+
Search

ताजा अपडेट +

पपुलर +

गोसाईँकुण्ड मेलामा हिमालय उद्धार सङ्घद्वारा ६६० को उपचार

लेक लागेर दुईजना तीर्थयात्रीको मृत्यु

गोसाईँकुण्ड मेलामा हिमालय उद्धार सङ्घद्वारा ६६० को उपचार
ज्ञानेन्द्र न्यौपाने
४ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित पवित्र तीर्थस्थल गोसाईँकुण्डमा भदौ १२ गते सम्पन्न जनैपूर्णिमा मेलाका ६ सय ६० जनाभन्दा बढी तीर्थयात्रीको हिमालय उद्धार सङ्घले प्राथमिक उपचार गरेको छ ।

Utsuk Books & Stationery

समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाईँकुण्डमा धार्मिक यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिएका तीर्थयात्रीलाई संघले अक्सिजनसहित प्राथमिक उपचार सेवा प्रदान गरेको थियो । उपचारका लागि आएका बिरामीमध्ये ६० जनालाई थप उपचारका लागि रिफर गरिएको हिमालय उद्धार सङ्घका संयोजक प्रकाश खत्रीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । रिफर गरिएका बिरामीलाई सुरक्षा निकाय तथा सर्वसाधारणले सहयोग गरेर धुन्चे पुर्याइएको बताइएको छ । भदौ १० गतेको त्रिशूलीको बाढीले वेत्रावतीको फलाखु पुल बगाएपछि रिफर गरिएका धुन्चे पुगेका बिरामीलाई नेपाली सेनाको एमआई हेलिकोप्टरमार्फत हवाईमार्गद्वारा त्रिशूली पुर्याएको थियो ।

गोसाईँकुण्ड धार्मिक मेलामा सङ्घले विगत २७ वर्षदेखि स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । यस वर्ष पनि सङ्घले अक्सिजनसहित एमबिबिएस चिकित्सकको टोली परिचालन गरी तीर्थयात्रीलाई उपचार सेवा प्रदान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । गोसाईँकुण्ड तीर्थयात्राका क्रममा लेक लागेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ७१ वर्षीय चोपकान्त न्यौपाने र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ की ४१ वर्षीया सुभद्रा ढकाल रहेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्रमा धार्मिक यात्राका क्रममा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले तीर्थयात्रीलाई आवश्यक सावधानी अपनाउन र स्वास्थ्यमा समस्या देखिए तत्काल उपचार लिन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने