+
Search

ताजा अपडेट +

पपुलर +

स्याफुबेँसी–रसुवागढी सडक स्तरोन्नति तीव्र

लारानि क्षेत्रमा रूख कटान ढिलाइ

स्याफुबेँसी–रसुवागढी सडक स्तरोन्नति तीव्र
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

धुन्चे । नेपाल र चीनबिचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति कार्य तीव्र रूपमा अगाडि बढेको छ ।

Utsuk Books & Stationery

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माण कार्य अगाडि बढाइएको छ । नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो परियोजना नेपाल-चीन सहकार्यको अर्को महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ । आयोजनाका अनुगमनकर्ता इन्जिनियर कुमार पराजुलीका अनुसार पहिलो चरणमा कार्यक्षेत्रका विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माणको काम द्रुतगतिमा भइरहेको छ । दर्जनौँ स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरू भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङ कार्यमा केही ढिलाइ भइरहेको उहाँले बताउनुभयो । गत पुस महिनादेखि सुरू भएको स्तरोन्नति कार्य हालसम्म करिब सात प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा खोलामाथि राजमार्गनजिकै कामदार तथा प्राविधिकको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमै जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण कार्य सञ्चालन भइरहेको छ ।

नेपाल सरकारले निर्माण कार्यलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरेपछि कामले गति लिएको छ । तर, सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रुखको स्वीकृति समयमै प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको आयोजनाले जनाएको छ । करिब १६ किलोमिटर लम्बाइ रहेको यो खण्डको स्तरोन्नति कार्य सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ । सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीनबिचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसैबिच टिमुरे क्षेत्रमा विसं २०६५ मै अधिग्रहण गरिएको सडक क्षेत्रभित्र पुनः घरटहरा निर्माण गरिएका कारण त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजनाले जानकारी दिएको छ । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठुलो क्षति पुगेको थियो । विशेषगरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भिर तथा टिमुरे गाउँमुनिको पाखोलगायतका क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको हो ।

नेपाल र चीनबिचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवद्र्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुनेसमेत उहाँले अपेक्षा गर्नुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने