विदुर । नेपाली सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको संयुक्त प्रयासबाट भोटेकोशी (त्रिशूली) बाढीको कारण पहिरोमा परी हराइरहेकी विदुर–१० बेत्रावतीकी चण्डिका श्रेष्ठसहित शनिबार चार जनाको जीवितै उद्धार भएको छ । तीनवटा सुरक्षा निकायले एक चिनियाँसहित तीन जना नेपालीलाई जीवितै उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणले जानकारी दिएको छ । उद्धार गरिएकामा चण्डिकासहित सञ्जय साह, कविर महर्जन र एक चिनियाँ नागरिक रहेका छन् ।


बाढी आएको ११औँ दिन उद्धार गरिएका चिनियाँसहित तीन जना नेपालीलाई नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रको ब्यारेकमा ल्याइएको थियो । त्यहाँबाट उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत सेनाको छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा ल्याइएको सेनाका प्रवक्ता एवं सहायकरथी राजाराम बस्नेतले जानकारी दिनुभयो । उद्धारपछि उहाँहरूको छाउनीस्थित अस्पतालमा उपचारको लागि राखिएको छ । बेत्रावतीबाट ६४ वर्षीया श्रेष्ठलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिउँसो करिब ३ बजेतिर जिवितै उद्धार गरेको थियो ।

बेत्रावती बजारमा रहेको घरमा श्रेष्ठलाई उद्धार टोलीले फेला पारेको हो । उद्धार टोलीले श्रेष्ठको घरको हिलो सफा गर्ने क्रममा उहाँले आवाज दिएसँगै उद्धार गरिएको प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘‘उद्धार टोलीले हिलो पन्छाउने क्रममा घर नजिकबाट आवाज आयो । बचाऊ–बचाऊ भन्ने आवाज आएसँगै उद्धार टोलीले घरको कोठमा पहिरोले थुनिएर रहेकी श्रेष्ठलाई उद्धार गरिएको हो’’, उहाँले भन्नुभयो, ‘‘त्यसपछि उद्धार टोलीले फुटेको झ्यालबाट भित्र काठोमा पसेर श्रेष्ठलाई बाहिर ल्याएको हो ।’’ श्रेष्ठको घुँडामा गहिरो चोट लागेको तथा उक्त घाउमा इन्फेक्सन समेत भएकोले त्यसको उपचार भइरहेको बताइएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकले भने परिवारलाई नआत्तिन र स्वास्थ्यमा सुधार आउने बताएका छन् । श्रेष्ठको बेत्रावतीमा रहेको चारतले घर १० गतेको बाढीले भत्काएको थियो । बाढीले उहाँसँगै श्रीमान आनन्दलाल श्रेष्ठलाई बगाएकोमा आनन्दलालको अहिलेसम्म खोजी कार्य भइरहेपनि यथार्थ अवस्था थाहा हुन सकेको छैन । सेनालगायतका सयुंक्त उद्धार टोलीले शुक्रबार ‘त्रिशूली थ्री ‘ए’ मा कार्यरत कबिर महर्जन र सञ्जय साहलाई जीवितै उद्धार गरेको थियोे । बालकुमारी–३, काठमाडौँ स्थायी घर भएका ४५ वर्षका महर्जन ‘त्रिशूली थ्री ‘ए’ मा कार्यरत मेकानिकल सुपरभाइजर र सप्तरी जिल्ला, कोईलाडी–८ स्थायी घर भएका साह मेकानिकल फोरम्यान रहेका छन् ।






प्रतिक्रिया