+
Search

ताजा अपडेट +

पपुलर +

ज्येष्ठ नागरिक अस्पताल बनाउन सरकारबाट रू.एक करोड बजेट विनियोजन

ज्येष्ठ नागरिक अस्पताल बनाउन सरकारबाट रू.एक करोड बजेट विनियोजन
त्रिशूली प्रवाह
५८ मिनेट अगाडी

देवीघाट । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान विदुर-५, देवीघाटमा ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि नेपाल सरकारले रु. एक करोड बजेट विनियोजन गरेको छ ।

Utsuk Books & Stationery

देवीघाटमा प्रतिष्ठानको भवनसँगै रहेको ६ रोपनी जग्गा विसं २०८१ पुस १७ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको संयोजकत्वमा बसेको बैठकले सरकारी जग्गा दर्ता उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७९ बमोजिम जेरियाट्रिक अस्पताल भवन निर्माणका लागि सिफारिस भएको थियो । सो सिफारिसअनुसार अस्पताल भवन निर्माण गर्न नेपाल सरकारबाट आव २०८३/०८४ को बजेटमा पुँजीगत अनुदान रु. एक करोड विनियोजन भएको छ । भवन निर्माणका लागि नुवाकोट जिल्लाका १२ वटै पालिकाले अनुदान दिने निर्णय पालिकासभाबाट भइसकेको जानकारी आएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भवन निर्माणका लागि समाजसेवी र ईश्वरी मनकारी धेरै दाताले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ जेरियाट्रिक अस्पताल गल्छी–केरूङ राजमार्गको मध्यभागमा निर्माण हुने हुँदा आश्रममा रहने प्रौढासहित अन्य क्षेत्र पोखरा, चितवनलगायत पूर्व-पश्चिम सबैतिरबाट उपचार गर्न सहज हुने बताइएको छ ।

विसं २०६७ मा स्थापित प्रतिष्ठानले २०७४ देखि देवीघाटमा निरन्तर असहाय ज्येष्ठ नागरिकको निःशुल्क पौष्टिक आहार, स्वच्छ ताजा दुध, दही, भोजन, आवास र औषधोपचारसहित आश्रम सञ्चालनमा रहेको छ । प्रतिष्ठान गैरराजनीतिक, गैरनाफामूलक, गैरसरकारी र विशेषगरी मानवीय सेवामा समर्पित लोककल्याणकारी संस्था हो । प्रतिष्ठानमा स्थानीय तहको सिफारिसमा हाल ३६ ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ । ६ सेवक कर्मचारीबाट उहाँहरूको सेवा प्रदान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म २६ जना परलोक हुनुभएको र ३५ जनालाई उहाँहरूकै परिवारजनको जिम्मामा पुनस्र्थापनामा पठाइएको छ । ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना भएको १५ वर्ष र सञ्चालनमा आएको नौ वर्ष पूरा भएको छ । प्रतिष्ठान स्थापनादेखि हालसम्म नेपालले नेतृत्व गरिरहनुभएको छ । प्रतिष्ठानको छैटौँ कार्यकालका लागि यही असार २८ गते साधारणसभा एवम् अधिवेशन हुन लागेको छ । आगामी दिनका लागि चयन हुने नेतृत्वले अझै राम्रो सेवा प्रदान गर्ने, अस्पताल भवन निर्माण गरी सञ्चालन गर्न सक्ने सक्षम व्यक्तिलाई चयन गर्नुपर्ने सुझाव विदुर-५, पिपलटारनिवासी ज्येष्ठ नागरिक रामकृष्ण भट्टले दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह