त्रिशूली नदी फेरि उर्लिएर तटीय क्षेत्रमा जनधनको अकल्पनीय क्षति भएको छ । यही भदौ १० गते आएको भयङ्कर बाढीले त्रिशूलीकिनारका बस्ती, सडक, विद्यालय, खेतबारी, जलविद्युत्गृह, पुलपुलेसा र जनजीवनमा पु¥याएको क्षतिले एउटा गम्भीर प्रश्न उठाएको छ– हामी नदीसँगै बाँच्ने सभ्यता जोगाउँदै छौँ कि क्रमशः त्यही सभ्यतालाई जोखिममा धकेल्दै छौँ ?

त्रिशूली केवल पानीको बहाब नभई रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत भूभागको जीवन, इतिहास, व्यापार, संस्कृति र धार्मिक आस्थासँग जोडिएको नदी हो । यसका किनारमा विकसित भएका बस्ती र बजारहरू नदीसँगको सहअस्तित्वकै परिणाम हुन् । देवीघाटदेखि त्रिशूली–वेत्रावती बजारसम्मका अनेकौँ स्थानको सामाजिक र सांस्कृतिक स्मृतिमा त्रिशूली गहिरोसँग जोडिएको छ । यसपटकको बाढीले नदीको शक्ति मात्र देखाएको छैन, हाम्रो तयारीको कमजोरी पनि उजागर गरेको छ । असाधारण वर्षा र जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टिको जोखिमसँगै नदीकिनारका अव्यवस्थित बसोबास, सडक तथा भौतिक संरचनाको निर्माण, वन विनाश, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र प्राकृतिक बहाब क्षेत्रमाथिको अतिक्रमणले जोखिम झन् बढाएको छ । बाढी आउँदा नदीलाई दोष दिन सजिलो हुन्छ । तर, यसले आफ्नो स्वाभाविक बाटो खोज्नु अपराध होइन । प्रश्न हामीतिर फर्किन्छ– के हामीले नदीको बहाब, जलाधार र भूगोललाई पर्याप्त सम्मान गरेका छौँ ? हालैको बाढीले त्रिशूलीकिनारमा बसोबास गर्ने समुदायलाई तत्कालीन राहत र पुनस्र्थापनापछि बस्ती निर्माणको ठुलो चुनौती दिएको छ । भत्किएका संरचना बनाउनु आवश्यक छ, तर पुरानै ढाँचामा पुनर्निर्माण गर्नु समाधान होइन । आज बगेको घर भोलि त्यही जोखिमयुक्त ठाउँमा फेरि बनाइयो भने अर्को बाढीले उही कथा नदोहो¥याउला भन्न सकिन्न ।
बाढीले केवल सडक, खेत र घर बगाउँदैन; यसले स्थानीय समाजको स्मृति र सांस्कृतिक सम्पदा पनि जोखिममा पार्छ । नदीकिनारका पुराना घाट, मन्दिर, धार्मिकस्थल, ऐतिहासिक बस्ती र पुस्तौँदेखि चलिआएका परम्परा विस्थापन भए भने त्यसको क्षतिपूर्ति पैसाले मात्र गर्न सकिँदैन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, तुप्चे, वेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटबजार र तीमुनि धादिङका बस्ती पुनस्र्थापना गर्नु निकै चुनौतीपूर्ण हुनेछ । सोही ठाउँमा अझ व्यवस्थित ढङ्गले बस्ती बसाल्ने कि अन्य सुरक्षित ठाउँमा जाने भन्ने निर्णय गर्नु पनि त्यत्तिकै कठिन छ । त्यससँगै त्यहाँको संस्कृति, चाडपर्व, रहनसहन, रीतिथिति, जात्रामात्रा, भजनकीर्तनलाई कसरी निरन्तरता दिने भन्ने सोच पनि त्यत्तिकै आवश्यक छ । सबै छरिएर बस्न थालेमा त्यत्रो सभ्यता नष्ट हुने खतरा छ । त्यसैले त्रिशूलीको संरक्षणलाई केवल तटबन्ध, ढलान र कङ्क्रिटको परियोजनाका रूपमा मात्र हेर्नुहुँदैन । यसको सम्पूर्ण जलाधारलाई एउटै प्राकृतिक प्रणालीका रूपमा बुझेर दीर्घकालीन योजना आवश्यक छ । नदीको प्राकृतिक बहाब क्षेत्र पहिचान गरी जोखिमयुक्त क्षेत्रमा नयाँ बस्ती र संरचना निर्माण नियन्त्रण गर्नुपर्छ । बाढीको पूर्वसूचना प्रणालीलाई स्थानीय तहसम्म प्रभावकारी बनाउनुपर्छ । नदीजन्य पदार्थको उत्खननलाई वैज्ञानिक अध्ययन र स्पष्ट मापदण्डमा बाँध्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, स्थानीय समुदायलाई योजनाका केन्द्रमा राख्नुपर्छ । त्रिशूलीसँग पुस्तौँदेखि बाँचिरहेका मानिसलाई नदीको स्वभावबारे राज्यका धेरै कागजी अध्ययनभन्दा बढी व्यावहारिक ज्ञान हुन सक्छ । उनीहरूको अनुभव, परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई जोडेर विपत् व्यवस्थापनको नयाँ नमुना बनाउन सकिन्छ ।
हालैको भयङ्कर बाढीलाई केवल एउटा प्राकृतिक विपत्का रूपमा बिर्सनुहुँदैन । यसलाई चेतावनीका रूपमा लिनुपर्छ । हुन त हिमालबाट सिर्जित नदीले हामीलाई पटक–पटक चेतावनी र खतराको घन्टी बजाइरहेकै थियो, तर त्यसलाई हामीले बिस्र्यौँ । विसं २०१९ भदौ ५ गते नै ठुलो बाढी आई त्रिशूलीको पुरानो पुल भए ठाउँको झोलुङ्गे पुल बगाएर त्यसको एक भाग नजिकैको सुगतपुर विहारमा गएर अड्केको त्रिशूलीबजारवासीलाई थाहा भएकै कुरा थियो । अब पनि बाढी रोक्न सकिँदैन, तर यसलाई विपत्तिमा परिणत हुनबाट रोक्न सकिन्छ । त्यसका लागि विकासको वर्तमान शैलीमाथि पुनर्विचार गर्नैपर्छ । त्रिशूलीलाई बचाउनु भनेको एउटा नदी बचाउनु मात्र होइन । यससँग जोडिएको जीवन, इतिहास, संस्कृति, बजार, बस्ती र सामूहिक स्मृतिलाई बचाउनु हो । आज हामीले गरेको निर्णयले भोलि त्रिशूलीकिनारमा सभ्यता निरन्तर रहन्छ कि विस्थापित हुन्छ भन्ने निर्धारण गर्नेछ । हालैको बाढीले ढोका ढकढक्याइसकेको छ । अब पनि नसुन्ने हो भने अर्को बाढीले केवल संरचना होइन, हाम्रो लापरबाहीको मूल्य पनि बगाउनेछ । त्रिशूलीलाई प्रकृतिको बाधा होइन, सभ्यताको आधार मानेर विकास गर्नुपर्ने समय आएको छ । वैज्ञानिक हिसाबले बस्ती निर्माण गर्ने कुरा इन्जिनियर, भूगोल र भूगर्भविद्, जलस्रोतविद्, संस्कृतिविद्, स्थानीय विकासविद्, सहरी बस्तीविज्ञको सामूहिक छलफल र निर्णयले मात्र आगामी कदमको निक्र्याेल गर्नेछ ।






प्रतिक्रिया