बेत्रावती । उत्तरगया गाउँपालिकामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले विपत् व्यवस्थापन र सडकको विषयमा १५ गुनासो राखेका छन् । पालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय रसुवाले आयोजना गरेको कार्यक्रमका सहभागीले उठाएका गुनासोलाई सहायक प्रजिअलगायत सम्बन्धित निकायले सम्बोधन गर्नुभएको थियो ।


स्थानीय निकायबाट सम्पादन भएका काम-कारबाही, सेवाप्रवाह र विकास निर्माणका योजनाबारे नागरिकस्तरमा भएको खुला छलफलमा सहभागीले गाउँपालिकाको सेवाप्रवाहलाई अझ चुस्त र पारदर्शी बनाउन सुझाव दिएका थिए । जनप्रतिनिधिले जनताका गुनासा र प्रश्नको सम्बोधन गर्दै आगामी दिनमा जनभावनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाएका थिए । नागरिक र स्थानीय सरकारबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र सुशासन प्रवद्र्धन गर्न सार्वजनिक सुनुवाइले महत्त्वपूर्ण भूमिका खेल्ने उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । नागरिक र सरकारी निकायबिच प्रशासनिक उतरदायित्व, पारदर्शिता तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रसुवा उपप्रमुख विजय लामा, गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, जनप्रतिनिधि, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया