+
Search

ताजा अपडेट +

पपुलर +

पठनपाठन अन्योल, विद्यालय सुरक्षित स्थानमा पुनर्निर्माण गर्न आवश्यक

पठनपाठन अन्योल, विद्यालय सुरक्षित स्थानमा पुनर्निर्माण गर्न आवश्यक
विशान्त अग्रवाल, पत्रकार टाइम्स अफ इन्डिया
४५ मिनेट अगाडी

त्रिशूलीबजार । बाढी आएको दिन केही मिनेटकै अन्तरमा तीनवटा चेतावनी आएका थिए । एकजना लेखापाल दौडिँदै आएर पानी तीव्र गतिमा पसिरहेको बताउनुभयो । एक शिक्षकले माथिल्लो क्षेत्रमा रहेका व्यक्तिबाट फोनमार्फत उक्त क्षेत्र नै बगाइसकेको खबर सुनाउनुभयो । त्यहीवेला एक अभिभावक स्कुटरमा आफ्नी छोरीलाई लिन विद्यालय आइपुग्नुभयो । प्रधानाध्यापक राजेन्द्र दवाडीले तत्काल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका करिब नौ सय विद्यार्थीलाई विद्यालयबाट बाहिर निकाल्न निर्देशन दिनुभयो । विद्यार्थी सुरक्षित रूपमा बाहिर निस्कन सफल भए, त्यसको केही समयमै त्रिशूली नदीले ७६ वर्ष पुरानो विद्यालयपरिसर नै बगाइदियो । अब प्रधानाध्यापक दवाडी, शिक्षक र विद्यार्थी एउटा कुरामा सहमत छन्– कक्षा सकेसम्म छिटो सञ्चालन गर्नुपर्छ, तर विद्यालयलाई फेरि नदीको किनारमा कहिल्यै बनाउनुहुँदैन । विद्यालय अग्लो र सुरक्षित स्थानमा निर्माण गर्नुपर्छ । ‘बालबालिका मात्र होइन, हाम्रा केही शिक्षक र कर्मचारी पनि नदीसँग डराएका छन् । यो नदी अहिले घुमाउरो बाटोमा हिँडिरहेको भुतजस्तै लाग्छ,’ ४७ वर्षीय प्रधानाध्यापक दवाडीले आइतबार टाइम्स अफ इन्डियालाई बताउनुभयो । उहाँहरूलाई अहिले नदीको नाम सुन्दा पनि डर लाग्छ । सबै विद्यार्थी सुरक्षित, दुई कर्मचारी अझै बेपत्ता, बाढीको चेतावनी आउँदा बालबालिकासहित करिब एक हजार मानिस विद्यालयभित्र थिए । विद्यालयको आवासीय छात्रावासमा ३० जना छात्रा थिए । उहाँहरूले आफ्ना घर टाढा भएकाले अब कहाँ जाने भनेर प्रधानाध्यापक दवाडीलाई सोधिरहनुभएको छ । उहाँहरूलाई आपूmलाई पछ्याउँदै डाँडातिर उक्लिन भनेको भन्नुभयो ।

Utsuk Books & Stationery

दवाडीले एक गैरशिक्षण कर्मचारीलाई विद्यालयको घन्टी बजाउन लगाउनुभयो । त्यसपछि शिक्षकले कक्षाकोठाबाट विद्यार्थीलाई बाहिर निकाल्न थाल्नुभयो । केही विद्यार्थी डरका कारण आतङ्कितसमेत बनेका थिए । उहाँहरूलाई शिक्षक, कर्मचारीले सहयोग गरेर भगाउनुभयो । त्यो समय एक छात्रालाई विद्यालयको स्वास्थ्य कक्षमा नर्सले परीक्षण गरिरहेकी थिइन् । विद्यालयभित्र रहेका सबै विद्यार्थी जीवित र सुरक्षित रूपमा बाहिर निस्कन सफल भयौँ । तर, दुईजना कर्मचारी अझै बेपत्ता रहेको प्रधानाध्यापक दवाडीले बताउनुभयो । गैरशिक्षण कर्मचारी छुलरिम लामा उद्धारका क्रममा दवाडीको पछाडि हुनुहुन्थ्यो । उहाँ विद्यालयतर्फ फर्किएको हुन सक्ने र सम्भवतः कुनै ढोका बन्द गर्न गएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी निम्नमाध्यमिक तहका शिक्षक सन्तोष परियार शिक्षक आवासमा रहेको आफ्नो कोठामा भएको अनुमान गरिएको छ ।

७६ वर्ष पुरानो विद्यालय ध्वस्त
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोट जिल्लामध्ये सबैभन्दा पुरानो विद्यालय हो । विद्यालयमा कुल एक हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत थिए । बाढीले विद्यालयको लगभग सम्पूर्ण सम्पत्ति नष्ट गरिदिएको छ । त्यसमा १८ कोठा भएको तीनतले भवनसमेत थियो । उक्त भवन वि.सं. २०७२ को भूकम्पपछि भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो । विद्यालयको सम्पत्तिमध्ये अहिले दुईवटा बस मात्र बाँकी छन् । तीमध्ये एउटा बस पनि भारतीय दूतावासले उपलब्ध गराएको थियो । प्रधानाध्यापक दवाडीले भन्नुभयो, ‘बाढीले सबै कुरा बगाइदियो । यसअघि पनि विभिन्न विपत्तिका समयमा भारत सरकारले सहयोग गरिरहेको थियो । यसपटक पनि भारतीय सरकारले हाम्रो विद्यालय पुनस्र्थापना गर्न सहयोग गर्नेछ भन्ने हामी आशावादी छौँ ।’ दवाडीका अनुसार विद्यालयसँग भारतको सम्बन्ध वि.सं. २०७२ को भूकम्पभन्दा पनि अघिदेखिको हो । १८ कोठे भवन निर्माणको प्रस्ताव भूकम्प आउनुअघि नै स्वीकृत भइसकेको थियो । पछि भारतीय दूतावासको सहयोगमा तीनतले भवन निर्माण गरिएको थियो ।

विद्यार्थीले सुनाए बाढीको त्रासदी
विद्यार्थीले आफ्नो विद्यालय आँखैअगाडि हराएको क्षणलाई अत्यन्तै डरलाग्दो रूपमा सम्झिएका छन् । कक्षा १० की विद्यार्थी सुनिता तामाङले टाइम्स अफ इन्डियालाई भन्नुभयो, ‘हामी बिहानको प्रार्थनासभा (मर्निङ एसेम्बली)का लागि तयारी गर्दै थियौँ । त्यही वेला शिक्षकले डाँडातिर दौडिन भन्दै चिच्याउन थाल्नुभयो । मैले आफ्नो झोला र किताब कक्षामै छोडेँ । डाँडाको माथिबाट तल हेर्दा नदीले हाम्रो खेलमैदान नै बगाइरहेको देख्नु निकै डरलाग्दो क्षण थियो । तर, मेरा सबै साथी सुरक्षित भएकोमा म खुसी छु ।’ कक्षा १२ का विद्यार्थी रोहन श्रेष्ठले भन्नुभयो, ‘बाढीलाई देख्नुअघि नै त्यसको आवाज सुनेका थियौँ, हामीले हिलो आएको देख्नुअघि नै नदीको गर्जन निकै गहिरो बादल गर्जिएजस्तो सुनिएको थियो । शिक्षकले निकै छिटो सबैलाई छात्रावासबाट बाहिर निकालेर अग्लो स्थानमा पु¥याउनुभयो । अहिले विद्यालय पूरै हिलोले पुरिएको छ । हामीलाई कहिले फेरि कक्षामा फर्कन सक्छौँ भन्ने थाहा छैन । तर, अस्थायी शिविरमा हामी एक–अर्काको हेरचाह गरिरहेका छौँ ।’

शिक्षा मात्र होइन, सामान्य जीवनमा फर्कन पनि कक्षा सञ्चालन आवश्यक रहेको प्रधानाध्यापक दवाडीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘विद्यालय छिटो सञ्चालन गर्नु शिक्षाका लागि मात्र होइन, विद्यार्थीलाई विपत्तिपछिको सामान्य जीवनमा फर्काउन पनि आवश्यक छ । आघातपछि बालबालिकाले फेरि आफ्ना साथी र शिक्षकलाई भेट्न पाउनु आवश्यक छ । उहाँहरूलाई केही हदसम्म नियमित दिनचर्यामा फर्काउनु पनि महत्त्वपूर्ण छ ।’ अस्थायी विद्यालय सञ्चालनका लागि निजी घरको ठुलो कोठा, भाडामा लिइएको भवन, बेंक्वेट हल वा सरकारी भवन प्रयोग गर्न सकिने शिक्षकको धारणा छ । नगरपालिकाले पनि अस्थायी सिकाइ केन्द्र स्थापना गर्न सहयोग गर्न सक्ने उहाँहरूको अपेक्षा छ । ‘विद्यालय अग्लो र सुरक्षित ठाउँमै हुनुपर्ने प्रधानाध्यापक दवाडीको एउटा कुरामा भने कुनै सम्झौता हुँदैन, विद्यालय अग्लो र सुरक्षित स्थानमा हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुरक्षित क्षेत्रमा हामी अस्थायी विद्यालय वा अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्नेछौँ । सम्भव भए भाडाका घर लिएर बालबालिकाको पढाइ कसरी निरन्तरता दिने भन्नेबारे सोच्नेछौँ ।’ तर, अहिलेको सबैभन्दा ठुलो समस्या भनेको आवागमन र सम्पर्क (कनेक्टिभिटी) हो ।

दवाडीका अनुसार विद्यालयका करिब ६५–७० प्रतिशत विद्यार्थी त्रिशूली नदीको एकतर्फ र ३०–३५ प्रतिशत विद्यार्थी अर्कोतर्फ बस्छन् । केही विद्यार्थी विद्यालयका बसमा निर्भर थिए भने केही विद्यालयआसपास भाडाको कोठामा बस्दै आएका थिए । केही विद्यार्थी विद्यालयकै छात्रावासमा पनि बस्ने गरेका थिए । नदीमाथिका आवागमनका संरचना बाढीले नष्ट गरेपछि बुधबारसम्म एउटै विद्यालयमा सँगै पढिरहेका बालबालिका अहिले त्रिशूली नदीका कारण एक–अर्काबाट छुट्टिएका छन् । प्रधानाध्यापक दवाडीले भन्नुभयो, ‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा आवागमनको सुविधा हो । यदि यहाँ बेलिब्रिज (अस्थायी फलामे पुल) निर्माण गर्न सकियो भने हामी निकै चाँडै विद्यालय पुनः सञ्चालन गर्न सक्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

विशान्त अग्रवाल, पत्रकार टाइम्स अफ इन्डिया