+
Search

ताजा अपडेट +

पपुलर +

चार दशकपछि विदुरले पहिलोपटक ११ कर्मचारी पुरस्कृत

चार दशकपछि विदुरले पहिलोपटक ११ कर्मचारी पुरस्कृत
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

त्रिशूली । विदुर नगरपालिका स्थापना भएको ४० वर्षपछि कर्मचारी पुरस्कृत गर्ने आधार तय गरी पहिलोपटक पुरस्कृत गरिएको छ । नगरपालिकामा चार दशकपछि पुरस्कृत र सम्मान गर्ने आधार तयार भएको छ । गत बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभाबाट कर्मचारी पुरस्कृत गर्ने कार्यको थालनी भएको हो ।

Utsuk Books & Stationery

विगतका जनप्रतिनिधिले कर्मचारीलाई पुरस्कृत र सम्मान गर्ने कुरा गरेको काम नगरेको कारण चार दशकदेखि कर्मचारीको जोस-जाँगर हौसला बढ्न नसक्दा कार्यसम्पादन गुणस्तरमा ह्रास आइरहेको थियो । मापदण्ड बनाएर छनोट गरिएका ११ कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृतदेखि कार्यालय सहयोगीसम्म रहेका छन् । छनोटमा परेका कर्मचारीलाई नगरपालिकाले पहिलोपटक नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेको उपप्रमुख प्रभा बोगटीले बताउनुभयो । पुरस्कृत तथा सम्मानित हुनेमा प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, वडा नं. १२ की सचिव सुशीला प्याकुरेल अर्याल, पन्जीकरण शाखा प्रमुख रमिता खड्का, राजस्व शाखा प्रमुख रणबहादुर थापामगर, योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेल, शिक्षा शाखा प्रमुख नवराज सापकोटा, लेखा शाखा प्रमुख प्रकाशबहादुर बोगटीसहित सोही शाखाका बद्रीकुमार रिजाल, दामोदर नेपाल, प्रशासन शाखा प्रमुख रामहरि खनाल (केही दिनअघि निवृत्त), प्राविधिक शाखा प्रमुख उत्तम शाह रहनुभएको छ ।

नुवाकोटको तत्कालीन त्रिशूली गाउँ पञ्चायतको सम्पूर्ण भाग, भैरवी गाउँ पञ्चायतको धेरैजसो भाग, विदुर गाउँ पञ्चायतको सम्पूर्ण र तुप्चे गाउँ पञ्चायतको केही भाग मिलाएर विसं २०४३ फागुन ५ गते विदुर नगर पञ्चायत स्थापना भएको थियो । त्यतिवेला ११ वडा बनाइएको थियो । नगर पञ्चायतदेखि नगरपालिकासम्मको यो चार दशकमा ४२ जनाले नगरको प्रशासनिक प्रमुख भएर जिम्मेवारी पूरा गरिसक्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीबिच समन्वय नहुँदा चार दशकमा पनि नगरपालिकाले नगरवासीलाई नगरवासी भएको महसुस दिलाउन सकिरहेको छैन । विसं २०८१ भदौ ३१ देखि हालसम्म नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गरिरहनुभएका पौडेलले १७ बुँदामा सुधारका प्रयासले आव २०८१/०८२ को असुल गर्नुपर्ने बेरुजु शून्य रहेको, विगत आवको करिब रु. पाँच करोड २० लाख बेरुजु घटेको छ । उहाँले हाटबजारको अवधारणा ल्याई वडा नं.९ र ४ मा सञ्चालन भइरहेको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण गरी प्रतिवेदन तयार गरेको, जग्गाको कित्तागत विवरण तयार गरेको, दोस्रो पञ्चवर्षीय आवधिक योजना निर्माण गरेको, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुख कर्मचारी र वडासचिवसँग कार्यसम्पादन सम्झौता सेवा प्रवाहलाई सुरुवात गराउनुभएको थियो । वडासचिव र शाखा प्रमुख कर्मचारीबिच मासिक बैठक गर्ने अभ्यास सुरुवात गर्नुभएको थियो । उहाँको नेतृत्वमा झन्डै दुई वर्षको अवधिमा नगर विकास कोषबाट लिएको ऋण सबै भुक्तानी गरी ऋण मुक्ता बनाएको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट आव २०८२/०८३ मा सार्वजनिक भएको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा नुवाकोटका १२ मध्ये विदुर पहिलो भएको, राजस्व असुलीमा विगत वर्षको तुलनामा चालू आवको रु.३० लाख थप असुल गर्न सफल भएकोलगायतका सुधारका प्रयास गर्नुभएकोले उहाँसहित उहाँमातहतका कर्मचारीलाई मूल्याङ्कन आधार तय गरेर पुरस्कृत र सम्मान गरिएको नगरप्रमुख राजनलाल श्रेष्ठले बताउनुभयो ।स्थापनादेखि कार्यालय सहयोगी पदमा काम गर्दै निवृत्त हुन लाग्नुभएका दामोदर नेपाल नगरपालिकाको पुरस्कार र सम्मानबाट हर्षित हुनुहुन्छ । ‘विगतदेखि नै कर्मचारीलाई पुरस्कृत र सम्मान गर्ने कुरा उठ्ने गरेको सुनेको थिएँ, यसपटक पनि कुरा उठ्यो, कार्यान्वयन भएकोे छ, यसले कर्मचारीमा जिम्मेवारी बहन गर्ने र सेवाग्राहीप्रति सेवक बन्न प्रतिस्पर्धा हुने वातावरण बनेको छ,’ उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह