धादिङबेँसी । रूबीभ्याली-२ र ३ जोड्ने अदा खोलामा बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको दैनिक आवतजावत सहज भएको छ । पुल सञ्चालनमा आएसँगै यातायात, ढुवानी तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको गाउँपालिकाले जनाएको छ ।

धादिङ जिल्लास्थित गाउँपालिकाले आफ्नै ठेक्का प्रक्रियामार्फत निर्माण गरेको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै वर्षौँदेखि खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार साबिक तिप्लिङ र सेर्तुङ गाविस जोड्ने अदा खोलामा निर्माण गरिएको पुलबाट वडा नं १ र २ का स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । धादिङबेँसी-सांकाषु-तिप्लिङ सडकखण्डअन्तर्गत पर्ने उक्त पुलले रूबीभ्याली पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ । पछिल्लो समय गाउँपालिकामा पर्यटकको आगमन बढ्दै गएकाले पुल निर्माणले पर्यटन प्रवद्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अध्यक्ष तामाङको विश्वास छ । भौगोलिक रूपमा दुर्गम भएकाले वर्षौँदेखि यातायातको समस्या भोग्दै आएका स्थानीयवासी पुल सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।
स्थानीयवासी खम्बा घलेले पुल निर्माणसँगै स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो । ‘धेरै वर्षदेखि यस्तो पुलको आवश्यकता महसुस गरेका थियौँ । अहिले पुल बनेपछि खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । सवारीसाधन सञ्चालन, बिरामी ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी सहज भएको छ,’ उहाँले भन्नुभयो ।






प्रतिक्रिया