतेल प्रतिलिटर रू.३०, हवाई इन्धन आन्तरिक प्रतिलिटर रू.४० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलर मूल्य घटाएकोे जनाएको छ ।

ग्यासको मूल्य प्रतिसिलिन्डर रू.एक सयले घटेको निगमले जनाएको छ । निगमप्रवक्ता मनोजकुमार ठाकुुरले भारतबाट मूल्य घटेर आएकाले स्थानीय बजारमा समेत मूल्य घटाइएको जानकारी दिनुुभयो । नयाँ मूल्यअनुसार अब बजारमा पेट्रोल प्रतिलिटर काठमाडौँका लागि रू.एक सय ९७, डिजेल र मट्टीतेल रू.एक सय ९५ कायम रहेको छ । यस्तै, हवाई इन्धन आन्तरिक प्रतिलिटर रू.दुई सय २९ र हवाई इन्धन अन्तर्राष्ट्रिय प्रतिकिलोलिटर एक हजार आठ सय ३१ अमेरिकी डलर रहनेछ । ग्यास प्रतिसिलिन्डर पूरा सिलन्डर रू.दुुई हजार ६० र आधा सिलिन्डर रू.एक हजार ३० कायम भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले मंगलबार पठाएको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल लिटरमा रू.१५, डिजेमाल रू.२९ पैसा ४६ र हवाई इन्धन आन्तरिकमा रू.२९ पैसा ४२ घटेर आएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर घट्दै गएको छ । पश्चिम एसियाली मुलुकमा भएको युुद्धका कारण लामो समयसम्म इन्धनको मूल्य बढ्दा त्यसको असर चौतर्फी परेको थियो । युद्ध रोक्ने सम्झौता भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको हो ।






प्रतिक्रिया