+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रेगौँडा सिँचाइ पुनः सञ्चालनपछि कृषकमा उत्साह

बेत्रेगौँडा सिँचाइ पुनः सञ्चालनपछि कृषकमा उत्साह
त्रिशूली प्रवाह
३ महिना अगाडी

धुन्चे । गत वर्ष असार २४ गते चिनियाँ भू-भाग ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको रसुवा जिल्ला, उत्तरगया गाउँपालिकाको बेत्रेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणालीमार्फत पुनः सञ्चालनमा आएपछि पालिकाका किसान लाभान्वित भएका छन् । गाउँपालिकामा लिफ्ट प्रणालीमार्फत सिँचाइ सुविधा विस्तार भएपछि कृषक उत्साहित भएको डिभिजन सिँचाइ कार्यालय रसुवाका प्रमुख सुभाष बानियाँले बताउनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सिँचाइ कार्यालयका प्रमुख बानियाँका अनुसार जिल्लाका चार हजार सात सय ३८.४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिए तापनि अहिलेसम्म तीन हजार सात सय ३१ हेक्टरमा मात्रै सिँचाइ पुगेको छ भने तीन हजार कृषकले सिँचाइ सुविधा उपभोग गरिरहेका छन् । उत्तरगया-५ स्थित त्रिशूली नदी, मुहान गरी खनिएको बेत्रेगौँडा, पैहिरेबेँसी, कैदलटार सिँचाइ आयोजना गत वर्षको बाढीका कारण अवरुद्ध भएपछि निर्माणाधीन ३७.३ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाले पानी तान्ने उपकरण उपलब्ध गराएको थियो । बाढीले करिब तीन सयभन्दा बढी भू-भाग क्षति पुर्याएको विवरण डिभिजन सिँचाइ कार्यालयले सङ्कलन गरी सार्वजनिक गरेको थियो । लामो समयसम्म अवरुद्घ सिँचाइ पुनः सञ्चालनमा आएपछि स्थानीय कृषक श्यामबहादुर गुरुङले आयोजनाले विगतदेखि स्थानीय कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराई खाद्यान्नमा आत्मनिर्भर बनाएको स्मरण गर्नुभयो । उत्तरगया-४ का अध्यक्ष अम्मरबहादुर बुलुनका अनुसार जलविद्युत् आयोजनाले उपलब्ध गराएको उपकरणको सहायताले हजारौँ रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । नेपालमा आधुनिक सिँचाइ प्रणालीको विकास विसं २०३० को दशकदेखि विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय सहयोगमा ग्रामीण विकास परियोजनामार्फत सुरु भएको हो । सिँचाइको भरपर्दो व्यवस्थाले उत्पादन वृद्धि हुनुका साथै किसानमा उत्साह थपिएसँगै हिउँदमा मकै, गहुँ, तोरी तथा धान खेती गर्न सहज भएको वडाध्यक्ष बुलुनले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह