बुधबार बिहान करिब ९ बजे म सधैँझैँ आफ्नो नियमित काममै व्यस्त थिएँ । भोलिपल्ट बिहीबार ‘त्रिशूली प्रवाह’ साप्ताहिक छाप्नुपर्ने भएकाले पत्रिका निकाल्ने तयारी गर्दै थिएँ । सुरुदेखि नै जिल्लामा हाम्रो पत्रिका छाप्न मिल्ने साइजको प्रेस नभएकाले काठमाडौँमा छाप्नुपर्ने बाध्यता रहिरहेको छ । पत्रिका निरन्तर २७ वर्षदेखि प्रकाशन भइरहेको छ । प्रकाशनको सुरुवातदेखि नै रसुवाका पुराना पत्रकार एवम् हाम्रा संवाददाता ज्ञानेन्द्रनाथ न्यौपानेको फोन आयो । उहाँको स्वर अत्तालिएको स्पष्ट आभास हुन्थ्यो । उहाँले भन्नुभयो, ‘सम्पादकजी लौ यसपालि ठुलो बाढी आयो । धुन्चे डगमगाउने गरी माथि डाँडाबाटै खोला उर्लिएर तलतिर बढेको छ । हेर्दाखेरि यो बाढी विदुरसम्मै पुग्ने देखिन्छ । तुरुन्तै त्रिशूलीकिनारका मान्छे र स्कुललाई खबर गरिहाल्नुस् ।’

ज्ञानेन्द्रजी मेरो लामो समयदेखिको विश्वासिलो साथी हुनुहुन्थ्यो । फोन राख्नासाथ जिल्ला प्रशासन कार्यालयका एक साथीले पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा त्यस्तै आपत्कालीन खबर आएको पुष्टि गरेपछि मैले स्थिति गम्भीर भएको बुझेँ । त्यसपछि मेरो ध्यान लगत्तै त्रिशूली खोलापारिको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र क्याम्पसतर्फ गयो । वि.सं. २००७ मा स्थापित जिल्लाकै पुरानो स्कुलमा बिहानी र दिउँसो गरी झन्डै १४–१५ सय विद्यार्थी पढ्छन् । बिहानको समयमा कोचिङ र नियमित कक्षा चल्ने भएकाले त्यहाँ सयौँ बालबालिका अध्यनरत थिए । मैले तुरुन्तै प्रधानाध्यापक राजेन्द्र दवाडीलाई फोन लगाएँ, सम्पर्क हुनै सकेन । लगत्तै विदुर– १ का अध्यक्ष लेनिन रञ्जितलाई फोन गरेँ, ‘वडाध्यक्षज्यू यसपालि सामान्य अवस्था छैन । बाढी धुन्चे कटिसक्यो, ३०–४० फिट माथिबाट उर्लिएर आएको छ भन्छन् । समय छैन, तुरुन्तै स्कुल र बजार खाली गराउनुस् ।’ त्यसपछि मैले त्रिशूली पुलकै छेउमा घर भएका नमस्ते पासाङल्हामु बस व्यवसायी समितिका अध्यक्ष कुलबहादुर खड्गीलाई फोन गरेर बजारतिर यो खबर गरिदिन आग्रह गर्दै उहाँलाई पनि सुरक्षित स्थानमा जानका लागि भनेँ । मैले फोन संवाद सकाएको लगभग आधा घण्टा पनि भएको थिएन, बेत्रावतीबाट अर्का साथीको फोन आयो, ‘दाइ, बेत्रावती र तुप्चे सोले त बाढीले लगिसक्यो, तपाईंहरू पनि भाग्नुस्, अरूलाई पनि भन्दिनुस् ।’ बाढीको गति एकदमै तीव्र थियो । बेत्रावतीबाट त्रिशूलीबजार आइपुग्न १५ मिनेट पनि लागेन होला । हाम्रै आँखैअगाडि त्रिशूलीका दुईवटा पुल, पावरहाउस, त्रिशूली स्कुल, कलेज, राममन्दिर, मस्जिद, बसपार्क र सिङ्गो त्रिशूलीबजार बगरमा परिणत भयो । ९ बजे खबर पाएको, १० नबज्दै सबै दृश्य बदलिसकेको थियो । मानिस छतछतमा उक्लिएर बचाउन हारगुहार मागिरहेका थिए । बिजुलीका पोल ढले, टेलिफोन नेटवर्क काटियो, सदरमुकाम अन्धकार र कोलाहलमय बन्यो । बाढी आएको दुई घण्टापछि नदीको बहाब घटेर तटीय क्षेत्र पूरै बगर बनिसकेको थियो । जिल्लाका सुरक्षा निकायले दिएको जानकारीअनुसार दिउँसो १ बजेतिर काठमाडौँबाट सेना र निजी कम्पनीका हेलिकोप्टर आइपुगेपछि छतमा अड्किएका मानिसको उद्धार सुरु भयो । पहिलो दिन त्रिशूलीबजारका घरका छतमा बसेका, विदुर– ७ तुप्चेको छतमा रहेका र रसुवाका माथिल्लो भेगमा अड्किएका झन्डै एक सय जनाजतिको जीवितै उद्धार भएको थियो ।
दोस्रो दिनको भयावह दृश्य र रुवाबासी
बाढीको दोस्रो दिन बिहीबार बिहान साढे ६ बजे मेरा सहकर्मी पत्रकार दीपक कोइरालासहित नीलकण्ठ नगरपालिका धादिङका मेयर तथा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पर्यटन व्यवसायी रमेशप्रसाद धमलासहित धादिङका साथीहरू विदुरको मेरो घरमा आइपुग्नुभयो । मेयर ढुङ्गानाकी बहिनीसहित धादिङबाट बुधबार बिहान गोसाईँकुण्ड तीर्थ हिँडेका ३० जनाको टोली वेत्रावतीमा खाना खान बसेका वेला बाढीले बगाएर बेपत्ता बनाएको रहेछ । उहाँहरू सो टोलीको अवस्था बुझ्नका लागि आउनुभएको रहेछ । बाढीले विदुरदेखि वेत्रावतीसम्मको सडक बगाएर ध्वस्त भएकाले विदुरबाट ढुङ्गेसम्म जान सक्ने अवस्था थिएन । उहाँहरू जसरी पनि वेत्रावती पुग्नैपर्ने भएकाले सहयोग माग्नुभयो । उहाँहरूको आग्रह नकार्न सकिनँ । मैले गाउँको कच्ची वैकल्पिक बाटो सम्झेँ, नुवाकोट दरबार, सूर्यगढी, चोगदे, बोहोरेभन्ज्याङ, कुवापानी, महभिर हुँदै वेत्रावती पु¥याउन सकिन्छ कि भनेर विदुरबाट त्यसतर्पm लाग्यौँ । उक्त क्षेत्र पुग्ने बाटो एक त बर्खाको समय, अर्को पूरै कच्ची र साँघुरो सडक भएकाले अप्ठ्यारोे सहँदै अघि बढ्यौँ । नुवाकोट पुगेपछि सडकमा बाढीको कारण गेर्खुटारमा पार्किङ गरिएका टिमुरे सामान बोक्न जाने अधिकांश डिब्बा र अन्य सवारीसाधन गेर्खुटार उक्लेर गेर्खु हुँदै चोगदेबाट रातभरि नै नुवाकोट आइरहेका रहेछन् । राति नुवाकोटमा १२ चक्के डिब्बा सडकमा फसेर सडक अवरोध भएको रहेछ । एक घण्टा लगाएर बिहान ९ बजेतिर सडक खुल्यो, हामी त्यहाँबाट चोगदे हुँदै बाढी प्रभावित क्षेत्र वेत्रावती जाँदै गर्दा चोगदेमा स्थानीय समाजसेवी अणबहादुर प्याकुरेललाई भेट्यौँ । उहाँले वेत्रावती जानका लागि बाटो देखाउँदै बिदा गर्नुभयो । हामी बोहोरेभन्ज्याङ हुँदै कुवापानीको ओरालो झर्दै दायाँबायाँ गर्दै कच्ची बाटोबाट सोध्दै महभिर हुँदै प्रभावित क्षेत्र वेत्रावती पुग्यौँ । त्यहाँ पुग्ने हाम्रो टोली पहिलो भएको स्थानीयले बताउनुभयो । सो बाटैभरि वेत्रावतीबाट भागेर बचेका बुढाबुढी, युवा, बालबालिका सूर्यगढीतिर उक्लिरहेको भिड थियो । वेत्रावती पुग्दाको दृश्य वर्णन गरिसाध्य थिएन । त्रिशूलीमा मिसिने फलाखु खोलाको दुईवटा पुल एक किलोमिटर माथिसम्म लछारिएर बगेको थियो । हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिएको ठुलो फाँट र बस्ती पूरै बगरमा परिणत थियो । वेत्रावतीको अन्नभण्डारको रूपमा चर्चित हरियाली फाँट, बजार, दुवै पुल र तुप्चे जाने झोलुंगे पुल पूर्ण रूपमा नामनिसानै नरहने गरी बगेको देखियो । फलाखु खोला नै फर्काएर वेत्रावती बजार पूरै बगरमा परिणत गराएको त्रिशूलीको बाढीले वेत्रावतीपारिको विदुर– ७ स्थित सलाखु खोलाको पुल, सोले बजार, चापाबोटको फाँट सत्ताइसे फाँट, तुप्चेको अक्करेबजार, विदुर– १० भैँसेबजार जोड्ने पुल, त्रिशूली जलविद्युत् केन्द्रको हेडगेट, भैँसेबजारको अस्तित्व नै मेटिएको दृश्य डाँडाबाट देखिन्थ्यो । वेत्रावतीको पुरानो सडकछेउमा जोगिएका दुई–तीनवटा घरका दुईतला पुरिएकोबाहेक सडक तल्लोपट्टिको कुनै घर बाँकी थिएन । बजारको सबैभन्दा ठुलो घडी भएको घर आधा पुरिएर ठिङ्ग उभिएको थियो । सँगैको छतमा दुईवटा शव रहेको स्थानीयले बताएपछि धादिङबाट आएका साथीहरूले त्यहाँ जान खोजेपछि दलदल रहेको बाटोमा एक दर्जन पुरानाजस्ता ओछ्याउँदै छतमा पुग्यौँ । गाउँलेले रोक्दै भन्नुभयो, ‘दाइ यी दुईजना हिजो बेलुकासम्म बचाऊ–बचाऊ भनेर कराइरहेका थिए, राति बितेछन् ।’ त्यो सुन्दा मुटु फुटेर आयो । नीलकण्ठका मेयर साहेबले आफ्ना मान्छे हुन् कि भनेर जोखिम मोलेरै हिलो र लेदोमा टेकेर शव हेर्नुभयो । मृतक मङ्गोलियन समुदायका अनुहारका थिए । त्यहाँ आफन्तको पत्तो लगाउन सकिएन । स्थानीयले खाना खान बस रोकेको घर यही थियो । बस बगेको, घर ढलेको देखेको बताएपछि निराश हुँदै हामी फक्र्यौँ । फर्किने क्रममा अलपत्र परेका स्थानीयले हाम्रो गाडी रोकेर रुँदै भन्नुभयो, ‘दाइ हाम्रा बिरामी र बालबच्चा छन्, औषधि बगायो । हामीलाई जसरी भए पनि उद्धार गरिदिनुस् ।’ आफ्नै गाउँठाउँ बगेको दृश्य र नागरिकको त्यो क्रन्दन देख्दा मैले आफूलाई रोक्नै सकिनँ, उहाँहरूसँगै रोएँ ।
गाडीमा सातजनाको सिटमा एकजना बिरामी बच्चा र उहाँहरूका आमालाई राखेर सूर्यगढी गाउँपालिकाको हेल्थपोस्टमा बुझायौँ । दीपु डङ्गोल, शिवशंकर डङ्गोलको परिवारसहित बाँकीलाई गाडी पठाइदिने आश्वासन दिएर हामी विदुर फक्र्यौँ । लगत्तै विदुर आएर त्यहाँको वस्तुस्थितिबारे प्रमुख जिल्ला अधिकारीसहितको टिमलाई मैथली ब्यारेकमा पुगेर अवगत गराएपछि सशस्त्र प्रहरीको टोलीले सवारीसाधन लगेर उहाँहरूको उद्धार ग¥यो । बाढीले मेरो आफ्नो जन्मघर रहेको विदुर–७ तुप्चे (खोलापारि) का खेत र जग्गा, जमिन सबै बगाएको छ । उक्त स्थानमा रहेको मेरो भाइ कुमारको पसल र अक्करे बजार पूरै प्रभावित छ । म हाल बस्दै आएको क्षेत्र विदुर– १ अलि माथिल्लो उचाइमा भएकाले घर र पसल सुरक्षित रहे पनि मेरो जन्मथलो सखाप भयो । बाढीले गर्दा त्रिशूलीवारि र पारिको सम्बन्ध टुटेको छ । विदुर नगरपालिकाको वारि र त्रिशूलीपारि जोड्ने तीनवटा तुइन मंगलबारदेखि सञ्चालनमा आएका छन् । बाढी प्रभावितको खोज, उद्धारसहित राहत वितरण काम तीव्र गतिमा भइरहेको छ । अहिले प्रभावितको लगत सङ्कलनको काम र सडक अवरोध हटाएर सडक सञ्चालन, बस्ती सफा गर्ने र बस्तीका सामान खोज्न सरकार, स्थानीय निकाय र स्थानीयवासी लागिरहेका छन् ।
सुरुका दुई–तीन दिन सरकारी निकाय निकै अलमलिए । कुन ठाउँबाट कसरी काम सुरु गर्ने भन्ने योजना नै बन्न सकेन । यद्यपि, पछि अन्तर्राष्ट्रिय र राष्ट्रिय दबाब बढेपछि उद्धार कार्यले तीव्र गति लियो । नुवाकोट र रसुवामा गरी आठ–नौवटा हेलिकोप्टर उद्धारमा खटिए । जलविद्युत् आयोजनाका सुरुङमा फसेका मजदुर, मानसरोवर जाने भारतीय तीर्थयात्री र स्थानीय हराइरहेका मानिसको उद्धार भइरहेको छ । उद्धार गरिएकामा नेपालीपछि ठुलो सङ्ख्या भारतीय नागरिकको छ किनकि हाइड्रोपावरका ठेकेदार, कामदार र मानसरोवर जाने तीर्थयात्री भारतीय नै बढी थिए । राहतको काम पनि ढिलै गरी भए पनि अहिले कहीँ पनि खानै नपाउने अवस्था छैन । सुरुमा चाउचाउ, चिउरा र पानीबाहेक केही थिएन । पछि पकाउने खानेकुरा, त्रिपाल र ओढ्ने–ओछ्याउने सामग्री पुगिसकेको छ । तर, सङ्कटका वेला यहाँ देखापरेको मुख्य कमजोरी भनेको अनावश्यक ‘भिआइपी’को भिड र समन्वय अभाव हो । विपत्का वेला ठुला नेता र प्रशासकले काठमाडौँ वा माथिबाटै कमान्ड र निर्देशन दिनुपर्नेमा फिल्डमै उहाँहरूको लाम लाग्यो । प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, युट्युबर र मिडियाको घुइँचो लाग्यो । उहाँहरूसँगै रमिते हेर्नेको भिडले पनि उद्धार कार्यमा अवरोध भइरहेको छ ।
सुरुमा स्थानीय प्रशासक र सुरक्षाकर्मी उद्धार र राहत छाडेर भिआइपीलाई ब्रिफिङ गर्न र डुलाउनमै व्यस्त हुनुपरे पनि त्यो अवस्था सोमबारदेखि हटेको छ । यसपटक विपत्मा सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण रह्यो । रसुवाका टिमुरेदेखि धुन्चे, स्याफ्रुबेँसी, वेत्रावती बाढीको भिडिओ र सूचना भाइरल भएपछि त्रिशूली, देवीघाट र गल्छीसम्मका मानिस समयमै सतर्क हुन पाए । तर, यसको नकारात्मक पक्ष पनि देखियो । मानिसले संवेदनशील दृश्य, शवका फोटो सिधै पोस्ट गरिदिए । पीडितसँग अतिरञ्जित तरिकाले ‘कसरी बग्नुभयो, कसरी जोगिनुभयो’ भन्दै अन्तर्वार्ता लिएर उहाँहरूको घाउमा नुनचुक छर्किने काम भयो । १६–१८ घण्टा छतमा बसेर ज्यान जोगाएका मानिसको मानसिक आघातलाई नबुझी अनावश्यक प्रश्न सोध्ने र भ्युज कमाउने धन्दाले पीडितलाई थप पीडा दियो । साथै, आधा घण्टाअघि नै सूचना पाउँदापाउँदै पनि कतिपय मानिसले पोहोर पनि यस्तै भनेका थिए भन्दै लापरबाही गरे । बाढी आउँदाआउँदै पुलमा बसेर भिडिओ खिच्ने र हेलचेक्य्राइँ गर्ने प्रवृत्तिले गर्दा पनि यसपालि धेरै मानिस बेपत्ता भएका छन् । त्रिशूलीकिनारका बस्ती फेरि उठ्न समय लाग्ने छ । तर, यस विपत्ले हामीलाई चार मुख्य पाठ सिकाएको छ– विपत्को पूर्वसूचनालाई कहिल्यै हल्का रूपमा नलिनू । सङ्कटका वेला भिआइपी संस्कृतिभन्दा ‘कमान्ड सिस्टम’ लागू गर्नू, मिडिया वा प्रविधिको प्रयोग गर्दा मानवीय संवेदनाको सधैँ ख्याल गर्नू र प्रभावित क्षेत्रमा सुरक्षालाई विशेष ध्यान पु¥याउनुपर्ने आवश्यकता देखिएको छ ।






प्रतिक्रिया