विदुर । मेची यातायात प्रा.लि. र नमस्ते पासाङल्हामु यातायात प्रा.लि.को सहकार्यमा त्रिशूली-विराटनगर असार २० देखि बस सञ्चालन भएको छ । बस सञ्चालन भएपछि नुवाकोट र मोरङ जोडिएको छ । त्रिशूली बसपार्कबाट गल्छी, नारायणघाट, हेटौँडा, पथलैया हुँदै विराटनगरसम्म एक हप्तादेखि बस सञ्चालन भएको हो ।


नुवाकोटबाट पूर्व र पूर्वबाट नुवाकोट आवतजावत गर्न बस सञ्चालन भएसँगै यात्रा गर्न सहज भएको त्रिशूलीबजारनिवासी शुभलाल श्रेष्ठले जानकारी दिनुभयो । नमस्ते यातायात प्रा.लि.का अध्यक्ष कुलबहादुर खड्गीले बताएअनुसार दुईवटा सुविधायुक्त ठुलो बस त्रिशूलीबाट विराटनगर सञ्चालन भइरहेको छ । हरेक दिन त्रिशूलीबाट र विराटनगरबाट दिउँसो २ बजे बस छुट्ने जानकारी दिइएको छ । लगभग पाँच सय ६० किलोमिटर दूरी रहेको त्रिशूली-विराटनगरको बसभाडा सुरुको लागि रु.दुई हजार दुई सय कायम गरिएको छ । पासाङल्हामुले यसअघि हेटौँडा-नारायणघाट बिहान ८ बजे बस सञ्चालन गरेको थियो । छिट्टै त्रिशूली र पर्यटकीय नगरी पोखरा बस सञ्चालनको लागि तयारी गरिरहेको जानकारी पासाङल्हामुका अध्यक्ष खड्गीले दिनुभयो ।






प्रतिक्रिया